पूर्वखोला गाँउपालिकाद्धारा चार वटा बर्थिङ सेन्टरलाई उपकरण हस्तान्तरण

पाल्पा, २७ पुस । ‘जिरो होम डेलिभरी’ अभियानमा लागेको पूर्वखोला गाँउपालिकाले ४ वटा वडाका बर्थिङ सेन्टरलाई सुत्केरी गराउन चाहिने अत्यावश्यक औजार तथा उपकरण उपलव्ध गराएको छ ।

गाँउपालिकाले वडा नं १ सिलुवा, वडा नं २ जल्पा, वडा नं ५ बीरकोट र वडा नं ६ हेक्लाङको बर्थिङ सेन्टरलाई सक्सन मेसिन, इलेक्टिक अक्सिजन मेसिन, डव्लर लगायतका औजार तथा उपकरण उपलव्ध गराएको हो ।

बिहीबार आयोजित कार्यक्रममा गाँउपालिकाका स्वास्थ्य उपप्रमुख मोहन ढकालले चारवटा वडाका बर्थिङ सेन्टर प्रतिनिधिलाई ती मेसिन हस्तान्तरण गराएका थिए । उनले बाँकी रहेका वडाहरु ३ नम्बर रिङनेरह र ४ नम्बर देवीनगरलाई पनि छिटै ती उपकरण उपलव्ध गराउने बताए । प्रति सेट १ लाख २० हजार बढी मूल्यका ती उपकरणहरु गाँउपालिकाले आफ्नै खर्चमा खरीद गरिएको हो ।

सीअहेव समेत रहेका स्वास्थ्य उपप्रमुख ढकालले संस्थागत सुत्केरी अभियानलाई थप मद्धत गर्न मेसिनहरु उपलव्ध गराएको बताए ।
त्यसो त गाँउपालिकाले सुरु गरेको संस्थागत सुत्केरी कार्यक्रम निकै प्रभावकारी बन्दै गएको छ ।

चालु आर्थिक बर्षको पछिल्लो विवरण अनुसार ९३ जना सुत्केरी भएकोमा ४ जना मात्रै घरमा सुत्केरी भएका छन् । ८९ जना स्वास्थ्य संस्थामा सुत्केरी भएका छन् ।

गाँउपालिकाका ३ नम्बर वडा रिङनेरह र ४ नम्बर वडा देविनगरमा सतप्रतिशत संस्थागत सुत्केरी भएको समेत ढकालले बताए ।

पूर्वखोला सबै वडामा बर्थिङसेन्टर सञ्चालनमा ल्याउने जिल्लाकै पहिलो गाँउपालिका हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *