खुट्टा पाएपछि फुरुङ्ग….

  • नारायण ढुङ्गाना

काठमाडौँ, २ माघ । वीरगञ्ज महानगरपालिका– २१ बेलुवाकी छ वर्षीया रियाकुमारी कुसवाहलाई तीन वर्षको उमेरमा घर नजिकै बसले ठक्कर दियो ।

स्थानीय अस्पताल, बिएण्डबी हुँदै काठमाडौँको शिक्षण अस्पतालमा उहाँको उपचार गर्दा झण्डै एक लाख खर्च लाग्यो । चिकित्सकको कयौँ प्रयास सफल हुन नसक्दा अन्ततः खुट्टा गुमाएकी रियाकुमारी अहिले पहिले झैँ ठमठम हिँड्न सक्छिन् । तर उनको सहारा भने नक्कली खुट्टा भएको छ । सयौं दर्शक माझ नै नक्कली खुट्टामा उनी फुरुङ्ग हुँदै दौडिइन ।

भोजपुर घर भई हाल बानेश्वर बस्दै आएका एजिन्द्रप्रसाद लुईंटेलको पनि कथा उस्तै छ । होलीको समयमा हुने आध्यात्मिक समारोहमा सरिक हुने क्रममा गएको फागुनमा उनी भारत पुगे । आगरा–लखनउ सडकखण्डमा मोटरसाइकलको पछाडी बसेर यात्रा गर्दै गर्दा दुर्घटनामा परेर उनी घाइते भए । मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

भाँचिएको खुट्टा जोड्ने प्रयास नेपाल र भारतका अस्पतालले गरे पनि अन्ततः सफल हुन सकेन । खुट्टा गुमाएका लुइँटेलले भने, “पहिलोपटक खुट्टा पाएँ, अरुले जसरी नै काम गर्छु भन्ने हिम्मत छ ।” कान्छालाल बोमजनलाई २०४७ मा बिच्छीले खुट्टाको बूढीऔंलामा टोक्यो । सामान्य होला भनेर उनी झारफुककै भरमा निको हुने आशामा बसे । लामो समयसम्म निको नभएपछि घाउ पाक्न थाल्यो । “अस्पताल जाँदा क्यान्सर भइसकेको रहेछ, कान्छालालले अनुभव सुनाए, अनि खुट्टा काट्नुप¥यो ।”

नक्कली खुट्टा पाएपछि उनी पनि अहिले खुशी छन् । सवलाङ्गझैं ठमठमी हिँडेर उनले पुरानो घाउ बिर्सने प्रयास गरे । “अब फेरि नयाँ जीवन पाएको महसुस भयो, उनले भने, “अब केही नयाँ काम गर्छु भन्ने लाग्या छ ।”

आगोले पोलेर खुट्टा गुमाउन पुगेका मनाङका दोर्जे लामाले पनि नक्कली खुट्टा पाएपछि यताउता हिड्न सहज भएपछि अहिले खुशी हुनुभएको छ ।

उनीहरु केही प्रतिनिधि उदाहरण मात्र हुन् । उनीहरुलाई यसरी खुट्टा बनाउन भारतबाट प्राविधिज्ञ र चिकित्सक समेत नेपाल आएका थिए । काठमाडौँमा चिकित्सक र प्राविधिकले नापजाँच गरेअनुसारको बनाएर नक्कली खुट्टा राखेका थिए ।

यो वातावरण भने भारतको भगवान महावीर विकलाङ्ग सहायता समिति र नेपालको चौधरी फाउण्डेसनले मिलाएको हो । समितिले दक्षिण एशियामै पहिलोपटक नक्कली खुट्टा प्रत्यारोपण शिविरमा खुट्टा गुमाएकाहरुको निःशुल्क रुपमा नक्कली खुट्टा हालेको जनाएको छ । वार्षिक ८० हजार खुट्टा हाल्दै आएको समितिले अहिलेसम्म १७ लाखलाई खुट्टा हालिसकेको दाबी गरेको छ ।

नेपालमा खुट्टा गुमाएका सबैलाई खुट्टा हाल्ने क्षमता रहेको भन्दै समितिका निर्देशक सतिस मेहताले उपयुक्त वातावरण भए तीन वर्षमा खुट्टा उपलब्ध गराउने प्रतिबद्धता जनाए। उनीहरुलाई नेपालको संयोजन भने चौधरी फाउण्डेसनले गरेको छ । फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले माघ ३ गते नवलपुरमा शुरु हुने खुट्टा प्रत्यारोपण शिविरमा ५०० बढीलाई खुट्टा प्रदान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

यसरी खुट्टा प्राप्त गरेका अपाङ्ता भएकाको गतिविधि हेरेपछि उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले खुशी हुँदै भने, “जो चल्न सक्तैन ऊ चल्न मात्रै होइन दौडन सक्ने भयो, यो भन्दा ठूलो मानवसेवा अरु के होला ।”

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *