‘साढे छ महिनाको अवधीमा सय जना बढीको मिर्गौला प्रत्यारोपण’

काठमाडौँ, २४ माघ ।  भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले चालु आर्थिक बर्षको पहिलो साढे छ महिनामा १ सय बढीको मिर्गौला प्रत्यारोपण गरेको छ । केन्द्रले चालु आर्थिक बर्षको बाँकी अवधीमा कुनै अवरोध नआए प्रत्यारोणको संख्या २ सय नाघ्ने दावी गरेको छ ।

केन्द्रका निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले चालु आर्थिक बर्षको पछिल्लो हप्तामासम्म प्रत्यारोपण गराउनेको संख्या १०३ पुगेको जानकारी दिए ।

बीचको केही महिना प्रत्यारोपणको लागि चाहिने औषधि अभावका कारण सेवा अवरुद्ध भएकोले अब नियमित हुँदै गएमा चालु आर्थिक बर्षको अन्त्यसम्ममा प्रत्यारोपण गराउनेको संख्या २ सय नाघ्ने उनले बताए ।

प्रत्यारोपण शुरु भएको ७० महिनाको अवधीमा ५७० जनाको मिर्गौला प्रत्यारोपण

यसैबीच केन्द्र स्थापना भएको ७० महिनाको अवधीमा मिर्गौला प्रत्यारोपण गर्नेको संख्या ५७० जना पुगेको छ । ‘अहिलेको संख्याले औषतमा बार्षिक सय जनाको प्रत्यारोपण भएको जस्तो देखिन्छ । तर यो होइन शुरुका बर्ष र अहिलेका बर्षहरुमा संख्यामा ठूलो भिन्नता छ । अहिले हामी सातामै ६ देखि ८ वटा सम्म प्रत्यारोपण गर्न थालेका छौँ,’ निर्देशक डा. श्रेष्ठले भने ।

चार सय बढी डायलासिस, पाँच सय बढी प्रत्यारोपणको पर्खाइमा

स्थापनाको छोटो अवधीमा नै आफ्नो बेग्लै छाप बनाएको प्रत्यारोपण केन्द्रले अहिले क्षमताले भ्याएसम्मको सेवा उपलव्ध गराएको जनाएको छ । ‘हामीकहाँ अहिलेपनि चार सय बढीले डायलासिस गराउनु भएको छ । पाँच सय बढीले प्रत्यारोपणका लागि पालो पर्खेर बस्नु भएको छ । करीब ४ सय जतिले ब्रेन डेथ भएका व्यक्तिबाट अंग लिन पाँउ भनेर नाम दर्ता गराई बस्नु भएको छ,’ डा. श्रेष्ठले भने ।

उनले अहिले केन्द्रका सबै उपकरण, जनशक्ति पूर्ण रुपमा प्रयोग भएको बताए । ‘हामीकहाँ अहिले न बेड खाली छ । न डायलासिस गर्न खाली छ । विरामीको चापले त्यो भवन अहिले साच्चिकै अति साँघुरो भएको छ । यसको क्षमता विस्तार गर्नु अहिलेको तत्कालको आवश्यकता हो । माथिल्लो निकायको अव ध्यान जानैपर्ने जरुरी छ,’ डा श्रेष्ठले भने ।

पछिल्लो साढे तीन सय जनाको प्रत्यारोपण गर्दा सतप्रतिशत सफल

निर्देशक डा.  श्रेष्ठले प्रत्यारोपण केन्द्रमा पछिल्लो साढे तीन सय जनाको मिर्गौैला प्रत्यारोपण सतप्रतिशत सफल भएको दावी गरे । ‘सत प्रतिशत सफल हुने भन्ने सधै हुँदैन तर हामी यस मानेमा भाग्यमानि छौँ । पछिल्लो साढे तीन सय केस सबै सफल भएका छन् । यसले हामीलाई थप हौसला प्रदान गरेको छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *