शिक्षा तथा स्वास्थ्य समितिको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ, २३ पुस । चिकित्सा शिक्षा विधेयकको विषयमा उपसमितिले दिएको प्रतिवेदनमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा अन्तरगर्तको शिक्षा तथा स्वास्थ्य समितिको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा आज मध्यान्न १३ बजे देखि बसेको बैठकमा हिजो उपसमितिले दिएको प्रतिवेदनबारे छलफल भएको थियो । तर प्रतिवेदनका बारेमा सत्ता पक्ष र प्रतिपक्ष सांसदहरु विभाजित भएका थिए । समितिका सभापति जयपुरी घर्तीले थप छलफल आवश्यक भएको भन्दै आइतबारसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।

त्यसअघि पूर्व स्वास्थ्य मन्त्रीसमेत भइसकेका समिति सदस्यद्धय खगराज अधिकारी, गगन थापा, अर्का सदस्य योगेश भट्टराई लगायतले बोलेका थिए । उनीहरुले उपसमितिको प्रतिवेदन र आजै विहान डा गोविन्द केसीले गरेको पत्रकार सम्मेलनमा केन्द्रीत रहेर आफ्ना धारणा अघि सारेका थिए ।

बैठकमा बोल्नेक्रममा अधिकारीले चिकित्सा शिक्षा विधेयकलाई सहमतिका आधारमा पास गर्नुपर्ने बताए । उनले विमतीका विषयमा सबैले लचकता अपनाएरै भएपनि यसलाई सबैको सहमति हुनुपर्ने बताए ।

सांसद गगन थापाले चिकित्सा शिक्षा विधेयक र डा गोविन्द केसीसंग भएका सम्झौँता अन्तरसम्बन्धित विषय भएको भन्दै सम्झौँता विपरीत हुने गरी विधेयक पास गर्नै नहुने बताएका थिए ।

अर्का सांसद योगेश भट्टराईले डा गोविन्द केसीको पत्रकार सम्मेलनमा दिएका अभिव्यक्तिबारे बोलेका थिए । उनले डा केसीले प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड, खगराज अधिकारी तथा आफू विरुद्ध दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका थिए । उनले हल्का अभिव्यक्ति दिएर डा केसी आफै स्खलित भएको बताएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *