साझा स्वास्थ्यका पाँच कर्मचारी निलम्बित

प्रतिकात्मक तस्बिर

काठमाडौँ, २३ माघ । औषधि बिक्री वितरण गर्दै आएको  साझा स्वास्थ्य सेवा सहकारी संस्थाले मातहतका पाँचजना कर्मचारीलाई निलम्बन गरेको छ । संस्थाका औषधि बिक्रीकक्षहरुमा भएको आर्थिक हिनामिनाको आरोपमा उनीहरुलाई निलम्बन गरेको सो संस्थाले जनाएको छ ।

निलम्बनमा पर्ने कर्मचारीहरुमा तत्कालीन महाराजगञ्ज विक्री कक्षका इञ्चार्ज नीरप्रसाद काफ्ले, काठमाडौ शाखाका आशुतोस अधिकारी, तत्कालीन बुटवल विक्री कक्षका इञ्चार्ज बाबुराम भण्डारी र महेन्द्रनगर विक्री कक्षका इञ्चार्ज गजेन्द्र कार्की र वुटवल विक्री कक्षका अर्का कर्मचारी कृष्ण सिवाकोटी रहेको संस्थाका महाप्रवन्धक शंकर ढकालले जानकारी दिए ।

यद्यपि , निलम्बित कर्मचारीहरुले भने आफूहरुलाई बदनियतपूर्ण ढंगले फसाइएको बताएका छन् । तत्कालीन महाराजगञ्ज विक्री कक्षका इञ्चार्ज निरप्रसाद काफ्लेले साझा स्वास्थ्य सेवा सहकारीको अपारदर्शी नीति र चरम लापरबाहीका कारण आफू लगायतका सहायकस्तरका कर्मचारीहरुलाई फसाइएको गुनासो गरे ।

“ म माथि जुन आरोप लगाएर निलम्बन गरिएको छ, यो सरासर संस्थाको अपारदर्शी नीतिको परिणाम हो,” उनले भने, “मलाइ चावहिल शाखाबाट महाराजगञ्ज विक्री कक्षमा सरुवा गरिएपछि त्यहाँको वस्तुस्थिति बुझेर समस्या समाधानको लागि पटक–पटक व्यवस्थापनलाई लिखित तथा मौखिक जानकारी गराउँदा समेत कुनै सुनुवाइ गरिएन ।”

उनले सस्थाको नियमअनुसार हरेक तीन महिनामा गरिनुपर्ने भौतिक गणना नगरिएको, ठूलो स्तरका कर्मचारीले नेतृत्व गर्नुपर्ने ठाउँमा निम्नस्तरको कर्मचारीलाई खटाइएको, महाशाखाका स्टोरहरुबाट औषधि विनाका विलहरु पठाउने गरिएको, औषधि र विल संँगै जानुपर्नेमा बिलहरु तीन महिनापछि मात्र पठाउनेजस्ता संस्थाको गैरव्यवसायिक र गैरजिम्मेवार क्रियाकलापले निम्न स्तरका कर्मचारीहरु मर्कामा परेको बताए ।

यस बिषयमा संस्थाका महाप्रवन्धक ढकालले समग्र संस्थाको अपारदर्शी नीति भन्दा पनि व्यापार महाशाखाको असक्षमताका कारण पनि समस्या आएको स्वीकारे व्यापार महाशाखाले काउन्टरहरुको नियमित अनुगमन नगरेको , आन्तरिक लेखा परीक्षण महाशाखाले हरेक तीन महिनामा गरिने भौतिक गणनाको हिसाव समयमै नदिएका कारण हिसाव किताव नमिलेको हुन सक्ने बताउँदै व्यापार महाशाखालगायत आलेप महाशाखा पनि कारवाहीको दायरामा आउने प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *