राजिनामा स्वीकृत भईसकेका डाक्टर पनि समायोजनमा ?

काठमाडौँ, १ फागुन । राजिनामा दिएर स्वीकृत भईसकेका एक जना चिकित्सक (११ औँ तह) एक जना चिकित्सक समायोजनको लिष्टमा परेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत प्रमुख कन्सलटेन्ट रेडियोलोजिष्ट डा आनन्दबहादुर श्रेष्ठ राजिनामा स्वीकृत भएको करीब दुई महिना पछि समायोजनमा परेका हुन् ।

स्वास्थ्य मन्त्रालय मार्फत उनले गत पुसमै राजिनामा बुझाएका थिए । त्यसबेलै उनको मन्त्रिपरिषदबाट राजिनामा स्वीकृत भएको थियो ।

‘यो प्राविधिक समस्या हो । हामीले सच्याएको लिष्ट नपरेको हुनसक्छ,’ स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरागाईँले भने, ‘सामान्यले यसलाई सच्याउँछ ।’

‘संघमा नल्याईदिन अनुरोध’
उता भेरी प्रादेशिक अस्पतालमा कार्यरत नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठले आफूलाई संघमा नल्याइदिन आग्रह गरेकी छन् । उनले आफू प्रादेशिक अस्पतालमै खुशी रहेको भन्दै संघमा नल्याइदिन आग्रह गरेकी हुन् ।

श्रेष्ठ संघमा आउन नखोजेपछि उनको ठाँउमा अर्को व्यक्तिले मौका पाउनसक्ने देखिएको छ । ‘उहाँलाई संघमा आउन इच्छा भएन भन्ने जानकारी आयो । त्यसपछि हामीले सो जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइदिएका छौँ,’ सहसचिव गुरागाईँले भने ।

समायोजनको समस्या मिलाउन स्वास्थ्यको उपसचिव सामान्यमा
समायोजनमा आउनसक्ने समस्या मिलाउन तथा स्वास्थ्यका कर्मचारीको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयले उपसचिव बाबुराम लामिछानेलाई सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ ।

‘समायोजन नटुंगिदासम्म उहाँ (लामिछाने) त्यहि बसेर कामकाज गर्नुहुन्छ । समस्या परेकाहरुले उहाँलाई नै सम्पर्क गर्न सक्नुहुनेछ,’ सहसचिव गुरागाईँले भने ।

नवौँ र दशौँको तहको समायोजन एक दुई दिनमै
एघारौँ तहको समायोजन मंगलबार गरेको सामान्यले नवौँ र दशौँ तहको समायोजन पनि छिटै गर्ने भएको छ ।

सामान्य प्रशासन मन्त्रालयमा रहेका स्वास्थ्यका उपसचिव बाबुराम लामिछानेले अब नवौँ र दशौँ तहको समायोजन पनि एक दुई दिन भित्रै सार्वजनिक हुने बताए ।

‘समायोजनले तिव्रता पाएको छ । एघारौँको भैसक्यो । अब एक दुई दिनमा नवौँ र दशौँ तहको समायोजनको लिष्ट सार्वजनिक हुन्छ,’ लामिछानेले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *