चिकित्सा अध्ययन् गर्न चीन र बंगलादेश जाने विद्यार्थीलाई नयाँ सर्त

काठमाडौँ, २१ माघ ।  नेपाल मेडिकल काउन्सिलले चीन र बंगलादेशमा चिकित्साशास्त्र अध्ययन् गर्न जाने विद्यार्थीका लागि नयाँ मापदण्ड बनाउन शिक्षा मन्त्रालयलाई पत्र पठाएको छ ।

काउन्सिलले चीनमा चिकित्साशास्त्र अध्ययन गर्न जानेहरुले चिनिया भाषामै चिनियाँ विद्यार्थी सरह पढ्नुपर्ने र बंगलादेशमा सरकारी मेडिकल कलेजमा पढन जानेहरुका लागि मात्रै स्वीकृति दिने मापदण्ड बनाउन डेढ महिना अघि पत्र पठाएको हो । यद्धपी अहिलेसम्म शिक्षा मन्त्रालयले त्यसको जवाफ काउन्सिललाई दिएको छैन ।

काउन्सिल अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले धेरै जसो नेपाली विद्यार्थीहरु चीनमा अग्रेजी माध्यमबाट चिकित्साशिक्षा अध्ययन गर्न गएको र उनीहरुको गुणस्तर कमजोर रहेको पाएपछि यस्तो चिठी पठाएको बताए ।

‘चीनमा उपकरण छ, विरामी पनि छ, तर चिनियाँहरु अंग्रेजी बोल्दैनन् । चिनियाँ भाषा नजानी, अंग्रेजी माध्यमबाट पढ्नेहरुले विरामीसंग हेलमेल नै हुँदैन । न बिरामीले बुझ्दछ न पढ्ने विद्यार्थीले नै । त्यसैले हामीले चिनियाँ भाषामा अध्ययन गर्न जानेलाई मात्रै जान दिनुभन्दै पत्र पठाएका हौँ,’ उनले भने  ।

प्राडा बास्कोटाले बंगलादेशमा सरकारी मेडिकल कलेजमा पढ्न जानेलाई मात्रै स्वीकृति दिन भनेको जनाए । ‘त्यहाँ करीब २५ वटा जति सरकारी मेडिकल कलेज छ । करीब १०० को हाराहारीमा निजी मेडिकल रहेछ । अहिले के भएको छ भने त्यहिँको मेडिकल काउन्सिल र बोर्डले तीन दर्जन बढी निजी मेडिकल कलेजलाई व्ल्याक लिष्टमा राखेको छ । ती कलेजमा पहिले देखि नै अध्ययनका लागि गएका करीब ६-७ सय नेपाली विद्यार्थीहरु फसेका छन् । त्यसैले हामीले अब देखि बंगलादेशमा अध्ययन गर्न जान चाहनेले सरकारी कलेजमा मात्रै जान पाउने निर्णय गरी सरकारलाई सो कदम चाल्न सल्लाह दिएका हौँ,’ उनले भने  ।

उनले पछिल्लो समय चीन र बंगलादेश अध्ययन् गरी फर्केका धेरै विद्यार्थीहरु लाइसेन्स परीक्षामा फेल हुने गरेको समेत बताए । ‘लाइसेन्स परीक्षामा पटक पटक फेल हुनेहरुको संख्या चीन र बंगलादेशबाट अध्ययन पुरा गरी फर्केकाहरु नै बढी देखियो । त्यसैले अब नयाँ विद्यार्थीलाई समस्या नहोस भन्नका लागि हामीले यो सुझाव दिएका हौँ,’ प्राडा बास्कोटाले भने ।

नेपालबाट मेडिकल अध्ययन गर्न जाने प्रमुख गन्तव्यमा चीन र बंगलादेश अग्रपंक्तीमा देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *