सप्तरी : सिटीस्क्यान र आइसीयु सेवा शुरु

सप्तरी, ३ फागुन । सप्तरीमा पहिलोपटक सिटीस्क्यान र सघन उपचार कक्ष (आइसीयु) सेवा शुरु हुने भएको छ । रुपनी गाउँपालिकास्थित युनिक अस्पतालले सिटीस्क्यान मेसिन जडानकार्य सम्पन्न गरेको अस्पतालका अध्यक्ष जयप्रकाश ठाकुरले जानकारी दिए । ठाकुरले पाँच भेन्टिलेटरसहितको आइसीयु र पाँच सिसीयुसमेत जडान गरिएको बताए ।

मेसिन नहुँदा सप्तरी जिल्लाका गम्भीर प्रकृतिका बिरामी आइसीयु सेवा र सिटीस्क्यान सेवा लिन विराटनगर र धरानस्थित अस्पतालमा जानुपर्ने बाध्यता थियो । गरीब, असहाय र विपन्नवर्गका बिरामीले अन्यत्र जिल्लाको अस्पताल गई महँगो शुल्कमा सिटीस्क्यान गराउन नसक्दा उनीहरू उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य भएको उनले बताए । आइसीयुको अभावमा ज्यान जोखिममा पर्ने सम्भावना हुने भयले सप्तरीस्थित अस्पतालले बिरामी अन्यत्र जिल्लामा पठाउने गर्ने गरेका छन् ।

छ दशकअघि स्थापना भएको सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा समेत उपलब्ध हुन नसकेको सिटीस्क्यान र आइसीयु÷सीसीयु सेवा सञ्चालन हुने कुराले सप्तरीवासीलाई खुशी तुल्याएको नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए ।

मस्तिष्काघातलगायत मस्तिष्कभित्रका अन्य चोट, नशामा रगत जमेको, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा सिटीस्क्यान मेसिन उपयोगी हुने रेडियोलोजिष्ट डा उज्जवल ठाकुरले जानकारी दिए ।

जिल्लाका बिरामीलाई आवश्यक स्वास्थ्य सेवा लिन बाहिर जिल्ला जानु नपरोस् भनेर सिटीस्क्यान र आइसीयु सेवा उपलब्ध गराउन खोजिएको डा ठाकुरले बताए । सञ्चालक ठाकुरले मुटुरोग, बालरोग, स्त्रीरोग विशेषज्ञ, जनरल सर्जन, जनरल फिजिसियन, अर्थोपेडिक, रेडियोलोजिष्ट, एनेस्थेसिया र छ मेडिकल अधिकृत जुटाइ सेवा विस्तार गर्न लागिएको जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *