सचिव केदारबहादुर अधिकारीले स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाले

काठमाडौँ, २४ मंसिर । एक साता अघि प्रधानमन्त्री कार्यालयबाट सरुवा भएका सचिव केदारबहादुर अधिकारीले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगी जिम्मेवारी सम्हालेका छन् । विहान साढे ९ बजे मन्त्रालय पुगेर उनले आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।

तर, स्वास्थ्यमा प्रशासन समूहको सचिव पठाएको भन्दै चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघले विरोध गरेको छ । उसले सरकारलाई प्रशासन समूहका सचिव स्वास्थ्यमा पठाउने निर्णय फिर्ता लिन सरकारसंग माग गरेको छ ।

स्वास्थ्यकर्मीहरुकै अर्को ठूलो संस्था नेपाल नर्सिङ संघले भने सचिवको विषयमा यसपटक आफूहरु मौन रहने बताएको छ । ‘स्वास्थ्य समूहबाट भएका डाक्टर सचिव हुँदा पनि हाम्रा मागका विषयमा कुनै सुनुवाई भएन । बरु नर्सलाई होच्याउने काम भयो । त्यसैले हामीले डाक्टर नै हुनुपर्छ भन्ने पक्षमा छैनौँ । हामीले हाम्रो कामको आधारमा समर्थन र विरोध गर्ने हो,’ नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले बताइन ।

चिकित्सक संघले आज जारी गरेको विज्ञप्तीमा स्वास्थ्य सेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मी स्वास्थ्य सचिवमा नियुुक्त हुँदै आएकोमा हाल उक्त ऐनको भावना र मर्म विपरित गैर स्वास्थ्यकर्मीको स्वास्थ्य सचिवका रुपमा सरुवा गरिएको निर्णयबाट नेपाल चिकित्सक संघ स्तब्ध भएको उल्लेख छ ।

उसले २०७१ भदौ ८ मा सरकारसंग भएको सम्झौँता विपरीत प्रशासन समूहको सचिव आएको भन्दै विरोधका लागि तयार रहन स्वास्थ्यकर्मी तथा चिकित्सकहरुमाझ आग्रह गरेको छ ।

यता स्वास्थ्य सचिव अधिकारीले भने सरकारले खटाए अनुरुप जहाँ पनि जानुपर्ने भएकोले स्वास्थ्यमा पनि सोही अनुरुप आएको बताए । उनले अहिलेसम्म विरोधमा उत्रिने चेतावनी दिएका चिकित्सकहरुलाई समेटेर लैजाने प्रतिक्रिया दिए । ‘भर्खर आएको छु । चिकित्सक स्वास्थ्यकर्मी कसैसंग पनि कुरा कानी हुन पाएको छैन । अब विस्तारै उहाँहरुसंग छलफल गर्छु र सबैलाई समेटेर अघि बढछु । स्वास्थ्यको सुधारका लागि सबै एक जुट हुनुको विकल्प छैन,’ नेपाली हेल्थसंग छोटो प्रतिक्रिया दिए ।

यसअघि २८ असोजमा बसेको मन्त्रिपरिषदको बैठकले ४ बर्ष कार्यकाल बाँकी रहेकी स्वास्थ्य समूहकी सचिव डा पुष्पा चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तान्ने निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध सचिव डा चौधरी सर्बोच्च अदालत गएकी थिइन । सर्बोच्चले १७ कात्तिकमा सरकारका नाममा ‘स्टेअर्ड’ समेत जारी गरयो ।

सर्बोच्चको सो आदेशपछि सचिव डा चौधरी स्वास्थ्यमा त फर्किइन तर उनको सबै अधिकार खोसियो र प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेललाई निमित्त भएर काम गर्न दिइयो ।

पछिल्लो समय प्रशासन समूहबाट सचिव आएपछि डा. प्याकुरेले पुरानै अवस्था ( प्रमुख विशेषज्ञ)मा फर्किएका छन् । सचिव डा. चौधरी भने झनै अलमलमा परेको देखिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *