नेपालगञ्जका दुई अस्पतालमा आपतकालिन पूर्व तयारी अभ्यास

काठमाडौँ, २८ माघ ।  विहानको पौने १० बजेको थियो । भेरी प्रादेशिक अस्पतालको आकस्मिक कक्ष अगाडी साइरनसहित हुईकिएर आएको एम्बुलेन्स रोकियो । चालक हत्तपत्त झरेँ र पछाडीको ढोका खोले । आकस्मिक कक्ष वरपर रहेका सर्वसाधारण तथा विरामीका आफन्तहरु एम्बुलेन्स नजिक पुगे । दाँया खुट्टा घुडाबाट मुनि छिनिएको अवस्थामा रगताम्य भएर वेहोस अवस्थामा लडेका एक जना गम्भीर घाइते देखिए । उनीसंगै टाउको हात खुट्टामा गम्भीर चोट लागेका एक जना महिला र एक पुरुष पनि थिए । अर्थ वेहोस अवस्थामा रहेका उनीहरु ऐया र दुख्यो भन्दै चिच्याइरहेका थिए ।

तर पनि भित्रबाट विरामी लिन कोही आएनन् । एम्बुलेन्स चालक घरि भित्र जान्छन्, घरि बाहिर निस्कन्छन् । केही सर्वसाधारणले हल्ला गर्न थाले विरामी लिन किन नआएको ? स्टेचर खोई ? भन्दै । करीब डेढ मिनेटपछि अस्पतालको सुरक्षाका लागि बसेको प्रहरी र एक केही स्वास्थ्यकर्मी स्टेचर तथा व्हील चियर लिएर आए ।

तीन जना विरामीलाई भित्र लगेर बेडमा राख्न नपाउँदै बाहिर चारवटा वटा एम्बुलेन्स साइरन बजाउँदै आइहाले । त्यतिन्जेल इमरजेन्सी भित्र बाहिर भिड बढीसकेको थियो । तर दोस्रोपटक पनि रोकिएको एम्बुलेन्सबाट घाइते झिकेर आकस्मिक कक्ष भित्र पुरयाउन ढिलो भएको थियो ।

आन्द्रा भुडी नै बाहिर निस्केका, हात खुट्टा भाँचिएका, टाउँकोमा गम्भीर चोट लागेका विरामी जब आकस्मिक कक्षमा लगियो । बाहिर जम्मा भएको भिड पनि संगसंगै छिरयो । रगताम्य भएका घाइते र उनका आफन्तको कोलाहल, संगै छिरेका सर्वसाधारण तथा पत्रकारहरुको भिडले थोरैसंख्यामा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कहाँबाट काम सुरु गर्ने भन्ने नै सकिरहेका थिएनन् ।

यस्ता दुर्घटनाका बेला एकै पटक ठुलोसंख्यामा आउने घाइतेको व्यवस्थापन र तत्काल उपचार व्यवस्था मिलाउन आकस्मिक कक्षमा राख्नुपर्ने रेड यलो ग्रिन एरियाले काम गरेको थिएन । न त आकस्मिक कक्षमा एकै पटक छिरेको ठूलो भिड व्यवस्थापन गर्न अस्पताल प्रशासन लागेको देखिन्थ्यो ।

ठिक यहि बेला यस्तै अवस्था नेपालगञ्ज मेडिकल कलेजको सिटी अस्पतालमा पनि थियो । तर एक्कासी ठूलोसंख्यामा घाइते आएको पत्तो पाउनासाथ मेडिकल कलेजमा इमरजेन्सी साइरन बज्यो ।

४ मिनेटसम्म साइरन बज्दा चिकित्सक नर्स तथा प्यारामेडिक्स गरी ४० बढि स्वास्थ्यकर्मी ४ मिनेट भित्रै आकस्मिक कक्षमा पुगे । आकस्मिक कक्षमा भिड जम्मा हुन दिइएन । आफन्त पत्रकार तथा सर्वसाधारणलाई सूचना लिनका लागि माथिल्लो तल्लामा रहेको इन्फरमेशन सेन्टरमा जान भनियो ।

यी माथिका दृश्य हिजो विहानको हो । दुबै अस्पतालमा देखिएका यी कोलाहलपूर्ण वाताबरण बास्तविक भएपनि दुर्घटना र घाइते भने नक्कली थिए ।

भूकम्प तथा अन्य विपत्तीका बेला अस्पतालहरुले कसरी चुस्त सेवा उपलव्ध गराउने भन्नेबारेमा जानकारी दिइन गरिएको यो आपतकालिन पूर्व तयारी सम्वन्धी नाटकीय अभ्यास (ड्रिल) थियो ।

स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले भविस्यमा हुन सक्ने विपत्ती र त्यसपछि अस्पतालमा एकैपटक आउने घाइते (मास क्याजोल्टी)लाई कसरी व्यवस्थापन गर्दा रहेछन भनेर परीक्षण गरिएको थियो । त्यसका लागि अति गम्भीर, गम्भीर, सामान्य घाइते बनाएर अस्पताल पठाइएको थियो ।

‘भूकम्प होस वा अरु यस्तै ठूलो दुर्घटनाका बेला एकै पटक घाइते आउँदा अस्पतालले कसरी रेस्पोन्स गर्दो रहेछ भनेर जान्नका लागि नै यो अभ्यास गरिएको थियो । इमेरजेन्सी अवस्थामा स्वास्थ्यकर्मी र अस्पतालले गर्नुपर्ने भूमिकाका बारेमा जे जसरी जानकारी हुनुपर्ने हो त्यो भएको छ कि छैन भनेर हेर्नुृथियो । त्यसैको दृश्य हो हिजो दुई अस्पतालमा भएको ड्रिल,’ कार्यक्रमका संयोजक रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हेल्थ इमरजेन्सी सेन्टरका प्रमुख चुडामणि भण्डारीले भने ।

गम्भीर घाइतेसंग स्वास्थ्यकर्मीको सेल्फी, मृत्यु भएकाको उपचार !
त्यसो त यो एउटा नाटक थियो । तर आपतकालिन अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीले कसरी खट्ने भन्ने सिकाईको लागि गरिएको अभ्यासका बेला भेरी अस्पतालमा खटिएका कतिपय चिकित्सकले भने गम्भीरता पूर्वक लिएनन् ।

‘केही चिकित्सकले गम्भीर घाइते विरामीसंग सेल्फी लिइरहेको दृश्य आफैसमा असोभनीय देखिएको थियो । हो, यो चाँही राम्रो भएन । विषयको गाम्भीयर्ता बुझ्नु भएको जस्तो देखिएन । विपत्तीका बेला कसरी चुस्त सेवा दिने भन्ने बारेमा गरिएको सिकाई अभ्यासका बेला डाक्टर नै सेल्फी लिएर बस्ने हो भने त्यसले कस्तो सन्देश जाला ?,’ कार्यक्रमका संयोजक भण्डारीले भने ।

सोही अभ्यासका क्रममा अर्को अनौठो दृश्य पनि देखिएको थियो । केही स्वास्थ्यकर्मीले बाटोमा ल्याउँदा ल्याउँदै मृत्यु भएका एक जना व्यक्तिलाई ब्ल्याक एरियामा लैजानु पर्नेमा रेड जोनमा राखेर धमाधम उपचार गरिरहेका थिए । ‘उहाँहरु यसमा पनि चुक्नुभयो,’ ड्रिल कोअर्डिनेटर रहेका डा नविन फुयालले भने, ‘त्यसैले यस्तो बेलामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बढी चनाखो हुनुपर्छ ।’

सो अभ्यासका लागि नेपाली सेना र नेपाल प्रहरीका जवानहरुले घाइतेकोअभियन गरेका थिए । अभ्यासको अवलोकन गर्न स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्र वाग्ले, स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेल लगायतका अधिकारीहरु नेपालगञ्ज पुगेका थिए ।

अभ्यासका क्रममा भेरीमा २५ र मेडिकल कलेजमा १५ जना घाइते लगिएको थियो तर तुलनात्मक रुपमा मेडिकल कलेजको तयारी राम्रो देखिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *