कस्मेटिक सामग्रीमा ज्यादै केमिकल

  • लिपस्टिकमा ७३% र स्किन क्रिममा ७०% सम्म हानिकारक रसायन
  • - नेपाली हेल्थ
    गुणस्तर तथा नापतौल विभागमा रसायन परीक्षण गरिँदै

    काठमाडौँ, २४ मंसिर । महिलाले दैनिकजसो प्रयोग गर्ने सौन्दर्य सामग्रीमा हानिकारक रसायनको मात्रा अत्यधिक पाइएको छ । गुणस्तर तथा नापतौल विभागले ६६ ब्रान्डका सौन्दर्य सामग्रीको परीक्षण गरी तयार पारेको प्रतिवेदनमा रसायनको मात्रा अधिक रहेको उल्लेख छ ।

    विभागले सबै ब्रान्डका स्वदेशी तथा आयातीत सौन्दर्य सामग्री परीक्षण गरेको थियो । त्यसक्रममा सिसा, मर्करी, क्रोमिएम, टिटानियमको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको हो ।

    विभागका केमिस्ट अम्बिका गैरेका अनुुसार राष्ट्रिय गुणस्तर नभएकाले परीक्षणका लागि भारत, अमेरिकाको यूएसएफडीए र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डलाई आधार बनाइएको थियो । ‘सौन्दर्य सामग्रीका लागि मापदण्ड नभए पनि प्रचलित विदेशी मापदण्डका आधारमा परीक्षण गरेका थियौं,’ उनले भनिन्, ‘लिपस्टिक र क्रिममा रसायनको मात्रा अत्यधिक छ ।’

    प्रतिवेदनअनुसार डब्लूएचओले स्किन क्रिममा मर्करीको मात्रा १ पीपीएम मात्रै तोकेको छ । विभागले परीक्षण गर्दा १३ हजार ९ सय ५४ पीपीएमसम्म भेटिएको छ । विभागले परीक्षण गरेकामध्ये लिपस्टिकका ७३ प्रतिशत नमुनामा र स्किन क्रिमका ७० प्रतिशत नमुनामा रसायन बढी पाइएको छ ।

    विभागले ३४ स्किन क्रिमको नमुना परीक्षण गरेको थियो । सिसाको मात्रा डब्लूएचओले अधिकतम १० पीपीएम, भारत र यूएसएफडीएले अधिकतम २० पीपीएमसम्म निर्धारण गरेका छन् । परीक्षण गरिएकामध्ये ३ वटा नमुनामा सिसाको मात्रा ७० पीपीएम पाइएको थियो ।

    मर्करीको मात्रा १ पीपीएम तोकिएको छ । परीक्षण क्रममा ३ वटा नमुनामा मर्करी १३ हजार ९ सय ५४।३ पीपीएमपाइएको छ । पाँचवटा क्रिममा क्रोमियमसमेत फेला परेको छ । यूएसएफडीएले क्रोमियमको मात्रा ५० पीपीएम निर्धारण गरेको छ ।

    विभागले परीक्षण गर्दा क्रोमियमको मात्रा ५३।२ पीपीएमसम्म पाइएको प्रतिवेदनमा छ । केमिस्ट गैरेका अनुसार प्रचलित ब्रान्ड पपया, लोटस, ओले, नेपाली ब्रान्ड सोनाटा, डेकोर, न्यु लुकलगायतमा मापदण्डभन्दा बढी रसायन पाइएको हो । ‘१ पीपीएम हुनुपर्नेमा करिब १४ हजार पीपीएमसम्म पाइएको छ,’ विभागका निर्देशक दीपक ज्ञवालीले भने, ‘यसले प्रजनन क्षमता घटाउनेदेखि शरीरको भित्री अंगमा असर गर्छ । अन्ततस् क्यान्सरसम्म हुन सक्छ ।’ विभागले १९ वटा लिपस्टिकको नमुना परीक्षण गरेको थियो । जसमध्ये एउटामा सिसाको मात्रा बढी देखिएको उल्लेख छ ।

    डब्लूएचओ, भारत र यूएसएफडीएले लिपस्टिकमा सिसाको मात्रा १० देखि २० पीपीएम हुनुपर्ने उल्लेख गरेका छन् । विभागले परीक्षण गर्दा ३५.४ पीपीएमसम्म फेला परेको छ । हेल्थ क्यानडाका अनुसार क्याडियम ३ पीपीएमसम्म मान्य हुन्छ ।

    ६ वटा नमुना परीक्षण क्रममा क्याडियम ४ सय २९ पीपीएमसम्म फेला परेको प्रतिवेदनमा उल्लेख छ ।

    पाँचवटा नमुनामा मर्करी १९६.६ पीपीएम पाइएको छ । डब्लूएचओ र यूएसएफडीएका अनुसार १ पीपीएमसम्म मात्रै उचित हुन्छ । सिन्दूरको ५ नमुना परीक्षण गरिएको थियो । सिन्दूरमा पनि सिसा, मर्करी, क्रोमियमको मात्रा उच्च पाइएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार सिसामा करिब २० भनिए पनि ८४३.९ पीपीएमसम्म फेला परेको छ ।

    बजारमा गुणस्तरहीन सौन्दर्य सामग्री छ्यापछ्याप्ती भेटिए पनि रोकथामका लागि कतैबाट प्रयास भएको छैन । बजारमा गुणस्तर कायम गर्ने, हस्तक्षेप, नियन्त्रण गर्ने दायित्व वाणिज्य आपूर्ति तथा उपभोक्ता सरक्षण विभाग र गुणस्तर विभागको हो ।

    आपूर्तिलाई मूल्य तथा गुणस्तरसम्बन्धी अनुगमन र कारबाही गर्ने अधिकार छ । यी निकायले यी सामग्रीको अनुगमन गरेका छैनन् । जसले गर्दा गलत नियतले काम गर्ने व्यवसायीले फाइदा उठाएको उपभोक्ता अधिकारकर्मी बताउँछन् ।

    ‘नक्कली तथा गुणस्तरहीन वस्तुकै मूल्य मनपरी छ । उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड हुँदा पनि राज्य संयन्त्रबाट अनुगमन र कारबाही नहुनु दुखद् हो,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले भने, ‘प्रतिकूल रासायनिक उत्पादन तथा बिक्री गर्ने व्यवसायीलाई तत्काल कडाभन्दा कडा सजाय हुनुपर्छ । स्वास्थ्यमा खेलबाड गर्नेको उत्पादन र आयातकर्तालाई रोक लगाउनुपर्छ ।’

    आपूर्ति विभागका महानिर्देशक योगेन्द्र गौचनले सौन्दर्य सामग्रीमा अनुगमन नगरेको स्विकारे । ‘हामीले अनुगमन गरेका छैनौं, गर्न सकिन्छ,’ उनले भने, ‘तर अनुगमन क्रममा गुणस्तर विभागकै निरीक्षक बोलाउनुपर्छ । सौन्दर्यको हकमा गुणस्तरकै दायित्व हो ।’

    • आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेको समाचार

    थप समाचार

    Loading...

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *