आइसीयू चाहियो ? टेकु जानुस्

काठमाडौँ, ६ पुस । सरकारी अस्पतालमा बिरामीका लागि सघन उपचार कक्ष (आईसीयू) पाउनै कठिन छ तर टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा भने आईसीयू कक्ष प्रायः खाली रहने गरेको छ ।

यहाँको चारवटा आईसीयू कक्षमध्ये दुईवटामा भेन्टिलेटर जडान गरिएको छ । चारवटै आईसीयू सहज रूपमा सञ्चालित छन् तर जानकारीको अभाव भएर हुनसक्छ धेरै जसो समय खाली रहने गरेको छ ।

देशकै केन्द्रीय अस्पतालका रूपमा चिनिने वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत सरकारी अस्पतालमा आईसीयू पाउन असाध्यै कठिन छ । कतिपयले त आईसीयूको शैय्या पाउन उच्च तहका नेता तथा मन्त्रीबाटै फोन गराउने गर्छन् तर भन्ने बित्तिकै कहाँ पाइन्छ ? केही समय कुर्नैपर्ने हुन्छ तर टेकुस्थित सरुवा रोग अस्पतालको आईसीयूले भने बिरामीलाई कुरिरहेको छ ।

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले आईसीयूमा राख्ने बिरामी आउँदा अन्य सरकारी अस्पतालले निजी अस्पताल सिफारिस गर्ने गरिएको गुनासो गरे ।

यो वर्ष पोखरा, काठमाडौँको बालाजु तथा तराईका केही स्थानमा डेंङ्गुले प्रकोपको रूप लिएको जानकारी दिँदै उनले भने, “तीमध्ये कतिपय बिरामी आईसीयूमा राख्नुपर्ने अवस्थाका थिए तर निजी अस्पतालको आईसीयूमा पु¥याइए ।” देशका विभिन्न जिल्लाबाट आउने सरुवा रोगका बिरामीलाई वीर र शिक्षण अस्पतालमा आईसीयू नभएको अवस्थामा निजी क्षेत्रबाट सञ्चालित अस्पतालमा रिफर गर्ने गरिएको भन्दै निर्देशक डा. पाण्डेले टेकु अस्पताल रिफर गरिदिन आग्रह गरे ।

उपत्यका बाहिरबाट उपचारका लागि आएका बिरामी पनि सिधै निजी अस्पतालमा पुग्ने गरेका बताउँदै उनले भने, “निजी अस्पताल पुग्नुमा बिरामीको चाहना नभई रिफर गर्ने व्यक्तिको चाहना हो ।”

शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालकी आईसीयू इन्चार्ज उषा देवकोटाले कलाजार, डेङ्गू, सर्पले टोकेर गम्भीर अवस्थामा पुगेका बिरामीलाई आईसीयू राख्ने गरिएको जानकारी दिइन ।

यहाँ आईसीयू सञ्चालनका लागि एनेस्थेसिया चिकित्सक नहुँदा वीर अस्पतालबाट बोलाउने गरिएको छ । वीर अस्पतालसँंग सम्झौता गरेर एनेस्थेसिया चिकित्सकको खाँचो टार्ने गरिएको अस्पतालका निर्देशक डा. पाण्डेको भनाइ छ । उनले थपे, “आईसीयू भेन्टिलेटर चुस्त अवस्थामा रहे पनि एनेस्थेसिया चिकित्सकको अभाव खड्किएको छ ।”

  • गोरखापत्रमा सरोज ढुंगेलको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *