तीस प्रकारका औषधिको आयात प्रतिवन्ध होला ?

काठमाडौँ, २ माघ । स्वदेशी औषधि उद्योगको प्रर्वद्धन गर्न केही औषधिको आयातमा प्रतिवन्ध लगाउने विषय पुन: चर्चामा आएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको अध्यक्षतामा आज बस्ने औषधि परामर्श समितिको बैठकले त्यस सम्वन्धमा केही निर्णय गर्न सक्ने बताइएको छ ।

यसअघि गत २३ पुसमा बसेको परामर्श समितिको बैठकमा आयात प्रतिवन्ध र मूल्य नियन्त्रणको विषयमा सहमति नभएपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो ।

उक्त कार्यदलमा औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठ, औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहाल, नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य सदस्य रहेका छन् । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि र बाणिज्य मन्त्रालयको प्रतिनिधि पनि प्रतिनिधि कार्यदलमा राखिएको छ ।

सो कार्यदलले आज दुई बजे बस्ने बैठकमा प्रतिवेदन बुझाउने बताइएको छ ।

कार्यदलका संयोजक ढकालले कार्यदलले दिने सुझाव आजको बैठकमा पेश हुने बताए । उनले दुई वर्ष अघि ( गगन थापाको पालामा भएको निर्णय) गरीएको तीस प्रकारका औषधिको आयात रोक्ने भन्ने विषयमा कार्यदलको सुझाव हुनसक्ने संकेत गरे ।

‘साथीहरुको विभिन्न कोणबाट सुझाव आएको छ । यसलाई समेटेर प्रतिवेदन तयार हुँदैछ । आजको बैठकमा पेश गर्ने गरी । अहिल्यै भन्न मिल्दैन,’ ढकालले भने ।

यता औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले औषधिको कच्चा पदार्थ आउन दिने तर यहि नै उत्पादन हुने औषधि किन आयात गर्ने भन्ने विषय आफूहरुको मुख्य माग रहेको बताए । उनले मूल्यका विषयमा पनि छलफल भएको बताए ।

यता औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले आफूहरु मूल्य नियन्त्रणको पक्षमा रहेको तर आयात प्रतिवन्ध लगाउने कुरा मान्य नहुने प्रतिक्रिया दिए । हामी प्रतिस्पर्धा गर्नुपर्छ भन्ने मान्यता राख्दछौँ ।

‘आज ठूलो भोल्युमको औषधि रोकेर साना भोल्युमको औषधि मात्रै ल्याउ भन्दा पठाउछन भन्ने छैन । भोलि औषधिको हाहाकार भयो भने जिम्मा कसले लिन्छ,’ आचार्यले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *