महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बीमा प्रिमियम सरकारले तिर्ने तयारी

काठमडौँ, २७ मंसिर । महिला स्वास्थ्य स्वयं सेविकाको स्वास्थ्य बीमाको प्रिमियम सरकारबाट तिर्ने योजना अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातृ तथा शिशु मृत्युदर न्युनिकरणमा उल्लेख्य भूमिका खेलेका स्वयंसेविकाको परिवारको स्वास्थ्य बीमाको प्रिमियम सरकारले तिर्ने योजना अघि बढाएको हो ।

देशभर अहिले ५१ हजार ४२० जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् ।

गतसाता महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाईरहँदा उपप्रधान एवं स्वास्थ्य तथा जनंसंख्या मन्त्री उपेन्द्र यादवले स्वयं सेविकाले स्वास्थ्य क्षेत्रमा दिएको योगदानको चर्चा गर्दै सम्मान गर्ने बताएका थिए । सोही अनुसार मन्त्रालयले यो योजना अघि बढाउने निर्णय गरेको हो ।

‘यसलाई मन्त्रिपरिषदमा पठाउने विषयमा मन्त्रीस्तरीय निर्णय भइसकेको छ । अव अर्थ मन्त्रालयको स्वीकृति लिएर मन्त्रिपरिषद्मा पठाउने योजना छ,’ स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको निर्देशक  रोशनी लक्ष्मी तुई तुईले बताइन ।

‘देशभर ५१ हजार ४२० जना महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ । उहाँहरुको परिवारले बार्षिक रुपमा तिर्नुपर्ने बार्षिक प्रिमियम २ हजार ५ सय रुपैयाँ सरकारले तिर्ने योजना हो,’ तुई तुईले बताइन ।

‘सबै महिला स्वास्थ्य स्वयंसेविकाको प्रिमियम सरकारले तिर्नका लागि १२ करोड ८५ लाख ५० हजार रुपैयाँ खर्च हुन्छ । त्यसैले अर्थको सहमति लिएर फाइल अघि बढाउने तयारी भएको हो,’ तुई तुईले भनिन् ।

त्यसो त गतवर्ष पनि यो प्रस्ताव अघि बढाउने भनिएको थियो । तर त्यस बेलाको परिवार स्वास्थ्य महाशाखाले उठाएको प्रस्ताव अर्थले सहमति विभागबाट नै अघि बढ्न सकेको थिएन । यो पटक भने मन्त्रीस्तरीय निर्णय समेत भइसकेकोले प्रस्तावले मुर्तरुप पाउनेमा स्वास्थ्यका अधिकारीहरु विश्वस्त छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *