‘यस कारण सम्भव छ जुम्लामा एमबीबीएस’

डा. पूजनकुमार रोकाया / डा. भुमेश काफ्ले

 

‘भावनामा बहकिएर हुँदैन जुम्लामा एमबीबीएस कार्यक्रम चल्दैन् शीर्षकमा दुई दिन अघि नेपाली हेल्थमा प्रकाशित एक जना डाक्टरको लेख (जो अस्पताल सञ्चालक समेत हुनुहुँदो रहेछ) पढ्न पाइयो । उहाँको तर्क पढियो । काठमाडौँले कर्णालीलाई हेर्ने दृष्टिकोण समेत लगभग बुझियो ।

तर,  विगत जस्तो त्यति दुर्गम नै पनि होइन कर्णाली । असम्भव त झन् हुँदै होइन कर्णाली । भावनामा बहकिएर होइन कारण सहित हामी पनि दावी गर्छौ ‘सम्भव छ जुम्लामा एमबीबीएस !’

यतिवेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ महाविद्यालय अन्तर्गत स्टाफ नर्स, ब्याचलर अफ मिडवाइफ्रि, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ, एनेस्थेसिया असिस्टेन्ट लगायतका विषयको अध्ययन अध्यापन गराईरहेको छ । यस्तै मेडिकल कलेज, र एलाइड कलेज संचालनमा ल्याउने तयारी अन्तिम अन्तिममा पुर्याएको छ ।

त्यसैले त जुम्लाको विकट गाँउ मानिने ताम्ति – ७, की चन्दाकुमारी शाही कर्णालीमै डाक्टरी पढ्ने सोच बनाएर बसेकी छन् । एसइईमा राम्रो अङ्क ल्याएर उर्तीण भएकी उनी अहिले चन्दननाथ माविमा विज्ञान विषय लिएर कक्षा ११ पढ्दै छिन् ।

उता स्वास्थ्य चौकी छुमचौरमा हेल्थ असिस्टेन्डको रुपमा कार्यरत चितवनका प्रकाश सापकोटा पनि जुम्लामा डाक्टरी पढ्ने योजनाका साथ अघि बढेका छन् । दुर्गमका स्वास्थ्य चौकीमा वसेर काम गरिरहेकाले दुर्गम ठाँउमा  डाक्टरको आवश्यकता कति रहेछ भन्ने बुझेर आफू यो योजनामा लागेको बताउने गरेका छन् । उनले अहिले  जुम्लामै एमबीबीएस पढ्ने भन्दै विज्ञान विषय लिएर कक्षा १२मा अध्ययन गरिरहेका छन् ।

शाही र सापकोटा मात्रै होइन प्रतिष्ठानले जुम्लामै एमबीबीएस कार्यक्रम सञ्चालन गर्न आटेको भन्दै उनी जस्ता थुप्रै विद्यार्थीहरु त्यसको तयारीमा लागि सकेका छन् ।

किन सम्भव छ जुम्ला ?

अलि पहिलेको कुरा गरौँ, अञ्चल अस्पताल त थियो तर डाक्टर देख्न मुस्किल । विस्तारै फाट्टफुट्ट रुपमा डाक्टर आउन थाले तर उपचारका लागि आवश्यक उपकरणको अप्रयाप्तता ।

यहि बास्तविकताका बीच सरकारले २०६८ साल कात्तिकमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरयो । त्यसको एक बर्षपछि अर्थात २३ कात्तिक २०६९ देखि प्रतिष्ठानले एक जना विशेषज्ञ सहित ५ जना मेडिकल अधिकृतलाई जुम्ला ल्याएर कर्णाली अञ्चल अस्पतालबाट सेवा शुरु गरयो । त्यसको एक बर्ष नपुग्दै २०७० साल श्रावण महिनामा कर्णाली अञ्चल अस्पताल प्रतिष्ठानमा गाभियो ।त्यस लगत्तै प्रतिष्ठानले १०० शैय्याको अस्पताल सञ्चालनमा ल्यायो । अहिले स्तरबृद्धि भएर ३०० शैय्यामा चलेको छ ।

प्रतिष्ठानमा हाल विशेषज्ञ सहित ४५ जना चिकित्सकले सेवा दिदै आउनु भएको छ । थप जनशक्ति ल्याउने कार्यमा प्रतिष्ठान लागि परेको छ । यो पनि जानकारी दिउँ कि प्रतिष्ठानले जुम्लाका लागि विशेषज्ञ चिकित्सकको आवेदन माग गर्दा अहिले १५० जना विशेषज्ञ चिकित्सकहरुले आवेदन दिएका छन् ।

त्यसो त प्रतिष्ठान आफैले पनि एमबीबीएस पछि विशेषज्ञता हासिल गर्न आफ्नै खर्चमा डाक्टरहरुलाई पढाउँदै आएको छ । पछिल्लो पटक ५ जना डाक्टरले सो अवसर पाएका छन् ।

यी माथिका दृष्टान्तले के देखाउँछ भने, यहाँ असम्भव भन्ने कुरा छैन् । जुम्ला जस्तो ठाँउमा को जान्छ र ? भन्दै गर्दा माथिको विवरणले जवाफ दिइसकेको छ भन्ने हामीले महसुस गरेका छौँ । केही बर्षकै अन्तरालमा यति छिटो परिवर्तन हुन्छ भने असम्भव के छ ?

रहयो कुरा विरामी संख्याको,

आर्थिक वर्ष २०७४/०७५ मा मात्रै ओपीडीमा आउने विरामीको संख्या ३९ हजार ९४२ थियो । ४ हजार ३४७ जना आकस्मिक उपचारमा आएका थिए । २ हजार ५९१ जना भर्ना भए । ४६९ जनाको मेजर शल्यक्रिया भयो । २४३३ जनाको माइनर सर्जरी भयो । ५७२ जनाको नर्मल डेलिभरी र १०२ जनाको सिजेरियन सेक्सन । र यी संख्याहरु हरेक बर्ष बढ्दो क्रममा छ ।

अघिल्लो लेखमा सम्भव नहुने कारणमा जुम्लाको मौसम पनि उल्लेख गरिएको थियो । तुलनात्मक रुपमा जुम्ला अवश्य चिसो छ । तर यस्तो मौसममा शल्यक्रिया गर्न झनै उपयुक्त मानिन्छ । किनकी शल्यक्रियाका घाउहरु चिसोमा चाँडै निको हुन्छ । जुम्लाले यहि मौसमको लाभ लिने छ । छिटो घाउ निको हुने भएपछि शल्यक्रियाका लागि बाहिरबाट समेत विरामी आउने हाम्रो दावा छ ।

उपचारकै कुरा गरौँ अहिले जुम्लामा हड्डी सम्बन्धिका सवै जटिल शल्यक्रिया, ल्याप्रोटोमी पेट चिर्नेे, एपेन्डीसाइटीस, सिजेरोएन बच्चा निकाल्ने शल्यक्रिया हुन्छ । यो पनि भनौँ, जुम्लामा बच्चा अडकिएर आमा मर्ने कुरा सामान्य मानिथ्यो तर प्रतिष्ठानले सेवा सञ्चालन गरेयता यसरी एक जना पनि सुत्केरीको यसरी ज्यान गएको छैन । प्रतिष्ठानले जुम्लामा सेवा गर्न थालेबाट मातृमुत्युदर घटेको छ भने नवजात शिशु बाल मृत्युदर पनि घटेको छ । त्यसैले हामी भन्छौँ जुम्लामा सम्भव छ ।

यसरी पढाई हुन्छ जुम्लामा
प्रतिष्ठान पिछडिएको क्षेत्रका लागि स्थापना भएकोले एमबीबीएस अध्ययनका लागि ४५ प्रतिशत कोटा पिछडिएको क्षेत्रलाई आरक्षण हुनेछ । कुल विद्यार्थीको २० प्रतिशत विद्यार्थीले निःशुल्क छात्रबृतिमा पढ्न पाउने छन् भने २० प्रतिशतले आशिंक छात्रबृति पाउने छन् ।

अहिले स्टाफनर्स, एच.ए, स्नातक मिडवाफ्री बिषयमा विद्यार्थीले पढिरहेका छन् भने स्नातक तह पब्लिक हेल्थ बिषयमा आवेदन फारम संकलन गरिरहेको छ ।

हालै मात्रै नेपाल मेडिकल काउन्सिलले एमडीजीपी बिषयको अध्ययनका सम्भाब्यता अध्ययन गरेको छ । र, अध्ययनका लागि आएका टोलीले जुम्ला आफूहरुले सोचेको भन्दा धेरै गुणा माथि पाएको बताएका थिए ।

कर्णालीमा यति ठूलो अस्पताल आवश्यक छैन, अस्पतालमा विरामीनै हुदैनन्, अस्पताल वनाउनु हुदैन भन्ने गरिए पनि अहिले अस्पतालमा देखिने विरामीको घुइचोले सवै कुरा छर्लङ पारिदिएको छ । कर्णालीमा यति ठूलो संस्थाको स्थापना हुनु र ३०० शैयाको अस्पताल संचालनमा आउनु यो पिछडिएको क्षेत्रेको स्वास्थ्य शिक्षाको समग्र विकासको कोशेढुङ्गा नै हो ।

जुम्लाले पिछडिएको क्षेत्रमा पनि मेडिकल कलेज सम्भव छ भन्ने शहर केन्द्रीत सोच भएका व्यक्तिलाई देखाउन चाहेको छ । त्यसैले मेडिकल काउन्सिले पनि पिछडिएको क्षेत्रमा मेडिकल कलेज संचालनका लागि विशेष खालको मापदण्ड निर्माण गर्नुपर्छ । किनभने सबैले पुरातन सोच हटाउन जरुरी छ ।

जुम्ला जाउ डाक्टर वन जुम्ला जाउ स्वस्थ्य वन भन्ने उद्देश्य राखेर अघि बढे जुम्लामा एमबीबीएस सञ्चालन सम्भव छ ।

यो पनि नबिर्सौ ……………………………

जुम्लीहरुको औषत आयु अहिले पनि ३६ वर्ष मात्रै छ । तर यहा“ ९५ वर्ष सम्म वाचेका मानिसहरु पनि छन् । प्रतिष्ठानले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षाका साथै स्वास्थ्यमा अनुसन्धान समेत थालेको छ ।

कर्णालीका ५५ हजार घरपरिवारको स्वास्थ्य सर्भेक्षण गर्ने लक्ष्य अनुरुप जुम्ला, मुगु र कालिकोट जिल्लाको स्वास्थय सर्भेक्षण गरि सकेको छ भने अव अन्य जिल्लाहरुको पनि स्वास्थ्य सर्भेक्षणको तयारी गरिरहेको छ ।

५ वटै जिल्लाको स्वास्थ्य सर्भेक्षण गरिसकेपछि कर्णालीको स्वास्थ्यको तथ्याङ्क सार्वजनिक गर्ने तयारी प्रतिष्ठानले गरेको छ । तत् पश्चात अन्य ८ जिल्लाहरुमा पनि स्वास्थ्य सर्भेक्षण कार्य गर्ने बताईएको छ ।

प्रतिष्ठानले नेपाल सरकारका प्राधमिकतामा रहेको सि.ई.व.एन.सि कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, क्षयरोग, खोप कार्यक्रमपनि प्रतिष्ठानले संचालन गरिहेको छ । भने नेपाल सरकारले वितरण गर्ने ७२ प्रकारका निःशुल्क औषधि समेत वितरण गरिरहेको छ ।

सामान्य उपचार गराउन, हात भाचिए पलाष्टर गर्न, एक्सरे गर्न लगायत सामान्य अवस्थामा पनि महंगो हवाई यात्रा गरेर जिल्ला वाहिरका अस्पतालमा जानु पर्दथ्यो तर अहिले जटिल शल्यक्रिया समेत जुम्लामै भैरहेको छ ।

र, अन्तमा ………………………………….
अहिले प्रतिष्ठानले महिनामा दुई पटक कालिकोटमा र एक पटक मुगुमा विशेषज्ञ सेवा दिन थालेको छ । डोल्पामा एकजना विशेषज्ञ एमडीजीपी पठाएर सेवा विस्तार गरेको छ । यस्तै पश्चिम रुकुममा र जुम्लाको सिंजामा पनि प्रतिष्ठानका चिकित्सक गएर सेवा दिई राख्नुभएको छ ।

मेडिकल कलेजका लागि जुम्लामा विरामीको संख्या कम हुन्छ भन्ने कुरा अव लागू हुँदैन । किनभने जुम्लाले कर्णालीको ५ वटा जिल्लाहरु सहित बझाङ, बाजुरा, दैलेख, सल्यान जाजरकोटमा समेत सेवा विस्तार गर्ने क्रममा छ । यी सबै विरामी प्रतिष्ठानको लिष्टमा पर्नुहुन्छ ।

र, सबैभन्दा महत्वपूर्ण कुरा जुम्लाले अहिले आफ्नो ४ जना चिकित्सकलाई सुर्खेतमा सेवा गर्न खटाएको छ । त्यसैले सुर्खेतलाई जुम्लासंग तुलना गर्नुको तुक छैन ।

# डा. रोकाया र डा.काफ्ले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “‘यस कारण सम्भव छ जुम्लामा एमबीबीएस’

  1. tarka ramro chha. jun data dekhaiyeko chha, tesako lagi gata barsa 58 karod kharcha gareko chha. yati sewa 10 karod kharchama huna sakla. banki 48 karod le kota kinera padhayeko bhaye karnalika 100 jana fee r khana kaharcha diyera padhauna sakine thiyo kina 20% matra free ????
    sarakar ko lagani pani janatako nai ho tulanatmak phaida herer sipkaris garda ramro hola.

  2. This article strongly slaps the jaundice eyed doctor who had discouraged the great karnali project.I wish,this academy should be best in the nation and specific in the south Asia.

Leave a Reply to kashi Rimal Cancel reply

Your email address will not be published. Required fields are marked *