स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले राजविराजमा ११ दिने स्वास्थ्य शिविर राख्दै

राजविराज १९ पुस ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी १ देखि ११ फागुनसम्म राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नेपाली सेनासंगको सहकार्यमा सञ्चालन गरिने उक्त शिविरमा सर्जरी समेत हुने बताइएको छ ।

शिविरको पूर्व तयारीका लागि अञ्चल अस्पतालको निरीक्षणमा पुगेका उपप्रधानमन्त्री यादवले शिविर सञ्चालनका लागि खटाइएका चिकित्सकमध्ये को–को आए र को–को आएनन् सोको सूची तयार गरी यथाशीघ्र मन्त्रालयमा विवरण बुझाउन र शिविर अवधिभर कुनै पनि तहका स्वास्थ्यकर्मीलाई बिदा नदिन अस्पताल प्रशासनलाई निर्देशन दिए ।

एघारदिने वृहत स्वास्थ्य शिविरमा सप्तरीका साथै सिरहा, सुनसरी र उदयपुरसम्मका बिरामीले उपचार सेवा पाउने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री यादवले शिविर सफल बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिए । सेना र स्वास्थ्य मन्त्रालय नै लागेपछि शिविरबाट स्तरीय स्वास्थ्य सेवा प्रदान हुनेमा आफु ढुक्क रहेको उनको भनाइ थियो ।

उपप्रधानमन्त्री यादवले निकट भविष्यमै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराजमा स्थापना हुनलागेको जानकारी दिँदै स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित नहोओन् भन्ने चाहनाका साथ सरकारले काम गरिरहेको दावी गरे ।

नेपाली सेनाका उपरथी डा. शशी राईले ११ दिने शिविरमा सेनाका विशेषज्ञ चिकित्सक खटिने र शिविरमा समान्यदेखि जटिल रोगको उपचार तथा शल्यक्रिया सेवासमेत प्रदान गरिने जानकारी दिए । शिविरमा विरामी जाँच, उपचार र औषधि सबै निःशुल्क प्रदान गरिने उनले बताए ।
अहिलेसम्मकै सबभन्दा ठूलो स्वास्थ्य शिविर नगरमा आयोजना हुनलागेकामा प्रशन्नता व्यक्त गर्दै नगरप्रमुख शम्भुप्रसाद यादवले शिविर सञ्चालनका लागि नगरपालिकाले पनि आफ्नो स्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सरकारले बनाउँछ प्रसूतिगृह
यसैबीच उपप्रधानमन्त्री यादवले राजविराजस्थित अञ्चल अस्पतालको हाताभित्र शुरु गरिएको प्रसूतिगृह भवन स्वास्थ्य मन्त्रालयले नै निर्माण गर्ने जिम्मा लिएको बताए ।

धेरै अघि देखि निर्माण सुरु भएर पनि पूर्ण हुन नसकेको उक्त भवन अब मन्त्रालयले नै बनाउने उनको तर्क थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *