स्वदेशमै आत्मनिर्भर भएका औषधि बाहिरबाट किन ल्याउनु ? : औषधि उत्पादक संघ

काठमाडौँ, ३० पुस । नेपालमै उत्पादन प्रयाप्त भएका औषधिको आयातमा रोक लगाउन नेपाल औषधि उत्पादक संघले सरकारसंग माग गरेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको भन्दै यसको कार्यान्वयनको लागि यस्तो माग गरिएको संघले जनाएको छ ।

आइतबार स्वास्थ्य पत्रकार मञ्च संग गरेको छलफल कार्यक्रममा संघले अहिले नै नेपालका लागि आवश्यक करीब ७५ प्रतिशत औषधिको भार वहन क्षमता नेपाली औषधि उद्योगसंग रहेको भन्दै त्यसको पूर्ण सदूपयोग गर्न राज्यका तर्फबाट नीतिगत निर्णय हुनुपर्ने बताएको छ ।

संघका अध्यक्ष दीपकप्रसाद दाहालका अनुसार अहिले पनि नेपालमा अहिले पनि ५२ प्रतिशत औषधिको बजार भारतीय कम्पनीले ओगटेको छ । उनले नेपाली उद्योगको औषधि ४५ प्रतिशत र अन्य देशबाट आयात हुने ३ प्रतिशत रहेको बताए । दाहालले सरकारले केही कदम चालिदिए मात्रै पनि ४५ प्रतिशतबाट ७५ प्रतिशतमा पुग्न सहज हुने भन्दै त्यसका लागि ध्यानाकर्षण गराएको बताए ।

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाका पालामा नेपालमै प्रयाप्त भएका केही औषधि बाहिरबाट ल्याउन नपाइने प्रस्ताव अघि बढेको स्मरण गराउँदै त्यसको कार्यान्वनय अहिलेको आवश्यकता रहेको बताए ।

उनले नियोजित रुपमा नेपाली औषधिहरु महंगा र कम गुणस्तरीय भन्ने भ्रम छरिएको भन्दै खण्डन गरे । उनले भने, ‘गुणस्तरीय नभएको भए, यतिका सरकारी निकाय छ । उसले कदम चाल्थ्यो होला । महंगोको कुरामा पनि सरकारले मूल्य तोेकेको अवस्था छ । त्यो भन्दा बढी लिन मिल्दैन । प्रतिस्पर्धाको बजारमा कसले बढी शुल्क तिरेर औषधि खान्छ । त्यसैले यो पनि वाइघात कुरा हो ।’

संघका महासचिव प्रज्वलजंग पाण्डेले नेपाली कम्पनीले उत्पादन गर्ने औषधिहरु फार्माकोपिया अनुसार नै बन्ने भन्दै यसमा गुणस्तरमा शंका लिने ठाँउ नभएको बताए । ‘हामीकहाँ ५३ वटा औषधि उद्योग छन् । ती उद्योगले उत्पादन गरेका औषधिहरु पनि संसारभर उत्पादन हुने औषधिकै मापदण्ड अनुसार छ । यसमा कुनै भ्रम नहोस,’ उनले भने ।

भारत तथा बंगलादेशको उदाहरण दिदै उनले भने, ‘त्यहाँको औषधि उद्योगलाई राज्यले कति लगानी गरेको छ । कति सहयोग गरेको छ । त्यत्तिकै नगरेपनि केही मात्रै गरिदिने हो भने पनि हामी धेरै माथि जाने थियौँ । हामीसंग त्यो क्षमता छ ।’

पाण्डेले नेपाल भारत खुल्ला सिमानाका कारण करीब ३० प्रतिशत औषधि अवैध रुपमा दर्ता विनाका औषधि नेपाल भित्रने गरेको बताए ।
कार्यक्रममा संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठ, महेश गोर्खाली, संस्थापक अध्यक्ष, प्रदीप वैद्य, औषधि उद्योगी बाबुराम भट्टराई लगायतले नेपाली औषधि उद्योगको अवस्था, राज्यले गर्नुपर्ने दायित्व लगायतका विषयमा आ आफ्ना धारणा राखेका थिए ।

मञ्चका अध्यक्ष कल्पना आचार्यले औषधिको विषय प्राविधिक तथा बढो संवेदनशील विषय रहेको भन्दै समाचार लेख्दा विशेष ध्यान दिनुपर्ने बताइन । उनले पत्रकारहरु वाच डगको भूमिकामा समेत रहेको भन्दै खबरदारी गरी राख्ने बताइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *