कालिकोटको रास्कोटमा १५ श्यया सामुदायिक अस्पताल निर्माण हुने

सुर्खेत, २९ पुस । कर्णाली प्रदेशको भौगोलिक रूपले विकट मानिने कालीकोटको रास्कोट नगरपालिकामा सामुदायिक अस्पताल निर्माण हुने पक्का भएको छ ।

रास्कोट–५ गौतुकोटको २२२ रोपनी जग्गामा १५ श्ययाको सामुदायिक अस्पाताल निर्माण हुने भएको हो ।

शनिबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, नगरप्रमुख काशीचन्द्र बराल, पत्रकार रवि लामिछाने र अस्पताल निर्माण समितिका अध्यक्ष तुलराज सिम्खडाले संयुक्तरुपमा अस्पातल निर्माण अभियानको घोषणा गरेका छन् ।

उद्घाटन कार्यक्रममा कानूनमन्त्री भण्डारीले कर्णालीको कष्टकर विगतलाई बिदाई गर्ने अभियानमा लाग्नुभएका पत्रकार लामिछानेको प्रशंसा गरे । उनले ३६ वर्ष मात्र आयु भएका कर्णालीका नागरिकको पीडा र आँसुबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको बताए ।

प्रदेशका १० जिल्लाका नागरिकलाई सो प्रतिष्ठानले स्वास्थ्य सेवा दिइरहेको छ । नयाँ स्थापना हुने सो अस्पतालका लागि प्रतिष्ठानले जनशक्ति उपलब्ध गर्ने मन्त्री भण्डारीले आश्वासन दिए । अस्पताल निर्माणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।

पत्रकार लामछिानेले यार्सागुम्बा बेच्ने तर सिटामोलका लागि तड्पिने कर्णालीवासीको स्वास्थ्य अवस्थालाई मध्यनजर गरेर अस्पताल निर्माण अभियानमा लागेको बताए । उनले अस्पताल निर्माणमा तीनै सरकारको सहयोगको अपेक्षा रहेको बताए । यो काममा राजनीतिक वा अन्य कुनै स्वार्थबाट अलग रहेर काम गर्न उनले आग्रह गरे ।

कार्यक्रममा नगर प्रमुख बरालले अनुमानित रु १० करोड लागतमा अस्पताल निर्माण गरिने बताए । स्थानीय सरकारले पनि ३० लाख रकम सहयोग गर्ने बताउँदै उनले सो अस्पतालबाट ७५ हजार सेवाग्रही लाभान्वित हुने जानकारी गराए ।

प्रदेशसभा सदस्यद्वय कुर्मराज शाही, सुशिला शाही, प्रतिष्ठान जुम्लाका हाडजोर्नी विशेषज्ञ डा मङ्गल रावल, अस्पताल निर्माण अभियानका सदस्य डा मुकुल ढकालसहितले निर्माणकार्य अभियान उदाहरणीय बनाएर लैजानुपर्नेमा जोड दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *