‘हो म उनैको कलेजोमा बाँचेको छु ….!’

- नेपाली हेल्थ
  • रामप्रसाद न्यौपाने
कलेजो प्रत्यरोपण गराएका बद्री खड्का र कलेजो दान दिएकी रुषा खड्का

माघे झरी रोकिएको थिएन । तर, त्यो झरीको के प्रभाह ? उनीहरु  रुझ्दै भिजदै आइपुगे । किनभने उनीहरुलाई सुनाउनु थियो आफ्नो जीवन कथा र व्यथा ।
……………………………………………..
गत शुक्रबार, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको तेस्रो तल्लामा रहेको आगन्तुक कक्षमा मुखमा मास्क लगाएका बद्री खड्का (४३) अघि लागेर पसे । संगसंगै थिइन उनकी जीवन संगिनी रुषा खड्का (३९) ।
……………………………………………..
सञ्चारकर्मी जहिले प्राय हतारोमै हुन्छन् । अझ् झरी परेको दिन । ‘यो चिसोमा किन टाइम वेस्ट गर्ने ? कुरा सुरु गरौँ हैँ ?’ एक जना सञ्चारकर्मी रेकर्डर अन गर्दै रुषा तर्फ अघि बढे । ‘हुन्छ’  स्वीकृत भावमा रुषा तयार भइन् । अनि सुरु भयो जिज्ञासा र जवाफ …..
…………………………………………………….
‘उहाँ मार्सल आर्टको खेलाडी । प्रशिक्षकको रुपमा जागिर समेत गर्नु हुन्थ्यो । तर एक्कासी अनौठो व्यथा निस्कियो,’ रुषाले १२ बर्ष अघिको कुरा कोट्याउन थालिन् । ‘शरीर फुल्दै गयो । पहेलो हुन थाल्यो । अस्पताल लग्यौँ । परीक्षण गरयौँ । सोच्दै नसोचेको व्यथा देखियो । लिभर सिरोसिस भइसकेको रहेछ । चिकित्सकले प्रत्यारोपण गर्ने विकल्प सुनाए । संगसंगै उनीहरुले प्रत्यारोपणका लागि खर्च खर्चको पनि आँकडा प्रस्तुत गरे । नेपालमा यो सुविधा छैन भारतमा जानुपर्छ र खर्च १ करोड भन्दा बढी लाग्छ होला । रुषाले त्यस बेला डाक्टरले भनेको कुरा  एक स्वरमा सुनाइन । उनले अगाडी थपिन्, ‘एक करोड बढी खर्चेर प्रत्यारोपण गर्ने हैसियत हामीमा थिएन । तर,  पनि मैले हिम्मत हारिन । जसरी पनि बचाएरै छाड्छु भन्ने त्यसबेला देखिकै अठोट थियो,’ श्रीमान् बद्री तर्फ हेरेर मुस्कुराउँदै उनले भनिन् , ‘आखिर बचाँएरै छाडेँ नि होइन र ?’ उनको प्रश्न सकिन नपाउँदै बद्रीले सही थाम्दै भने, ‘हो म उनकै कलेजोमा बाँचेको छु ।’

………………………………………………………………………

हो, करीब १२ वर्ष अघि नै कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेका बद्रीले ७ महिना अघि भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा गई आफूमा कलेजो प्रत्यारोपण गराए । उनलाई कलेको दान गर्ने आफ्नै जीवनसंगिनि रुषा हुन् ।

‘घरपरिवारबाट उहाँलाई कलेजो दान गर्न कोही अघि सरेन । आफ्नै अंग काटेर दिनुपर्ने कुरा डर लाग्यो होला । तर मैले त जसरी पनि बचाउछु भन्ने कमस खाएकी थिएँ । कलेजोको टुक्रा दिन गाह्रो लागेन । खुशी साथ दिएँ ।,’  रुषाले आफुप्रति दर्शाएको माया देखेर बद्रीको आँखा टिल्पिलाएका थिए । तर उनले पोखेनन् ।

दोस्रो पटक कलेजो प्रत्यारोपण गरेको एक बर्ष पुग्न ७ दिन बाँकी छदाँ केन्द्रले गत १० असारमा तेस्रो पटक कलेजो प्रत्यारोपण गरेको थियो । त्यो प्रत्यारोपण उनै बद्रीको थियो ।

दिल्लीस्थित म्याक्स अस्पतालका प्राडा सुवास गुप्ताको नेतृत्वमा आएको टोलीले सघाएपछि केन्द्रले सो दिन तेस्रो पटक कलेजोको सफल प्रत्यारोपण गरेको थियो । ‘त्यसबेला विहान सबैरै देखि राती अवेरसम्म करीब १५ घण्टा लगातार अप्रेशन भयो रे,’ रुषाले अगाडी थपिन, ‘मेरो कलेजो ६० प्रतिशत काटेर उहाँमा प्रत्यारोपण गरिएको छ ।’

…………………………………………….

‘भक्तपुरस्थित प्रत्यारोपण केन्द्रमा दुईवटा कलेजोको प्रत्यारोपण सफल भएको समाचार पढिसकेका थियौँ । पछिल्लो पटक डा छेतेन योञ्जनसंग उहाँलाई देखाएको थिएँ । उहाँले नै भक्तपुर रिफर गर्नुभयो । मिल्यो भने प्रत्यारोपण नै गर्ने भन्नुभयो डा सावले,’ रुषाले रुषाले अगाडी थपिन् , ‘अघिल्ला दुईवटा सफल भइसकेको र प्रत्यारोपणका लागि भारतीय विशेषज्ञहरुको टोली नै आउने भनेपछि ढुक्क थिएँ ।’

‘म दश दिन अस्पताल र घरमा गएर दुई महिना आराम गरेँ,’ कपनस्थित त्रिनेत्र विद्या निकेतनकी शिक्षिका रुषाले भनिन् । ‘त्यसपछि विद्यालय गएकी छु, पढाएकी छु, औषधि खानु परेको छैन । बद्रीको भने अहिले पनि इमिनो सप्रेसनको औषधि खानु पर्छ मासिक ८ देखि १० हजारको ।

………………………………………………………………..

‘केन्द्रमा प्रत्यारोपणका लागि भनेर २० लाख बुझाएका हौँ । तर उहाँमा अरु धेरै समस्या थियो । परीक्षण गर्दा गर्दा धेरै खर्च निस्कियो । करीब करीब ३५ लाख जति खर्च भयो होला,’ रुषाले भनिन् । त्यसो त उनले त्यसअघिका एक दशकमा २५ लाख भन्दा बढी खर्च गरिसकेकी थिइन । ‘म संग पैसा हुने कुरा भएन । त्यसैले हाम्रो अंशको केही जग्गा बेचेँ । त्यसबाट उपचार खर्च तिरेँ,’ उनी भन्छिन् ।

……………………………………………………………….

कुराकानीका क्रममा खड्का दम्पतीले प्रत्यारोपण सफल हुनुमा केन्द्रको स्तरीय सेवा नै प्रमुख कारक भएको दोहोरयाइरहे । उनीहरुले त्यसका लागि केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ देखि उपचारमा खटिएका अन्य चिकित्सक, नर्सहरुको भुमिका उत्तिकै सरहानीय भएको बताए ।

‘मिर्गौला प्रत्यारोपणमा  त यो नम्वर वान भईहाल्यो । कलेजो प्रत्यारोपणमा पनि यो उत्कृष्ट अस्पताल बनेको छ,’ दुबैले एकैसाथमा भने ।

खुशी मुद्रामा बद्री र रुषा

…………………………………………………………………

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पहिलो पटक  २०७३ मंसिर २२ गते कलेजो प्रत्यारोपण भएको हो । त्यसबेला ४२ बर्षीया दिदीले ३८ बर्षका विरामी भाईलाई कलेजो दान गरेकी थिइन । त्यहि नै नेपालको इतिहासमा पहिलो कलेजो प्रत्यारोपण थियो । पहिलो पटक प्रत्यारोपणमा  सघाउन दक्षिण कोरियाको सामसङ हस्पिटलबाट १४ जना चिकित्सकको टोली आएको थियो ।

त्यसको करीब ७ महिना पछि अर्थात २०७४ असार १८ गते दोस्रो पटक कलेजो प्रत्यारोपण भएको थियो । काठमाडौँ लगनका ५७ बर्षीय हिराकाजी महर्जनलाई उनकै २४ बर्षिया छोरी सरिता महर्जनले कलेजो दान गरेकी हुन् । दोस्रो पटक भएको प्रत्यारोपणमा सघाउन दिल्लीस्थित म्याक्स अस्पतालकै चिकित्सक आएका थिए । त्यसपछि तेस्रो केश बद्रीको हो ।

निर्देशक डा श्रेष्ठले पहिलो र दोस्रो पटक कलेजो प्रत्यारोपण गरिएका व्यक्ति अहिले स्वस्थ जीवन जिइरहेको जानकारी दिए । उनले लिभर प्रत्यारोपण कार्यक्रमले यसअघि अलि गति लिन नसकेपनि अब यसलाई नियमित गर्न लोगेको जानकारी दिए । ‘अव हामी छिटै अर्को केश पनि गर्दैछौँ । अहिलेलाई यति मात्रै भनौँ ,’ डा श्रेष्ठले भने ।

………………………………………………………………………

निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ कलेजो प्रत्यारोपणका लागि केन्द्र सक्षम रहेको बताएका छन् । उनले प्रत्यारोपणका लागि दाँता पाउन निकै गाह्रो र तुलनात्मक रुपमा सर्जरी केही महंगो समेत भएकाले सबैको पहुँचमा नपुगेको बताए । उनले तर ब्रेन डेथ केस आएमा यसले सबैलाई राहत दिने विश्वास गरे । ‘हामी प्रत्यारोपणका लागि सम्पूर्ण रुपमा सक्षम छौँ । तर पनि कलेजो प्रत्यारोपण गर्ने शल्यक्रिया संसारकै जटिल शल्यक्रिया मानिन्छ । तुलनात्मक रुपमा यो अलि महंगो पनि छ । त्यसैले केश पाउन पनि सहजता छैन,’ उनले भने ।

…………………………………………………………………….

कुरा टुंग्याउँदै गर्दा रुषाले भनिन्, ‘तपाईँको मिडियामार्फत एक शव्द थप्न चाहन्छु । भन्नुस न सञ्चारकर्मीको स्विकृति पछि उनले भनिन्, अंगदानमा अहिलेसम्म लिने पुरुष दिने महिला देखिएको छ । महिलालाई पनि यसैगरी पुरुषले दिने गरे कति जाति हुन्थ्यो होला । यो मेरो भावना नछुटाई लेखिदिनु होला है ?’ आफ्नो भनाईलाई यसपछि विट मारिन ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *