चरिकोट अस्पतालमा लापरबाही : पोस्टमार्टम गरी पठाइएको शवको पोकोभित्र शिशुको शव

दोलखा, ९ माघ । प्रस्तावित चरिकोट अस्पतालका चिकित्सकले पोस्टमार्टम गरी पठाएको शवसँगै अर्को एक शिशुको शव पनि पठाएको फेला परेको छ ।

चिकित्सकले पोस्टमार्टम गरी पठाएको भीमेश्वर नगरपालिका–१ क्षमावतीका ४४ वर्षीय कालुमान थामीको शवसँगै अर्का एक शिशुुको शव पनि फेला परेको हो ।

तीन दिनअघि भिरबाट लडेर ज्यान गुमाएका कालुमानकोे शव प्रस्तावित चरिकोट अस्पतालमा पोस्टमार्टम गरी दाहसंस्कारका लागि घाट लगिएको थियो । तर, थामीको शवसँगै नवजात शिशुुको शव पनि भेटिएको मलामी गएका स्थानीयहरूले बताएका छन् ।

दाहसंस्कारका लागि घाटमा पुगेर शव राखिएको पोको खोल्दा नवजात शिशुको शव फेला परेपछि प्रहरीलाई खबर गरेको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष वीरबहादुर थामीले बताए । वडाध्यक्ष थामीले चरिकोट अस्पतालको लापरबाहीका कारण कालुमानको शवसँगै नवजात शिशुको शव पनि प्याकिङ भएको बताए ।

कालुमानको शव चितामा राख्ने क्रममा मासुको डल्लो देखिएको र खोतलेर हेर्दा नवजात शिशुको शव फेला परेको उनले बताए । स्थानीयको खबरपछि आर्यघाटमा पुगेको प्रहरीले शिशुको शव चरिकोट अस्पताललाई नै फिर्ता गरेको थियो । शिशुको शवलाई चिरफारसमेत गरिएकाले घटना थप शंकास्पद भएको स्थानीयले आशंका गरेका छन् ।

पोस्टमार्टम सँगै भएकाले स्थानीयले लगेछन् अस्पताल
प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) की प्रमुख डा. क्षमता घिमिरेले कालुमान र नवजात शिशुको शवको पोस्टमार्टम सँगसँगै गरिएको बताइन् । पोस्टमार्टमपछि छुट्टाछुट्टै प्याकिङ गरे पनि शिशुको शव पनि कालुमानको शवसँगै स्थानीयले लगेको उनले दाबी गरिन् ।

डा. घिमिरेका अनुसार गर्भभित्रै मरेको शिशुको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको थियो । शिशुका आफन्तले शवको डिस्पोज गरिदिन अस्पताललाई जिम्मा लगाएको र डिस्पोज गर्ने तयारी भइरहेका वेला स्थानीयहरूले लगेको डा. घिमिरेको भनाइ छ ।

कालुमानका आफन्तले भने शव पोस्टमार्टम भएसँगै सबैलाई चिकित्सकले बाहिर निकालेका र त्यसपछि शिशुको शव थामीकै शव राख्ने झोलामा प्याक गरिदिएको आरोप लगाएका छन् ।

  • आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *