पदाधिकारी नियुक्तिको माग गर्दै कर्मचारी युनियनले थाल्यो एक घण्टे धर्ना

काठमाडौँ, १ फागुन ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र त्यस अन्तर्गत सञ्चालित वीर अस्पताल तथा ट्रमा सेन्टरमा रिक्त पदाधिकारी तत्काल नियुक्ती गर्न चिविराप्र कर्मचारी युनियनले सरकारसंग माग गरेको छ ।

उसले न्याम्स र त्यसअन्तरगर्तका कतिपय निकायमा १९० दिन देखि पदाधिकारीविहीन भएको भन्दै आजबाट दैनिक १ घण्टा धर्ना दिने कार्य समेत शुरु गरेको छ ।

युनियनका सचिव दीपक मुडभरीले न्याम्सका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति एवं उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराउन आजबाट अनिश्चित कालिन एक घण्टे धर्ना शुरु गरेको बताए ।

‘हामीले अस्पतालमा आएका विरामीलाई असर नपर्ने गरी दिउसो १ देखि २ बजेसम्म धर्नाको समय तय गरेका छौँ,’ मुडभरीले भने, ‘अब यो कार्य नियुक्ती नहुँदासम्म जारी रहन्छ ।’

त्यसो त रिक्त रहेको न्याम्सको उपकुलपति नियुक्ती गर्न सहकुलपति रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले करीब ४ महिना अघि नै तीन जनाको नाम सिफारिस गरेका छन् ।

प्राडा डीएन साह, प्राडा ढुण्डी पौडेल र प्राडा अजित रायमाझीमध्येबाट एक जनालाई नियुक्त गर्नु भन्दै नाम सिफारिस भएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *