दुई सचिवको व्यवस्थापन यसरी गर्दैछ स्वास्थ्य मन्त्रालय

काठमाडौँ, २३ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भोलि (सोमबार)बाट दुई जना सचिव रहने भएका छन् । सरकारको सरुवा गर्ने निर्णय विरुद्ध गत १७ कात्तिकमा सर्बोच्च अदालतबाट अन्तरिम आदेश लिएर फर्किएकी सचिव डा पुष्पा चौधरी र गत सोमबारको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री कार्यालयबाट स्वास्थ्यमा सरुवा भएका केदारबहादुर अधिकारी ।

सर्बोच्चको आदेशले डा. चौधरी पुन स्वास्थ्यमा फर्किएपछि उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेललाई आर्थिक अधिकार सहित निमित्त सचिवको जिम्मेवारी दिएका थिए । अधिकारीलाई सचिवको रुपमा स्वास्थ्यमा पठाएपछि डा प्याकुरेल पहिले जसरी नै प्रमुख विशेषज्ञको रुपमा फर्किने छन् ।

डा.चौधरीले पनि यसअघि देखिनै जिम्मेवारी नपाएकोले उनको लागि खासै अनौठो पनि हुनेछैन । तर मन्त्रालयका अधिकारीहरुको टाउको दुखाई सचिवको कार्यकक्ष कहाँ बनाउने भन्ने हो ।

अदालतले पुरानै जिम्मेवारीमा पठाएको भन्दै सचिव डा. चौधरीले सचिवको कार्यकक्ष छाडेकी छैनन् । डा. प्याकुरेलले प्रमुख विशेषज्ञको रुपमा जहाँ रहेका थिए त्यहिबाट निमित्तको कार्यभार सम्हाल्दै आएका थिए । अब अर्को सचिव आएपछि थप कार्यकक्ष चाहिने भएको छ ।

यसैबीच स्वास्थ्यका अधिकारीहरुले डा. चौधरी बसिरहेको सचिवको कार्यकक्ष नयाँ सचिव अधिकारीलाई उपलव्ध गराउने र डा चौधरीलाई पहिले जनसंख्या महाशाखा रहेको हल पछाडीको भवनको सहसचिव बस्ने कार्यकक्ष उपलव्ध गराउने तयारी गरेको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले नयाँ सचिव अधिकारीलाई अहिले सचिव बसेको कार्यकक्ष र डा. चौधरीलाई जनसंख्या महाशाखा तर्फको कार्यकक्ष तयारी गरेको बताए ।

यता डा. चौधरीले भने सहसचिव बस्ने कोठामा आफू बस्न अनिच्छा प्रकट गरेको स्रोतले बतायो । ‘उहाँले पहिले जनसंख्या सचिव बस्ने कोठा (अहिले डा. प्याकुरेल रहेको कक्ष) सम्म भए हुन्थ्यो भन्नु भएको छ । तर डा. प्याकुरेललाई अन्त कहाँ जान भन्ने ?,’ स्रोतले भन्यो ।

स्वास्थ्यमा सरुवा भएका सचिव अधिकारीले आफूले आज चिठी बुझे पनि रमाना लगायतका केही कागजी प्रक्रियामा ढिलाई भएकोले जान नभ्याएको बताए । ‘सम्भवत भोलि १० बजे पुगेर हाजिर हुन्छु,’ अधिकारीले भने ।

प्रशासन समूहको भनेर चिकित्सकहरुले विरोध गर्ने हुन् कि भन्ने प्रश्नमा सचिव अधिकारीले आफू सरकारले खटाएकैले स्वास्थ्यमा आएको भन्दै यसमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए । ‘राष्ट्रसेवक कर्मचारीलाई सरकारले जता पनि पठाउन सक्छ । त्यहि अनुसार स्वास्थ्यमा आएको हु । यो मैले चाहेर हुने होइन । सरकारको कुरा हो,’ अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *