‘न्याम्सको उपकुलपतिको नियुक्ति हल्ला मात्रै ?’

काठमाडौँ, २३ माघ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति नियुक्ति सम्वन्धी निर्णय भई नसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । केही सञ्चारमाध्यममा भने प्राडा डीएन साह उपकुलपतिमा नियुक्ति भएको समाचार आएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहका डा कुन्दन अर्यालले उपकुलपति सम्वन्धी समाचार हल्लामात्रै भएको बताए । ‘कुलपतिको हैसियतले न्याम्सको उपकुलपति नियुक्ति गर्ने प्रधानमन्त्रीले नै हो । सञ्चार माध्यममा खबर आएपछि मैले भर्खरै पनि बुझेँ यतिवेलासम्म सो सम्वन्धमा कुनै निर्णय भएको छैन । यो हल्ला मात्रै हो’ उनले भने ।

यता उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको सचिवालयले पनि उपकुलपति सम्वन्धी समाचारबारे जानकारी नभएको बताए ।

‘त्यो निर्णय भएको हो भने हामीलाई पनि थाह हुनुपर्ने । नियुक्ति भएको भनिएको मान्छेलाई पनि थाह हुनुपर्ने, त्यो छैन । समाचार आएपछि मैले सबै तिर बुझेँ । अरु त अरु प्रधानमन्त्री कार्यालयका जिम्मेवार साथीहरुलाइ पनि जानकारी छैन,’ उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाले भने ।

त्यसो त न्याम्सको उपकुलपति नियुक्तिका लागि सहकुलपतिको हैसियतले मन्त्री यादवले साढे चार महिना अघि नै प्राडा साह, प्राडा ढुण्डी पौडेल र प्राडा अजित रायमाझीको नाम सिफारिस गरेका थिए ।

लामो समय उपकुलपति नियुक्त नभएको भन्दै उपप्रधानमन्त्री यादव रुष्ट भएको समेत बताइने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *