युवतीदेखि वृद्धासम्ममा पाठेघरको समस्या

दाङ २९ पुस । लक्ष्मीपुर स्यालापानीकी बेली विष्ट आफ्नो बिहे हुँदा कपाल बाट्न जानेकी थिइनन् । १३ वर्षकै उमेरमा विवाह गरेकी बेली ६२ वर्षको उमेरसम्म आइपुग्दा रोग पालेर बस्नुपरेको छ ।

१७ वर्षको उमेरमा पहिलो सन्तानको आमा बनेकी उनले जम्माजम्मी चार सन्तान हुर्काइन । सन्तान सँगसँगै रोग पनि हुर्किएको उनले थाहा पाइनन् । बेलीले भनिन्, “अहिले छोराछोरी हुर्किए, छोराछोरीसँगै शरीरमा रोग पनि हुर्किदै गएको रैछ ।”

घोराही उपमहानगरपालिका–४ को कार्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा आएकी बेलीलाई धेरै वर्षदेखि पाठेघरको समस्या थियो । श्रीमान् गुमेपछि आफैँले जन्मदिने छोराछोरीलाई त्यस्तो कुरा कसरी भन्नु ? त्यही लाजका कारण पाठेघरको समस्या झन विकराल हुँदै गएपछि जाँच गर्न आएको उनले बताइन । “एक पटक स्वास्थ्यचौकीमा गएँ, घोराहीको ठूलो सरकारी अस्पतालमा जानु भन्यो, गएँ” बेलीले सुनाइन, “पाठेघर खस्ने गथ्र्यो, लाज लाग्यो, सेतोपानी मात्र बग्छ भनेर रोग लुकाएँ ।”

सिस्नेखोलाकी सुनिता रोका पाठेघरको समस्या बोकेर शिविरमा आइन । १६ वर्षको उमेरमा विवाह गरेकी सुनिता अहिले २६ वर्षको उमेरमा दुई सन्तानको आमा भइसकेकी छन् । “महीनावारी समयमा हुन्न, सेतोपानी बग्ने, गनाउने पानी बग्ने भएर आएको ।” सुनिताले भनिन्, “डाक्टरले पाठेघरमा समस्या देखिएको छ, भनेकी छन् ।” पाठेघरको सङ्क्रमण भएपछि औषधि लिएर सुनिता घर फर्किसकेकी छन् ।

विवाह गरेर सन्तानको आमा भइसकेका युवतीदेखि उमेरले वृद्धावस्थामा पुगेका महिला पाठेघरको समस्याबाट पीडित रहेको डा पुष्पा डाँगीले बताइन । २८७ बिरामीको स्वास्थ्य जाँच गरिएको शिविरमा १०३ महिलाको पाठेघरमा समस्या देखिएको नेपाल परिवार नियोजन सङ्घका प्रबन्धक वसन्त खनालले जानकारी दिए ।

“नेपाल परिवार नियोजन सङ्घले विभिन्न निकायसँगको समन्वयमा स्वास्थ्य शिविरको आयोजना गर्छ । शिविरमा धेरैजसो महिला पाठेघरको समस्या लिएर आउनु हुन्छ ।” प्रबन्धक खनालले भने, “पाठेघरको समस्या नभएको त महिला नै छैन भने पनि हुन्छ गाउँमा ।” समस्या हुनु ठुलो कुरा नभए पनि समस्या लुकाएर बस्नु सबैभन्दा खतरनाक विषय भएको खनालले बताए । “सानो समस्या हुँदा लाज मान्ने र विकराल बनेपछि उपचार नै सम्भव नहुने समस्या छ ।”

सानै उमेरमा विवाह गर्ने, सानै उमेरमा सन्तान उत्पादन प्रक्रियामा भाग लिने, जन्मान्तर नहुने र धेरै बच्चा जन्माउने महिलामा पाठेघरको समस्या देखिने डा डाँगीले बताइन । शिविरमा आँखाका ९० बिरामी, दाँतका ४५, यौनरोगसम्बन्धी २२ र स्तनका दुई जना बिरामीको स्वास्थ्य जाँच गरिएको परिवार नियोजन सङ्घले बताएको छ ।

वडावासीको स्वास्थ्य अवस्था बुझ्न र निःशुल्क स्वास्थ्य जाँचका लागि शिविरको आयोजना गरिएको वडाध्यक्ष भीमबहादुर सार्कीले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *