जानकी मेडिकल कलेजमा प्रवेश परीक्षाबिनै एमबीबीएसमा भर्ना, ३४ विद्यार्थीको परीक्षा रोकियो


काठमाडौँ, ४ पुस । जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएसमा भर्ना गरेको खुलेको छ । पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल नभएको पाइएको हो ।

एमबीबीएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आईओएमको प्रवेश परीक्षा उत्तीर्ण हुनैपर्ने प्रावधान छ । तर ती ३४ विद्यार्थीले प्रवेश परीक्षा नै दिएका छैनन् ।

कलेजले प्रक्रिया मिचेर उनीहरूको भर्ना लिएकोमा आईओएमले पुस ५ देखि हुने एमबीबीएस पहिलो वर्षको परीक्षाबाट वञ्चित गरेको छ ।

जानकी मेडिकल कलेजले एमबीबीएस प्रथम वर्षकोअन्तिम परीक्षाका लागि ८० विद्यार्थीको फर्म आईओएमलाई पठाएको थियो । ‘जानकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षमा ४६ विद्यार्थी अध्ययन गरिरहेको तथ्यांक मात्र हामीसँग छ,’ आईओएमका डिन डा. जगदीशप्रसाद अग्रवालले भने, ‘बाँकी विद्यार्थीलाई हामीले चिनेका छैनौं ।’

जानकी मेडिकल कलेजका कार्यकारी प्रमुख धनध्वज मल्ल ठकुरीले परीक्षाका लागि पठाइएका ८० विद्यार्थीको फर्ममध्ये ३४ जनाको अस्वीकृत भएको स्विकारे । कलेजको एमबीबीएसको यो १३ औं ब्याच हो ।

‘एमबीबीएसमा अध्ययनरत ३४ भारतीय विद्यार्थीको परीक्षा अन्योलमा परेको छ,’ कलेजका कार्यकारी प्रमुख ठकुरीले भने, ‘भारतीय विद्यार्थीलाई परीक्षामा सहभागी गराउन अदालतमा हालेको रिट पनि खारेज भएको छ । तर पनि उनीहरूलाई परीक्षामा सहभागी गराउने प्रयास भइरहेको छ ।’

आईओएमको प्रवेश परीक्षा नदिएर एमबीबीएसमा भर्ना भएका ३४ भारतीय विद्यार्थीलाई पहिलो वर्षको परीक्षामा सामेल गराउन कलेजले एउटा पुरानो नजिर टेक्दै उच्च अदालत, पाटनमा रिट दिएको थियो । तर, साताअघि अदालतले कलेजको रिट खारेज गरिदिएको छ ।

वीरगन्जको नेसनल मेडिकल कलेजले गत र यसवर्ष पनि भारतीय विद्यार्थीलाई परीक्षामा सहभागी गराउन उच्च अदालत, वीरगन्ज इजलासबाट स्टेअर्डर लिएको छ । नेसनल मेडिकल कलेजले भारतमा एमबीबीएसको क्वालिफाइङ परीक्षामा सामेल भएका विद्यार्थीलाई भर्ना लिएको दलिल अदालतमा पेस गरेको थियो ।

जानकी मेडिकल कलेजले परीक्षाबाट वञ्चित भारतीय विद्यार्थीलाई अघिल्लो सञ्चालक समितिले भर्ना लिएको दाबी गरेको छ । कर्मचारीको आन्दोलन र व्यवस्थापकीय किचलोले कलेज स्थापनाको १४ वर्षमा ६ सञ्चालक फेरिएका छन् । असारदेखि कलेजको एकल स्वामित्व ओपी पाण्डेले सम्हालेका छन् ।

भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, पञ्जाव, नयाँदिल्ली, गुजरात र राजस्थानका ३४ भारतीय विद्यार्थी मोटो रकम दिएर जानकी मेडिकल कलेज भर्ना भएका थिए ।

  • आजको कान्तिपुरमा सन्तोष सिंहको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *