प्रयोगशालाका कर्मचारीले भने, ‘२ घण्टा अतिरिक्त काम गर्न ५०० भत्ता चाहिन्छ’

काठमाडौँ, २४ माघ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरुले विहानको दुई घण्टा अतिरिक्त काम गर्नका लागि ५ सय रुपैयाँ अतिरिक्त भत्ता चाहिने बताएका छन् । उनीहरुले सोही व्यवहोराको जानकारी प्रधानमन्त्री कार्यालयमा समेत पठाएका छन् ।

राष्ट्रिय स्तरको प्रयोगशालामा विहान ७ बजे देखि नै नमुना संकलन कार्य हुनुपर्ने भन्दै कोही सर्वसाधारणले प्रधानमन्त्री कार्यालय अन्तरगर्तको हेल्लो सरकारमा ध्यानाकर्षण गराएको थियो । सो गुनासोलाई हेल्लो सरकारले स्वास्थ्य मन्त्रालय हुँदै जनस्वास्थ्य प्रयोगशाला सम्म पुरयाएको थियो ।

प्रधानमन्त्री कार्यालयबाट चासो दिएपछि जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुले बैठक बसी अतिरिक्त सेवाका लागि अतिरिक्त सुविधा चाहिने बताएका हुन् ।

उनीहरुले गरेको निर्णयमा भनिएको छ, ‘विहान ७ बजे देखि ९ बजेसम्म गरी दुई घण्टाको सेवा उपलव्ध गराएवापत सरकारले खटिएका कर्मचारीलाई प्रतिदिन ५ सय रुपैयाँका दरले भत्ता दिनुपर्छ । अन्यथा सम्भव हुँदैन ।’

लेखा अधिकृत देखि सेकुरिटी गार्ड समेतका सहभागी बैठकले विद्यमान अवस्थामा दैनिक खाजा भत्ता २५० हुने व्यवस्था भएको र सो पनि यसपटक नपाएको भन्दै अतिरिक्त सेवा दिन नसकिने स्पष्ट पारेका छन् ।

त्यसो त कर्मचारीले पहिलेको संगठन संरचनामा चौथो पाँचौँ र छैटौँ तहका गरी २५ जनाको दरबन्दी भएकोमा अहिलेको नयाँ दरबन्दीमा सो संख्या घटाएर १२ मा झारिएको भन्दै सेवा थप्न यसैपनि गाह्रो हुने उल्लेख गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *