स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई २ हजार ५ सय पोषण खर्च

पाल्पा ८ पुस । माथागढी गाउँपालिकाले स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलालाई सुत्केरी पोषण खर्च रकम प्रदान गर्दै आएको छ ।
मान्यताप्राप्त स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन प्रोत्साहन गराउन र गाउँपालिकालाई शून्य होमडेलीभरी बनाउन सुत्केरी पोषण खर्चवापत प्रतिव्यक्ति रु दुई हजार ५०० प्रदान गर्दै आएको हो ।

आव ०७४÷७५ को पहिलो गाउँसभाबाट पारित गरी सुत्केरी पोषण खर्च वितरण कार्य शुरुआत गरिएको हो । सोही अनुसार गत वर्ष २८० महिलालाई रु दुई हजार ५०० का दरले सुत्केरी पोषण खर्च वितरण गरिएको थियो ।

यस आर्थिक वर्षको साउनबाट हालसम्म ११४ जना सुत्केरी भइसकेका छन् । उनीहरुलाई २ हजार ५ सयका दरले खर्च रकम उपलव्ध गराएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले बताए ।

“संस्थागत सुत्केरी सेवालाई प्रोत्साहन गर्न र गाउँपालिकालाई शून्य होमडेलीभरी गाउँपालिका घोषणा गर्नका लागि यो कार्यक्रम सञ्चालन गरेका छौँ”, अध्यक्ष थापाले भने ।

यसवर्ष गाउँपालिकाले सुत्केरी पोषण खर्च कार्यक्रमअन्तर्गत रु आठ लाख ५० हजार रकम विनियोजन गरेको छ । गाउँपालिकाका आठ वडामध्ये सात वडामा मात्र स्वास्थ्यचौकी सञ्चालनमा रहेकाछ । तर गाँउपालिका ले स्वास्थ्य चौकी नभएको ५ नम्बर वडामा आफ्नै खर्चमा स्वास्थ्य चौकी सञ्चालनमा ल्याएको छ ।

गाउँपालिकाअन्तर्गतका वडा नं २ को रुप्से, ४ को झडेवा र ८ को बहादुरपुर स्वास्थ्यचौकीबाट सुत्केरी सेवा उपलव्ध छ । यस्तै वडा नं ३ र ८ मा तत्काल सुत्केरी सेवा सञ्चालमा ल्याउने तयारी भएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले सुत्केरी पोषण खर्च कार्यक्रम शुरुआत गर्न थालेपछि पछिल्लो समय स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुनेको सङ्ख्या बढ्न थालेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक यमबहादुर चिदीले बताए ।

वडा नं ३ को कसेनी प्रदेश नं ५ कै पहिलो शून्य होमडेलीभरी वडा घोषणा भइसकेको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शून्य होमडेरीभरी अभियानलाई जिल्लाका सबै स्वास्थ्य संस्थामार्फत अभियानका रुपमा सञ्चालन गरिरहेको छ ।

जिल्लामा हाल स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलाको दर ९६ प्रतिशत रहेको छ । अब चार प्रतिशत दरलाई शून्यमा पु¥याएर शून्य डोलीभरी जिल्ला घोषणा गर्ने जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

निकट भविष्यमा नै पाल्पालाई शून्य होमडेलीभरी जिल्लाका रुपमा घोषणा गर्ने गरी यस कार्यमा निरन्तर रुपमा स्वास्थ्यकर्मी लागेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *