दोस्रो सन्तान पनि छोरी जन्मे २५ हजार प्रोत्साहन भत्ता

विराटनगर, २४ पुस । बिराटनगर महानगरपालिकाले दोस्रो सन्तान पनि छोरी जन्माएका परिवारलाई २५ हजार प्रोत्साहन भत्ता उपलव्ध गराएको छ । महानगरपालिकाले पहिलो सन्तान छोरी जन्माउने दम्पत्तीलाई ३ हजार उपलव्ध गराउँदै आएको थियो ।

महानगरपालिकाले पहिलो नगरसभाबाट पहिलो सन्तान छोरी जन्माउने आमाहरुलाई छोरीको पोषणको लागि भन्दै ३ हजार दिँदै आएको हो ।

पहिलो सन्तान छोरी जन्मेपछि दोस्रो सन्तानको गर्भमै लिंग पहिचान गर्ने र छोरी भए भ्रुण हत्या गर्ने क्रम बढेपछि छोरी बचाउने अभियान अन्तरगर्त यस्तो कार्यक्रम ल्याइएको महानगरपालिकाले जनाएको छ ।

‘तीन महिना गर्भमा राखेपछि लिंग पहिचान गराउने र छोरी भए भ्रुण हत्या गर्ने क्रम बढेको थाह पायौँ त्यसलाई रोक्न यो कार्यक्रम ल्याईएको हो, उपमेयर इन्दिरा कार्कीले भनिन ।

महानगरपालिकाका मेयर भीम पराजुलीले पहिलो बर्ष ३ हजार दिएर कार्यक्रम शुरु गरिएकोमा दोश्रो बर्ष देखि दोश्रो सन्तान छोरी जन्माउने आमालाई २५ हजार छोरी वालिग नहुँदासम्म कसैले झिक्न नमिल्ने गरी बैंकमा जम्मा गरिएको बताए ।

यो रकम पाउन गर्भवतीको उमेर २० बर्ष नाघेको हुनुपर्ने र उनीहरुले कम्तीमा ४ पटक स्वास्थ्य परीक्षण गराएको हुनुपर्ने व्यवस्था छ । यो कार्यक्रमले आमाको संरक्षक रहने गरी खाता संचालन हुने र २५ हजार सो खातामा महानगरपालिकाले जम्मा गरिदिने गरी ग्लोवल आईएमई बैंकसँग सहकार्य भएको मेयरले जानकारी दिए ।

यसैबीच महानगरपालिकाले सोमबार सोमबार आयोजना गरेको प्रोत्साहन भत्ता वितरण कार्यक्रममा पहिलो सन्तान छोरी जन्माउने २२ जना र दोस्रो सन्तान पनि छोरी जन्माउने ४ जनालाई क्रमश ३ हजार र २५ हजारको दरले प्रोत्साहन भत्ता वितरण गरेको छ ।

महानगरपालिकाले पहिलो सन्तान जन्माउने दम्पत्तिलाई नगद रु तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई रु २५ हजार बैंकको अक्षय कोषमा जम्मा गरिदिएको हो ।

चालू आवमा यो कार्यक्रमका लागि रु १० लाख बजेट विनियोजन गरिएको छ । “छोरीलाई दहेज होइन, उच्च शिक्षा देऊ” भन्ने उद्देश्य लिएर यो कार्यक्रम प्रारम्भ गरिएको उपप्रमुख कार्कीले जानकारी दिए ।

दोस्रो छोरीको उमेर १८ वर्ष पुगेपछि अक्षय कोषमा जम्मा गरेको रकम झिक्न सक्ने गरी बच्चाका आमालाई संरक्षक बनाएर रकम जम्मा गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहालले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *