चिकित्सकीय लापरवाही : भ्रम कि वास्तविकता ?

- नेपाली हेल्थ

कुनै पनि विषय वा घटनालाई कसरी प्रस्तुत गरिन्छ भन्ने कुराले नै त्यसको बारेमा धेरैको धारणा कस्तो बन्छ भन्ने कुराको निर्धारण गर्छ। सहि कुरालाई पनि गलत तरिकाले प्रस्तुत गरिए त्यो गलत लाग्छ र गलत कुरालाई नि सहि रुपमा भनिए त्यो सहि लाग्छ। त्यसैले ‘जनमानसमा असर गर्ने, समाजको धारणा बनाउन महत्वपूर्ण भूमिका खेल्ने मिडियामा स्वास्थ्य जस्तो संवेदनशील कुराको विषयमा लेख आउँदा त्यो सम्बन्धी बुझेका, पढेका व्यक्तीहरुको विचार र वैज्ञानिक आधार सहित लेखिनुपर्छ,’ यसो भनेर भन्न थालेको पनि वर्षौं बितिसक्यो।

हुन त थोरै थोरै सुधारका लक्षण नदेखिएका हैनन्, सुधार हुदैंछ तर धेरै सुध्रन बाँकी छ । हरेक क्षेत्र सुध्रन पर्ने छ, हामी पनि सुध्रन बाँकी छ।

हिजो बिहान एउटा समाचार आयो  “बिरामीलाई २० लाख क्षतिपूर्ति दिन निजामती अस्पताललाई निर्देशन” शीर्षकमा ।

समाचारमा भनिएको थियो:

‘लडेर घाइते भएका बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मस्तिष्कघात भएको भन्दै’

‘गलत औषधि मिडाजोलामको प्रयोग गरिएको दाबी’

‘शरीरमा मदिराको नशा रहेका वेला सो औषधि सेवन गराई सिटिस्क्यान गर्दा उनलाई मस्तिष्कघात भएको उनको परिवारको दाबी’

‘दोब्बर मात्रामा मिडाजोलम औषधि प्रयोग गरिएको पीडित पक्षको दावी’

‘क्षतिपूर्ती समितीले निजामती अस्पताल, अस्पतालको निर्देशक, इमर्जेन्सी विभागका प्रमुख र अर्का डाक्टरलाई क्षतिपूर्ती तिर्न लगाउनु भनी निर्णय गरेको थियो, जसलाई पछी उच्च अदालतको निर्णयले फेरिदिएको’

उच्च अदालतको फैसलामा भनिएको छ, ‘आकस्मिक कक्षमा नाजुक अवस्थामा आएको बिरामीलाई अत्यन्त तदारुकताका साथ व्यवस्था मिलाई उपचार गर्ने क्रममा चिकित्सकहरूको सामान्य मानवीय कमजोरी भएको देखिएकाले व्यक्तिगत रूपमा जिम्मेवार ठहर्याइएको जिल्ला क्षतिपूर्ति समितिको निर्णय मिलेको नदेखिँदा केहि परिवर्तन भई संस्थागत जवाफदेही वहन गर्नुपर्ने गरी परिवर्तन गरी दिएको छ।’

यो घटना केही वर्ष अघी निजामती अस्पतालमा भएको रहेछ, जसको बारेमा एक जना मेडिकल डाक्टर (जो विरामीका आफन्त पनि हुन्) ले DSON फेसबुकको ग्रुपमा पनि लेखेका रहेछन्। छलफलको क्रममा त्यो पोस्ट फेरी हेरियो, जसको विवरण लगभग यस्तो थियो।

रक्सी सेवन पछी लडेर टाउकोमा चोट लागेको विरामीको सिटि स्क्यान गर्नको लागि शान्त अवस्थामा राख्न ‘मिडाजोलम’ औषधी दिइयो। जुन औषधीले विरामीलाई शान्त राख्ने, सुताउने काम त गर्छ तर कैलेकाई स्वासप्रश्वास बन्द हुने, मुटुको धड्कन बन्द हुने गरि साइड इफेक्ट पनि देखिनसक्छ। यो विरामीमा पनि यस्तै देखियो। तर ‘ मिडाजोलाम’ चलाइएको विरामीसँग साथमा इमर्जेन्सीका स्वास्थ्यकर्मी थिएनन् र ढिलोगरी सीपीआर ‘मुटु बन्द हुँदा छाती थिच्ने, कृत्रिम सास दिने प्रकृया’ शुरु भयो, जसका कारण उनको मस्तिष्कमा रगत र अक्सिजनको कमिले नराम्रो असर (Anoxic Brain Injury) गर्‍यो । र, मुखबाट पाइप हाली बाहिरी कृत्रिम सास दिएर अर्को अस्पताल रिफर गरियो।

यी दुई एकै घटनालाई दुई फरक व्यक्तीले लेखेका हुन्। भएको घटना एउटै हो तर पहिलो पढ्दा यो त लापरवाही नहुनु पर्ने, कसरी यस्तो निर्णय गर्‍यो ?, यसरी क्षतिपूर्ती तिर्दै कसरी उपचार गर्न सकिन्छ ?, मेडिकल काउन्सिलले के हेरेर बसेको छ भन्ने प्रश्न मनमा उठेका थिए। तर दोस्रो वर्णन, जुन एक मेडिकल डाक्टरले लेखेका थिए, पढ्दा घटनाको समाचारमा नखुलेको अर्को पाटो पनि देखियो, जुन वास्तवमा लापरवाही हुनजान्छ।

‘मिडाजोलाम’ गलत औषधि हो ?

सामान्य अवस्थामा सिटी स्क्यान, एम आर आइ जस्ता जाँचहरु गर्दा राम्रो जाँच गर्न सकियोस् भन्ने उद्देश्यले विरामीलाई शान्त राख्नको लागि प्रयोग गरिने औषधीहरुमा एक ‘मिडाजोलाम’ पनि हो। यसको एउटा ‘साइड इफेक्ट’ भनेको मस्तिष्कलाई सुस्त बनाउने र कहिले काँही श्वासप्रश्वास नै बन्द गराउने पनि हुनसक्छ।

रक्सी र ‘मिडाजोलाम’ दुवैले बेहोसीपना ल्याउने भएकोले रक्सी सेवन गरेको विरामीमा यो प्रयोग गर्दा यसको ‘साइड इफेक्ट’ देखिने खतरा झन बढेर जान्छ। त्यसैले अन्य राम्रा विकल्पका औषधीहरु नभएको अवस्थामा बाहेक यो प्रयोग नगर्नु भनेर भनिन्छ। साथै यसको ‘साइड इफेक्ट’को लागि आफ्नो ठाउँ अनुसारको सक्दो पूर्व तयारी गरेर मात्र यो औषधी चलाऊनुपर्छ।

यदी यो सबै बुझेर, यस्तो अवस्था आएर नै उक्त विरामीलाई शान्त बनाउन ‘मिडाजोलाम’ औषधी दिईएको थियो भने त्यसलाई लापरवाही मान्न मिल्दैन। तर त्यो चलाऊने भएपछी त्यसबाट आउनसक्ने ‘साइडइफेक्ट’का लागि सक्दो पूर्व तयारी पनि गरेको हुनुपर्छ।

लापरवाही के हो त ?

मिडाजोलाम’ जस्तो औषधी चलाएपछी विरामीलाई विना कोहि तालिम प्राप्त स्वास्थ्यकर्मी सिटिस्क्यानमा पठाइएको हो भने त्यो लापरवाही हो। ‘सिटि स्क्यान’ गरिने ठाँउ, रेडियोलोजी डिपार्टमेन्टमा इमर्जेन्सी पर्दा प्रयोग गर्न अक्सिजन, औषधी, सामाग्रीको व्यवस्था नभएको भए त्यो लापरवाही हो।

कुनै पनि उपचार पद्दती अपनाउदा उपलब्ध साधनस्रोत, जनशक्ति अनुसारको पर्याप्त सावधानी अपनाइएको थियो वा थिएन, कुनै पनि स्वास्थ्यकर्मीले सामान्यतया उसको स्तरको स्वास्थ्यकर्मीबाट आशा गरिने स्तरको सीप, ज्ञान र व्यवहार देखायो कि देखाएन भन्ने आधारमा लापरवाही भएको हो हैन भन्नुपर्ने हुन्छ।

अर्को प्रश्न उठ्न सक्छ, के यस्तो खाले अन्तर्राष्ट्रिय स्तरको सावधानी अपनाउन हाम्रो देशमा सम्भव छ ? के अन्तराष्ट्रिय स्तरका मापदण्डहरुको आधारमा मात्रै हाम्रो देशमा भएका ‘केस’हरुलाई लापरवाही हो हैन भनेर भन्न मिल्छ ?

– सधैं सबै ठाँउमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिन चाहेर पनि सम्भव छैन। के सबै अप्रेशन गर्ने अस्पतालमा भेन्टिलेटर, आइसीयुको व्यवस्था छ त ? के सबै आइसीयु, इमर्जेन्सीमा काम गर्ने डाक्टर, नर्सहरु इमर्जेन्सी उपचार गर्न तालिमप्राप्त छन् तरु के हाम्रा सबै अस्पतालमा अन्तर्राष्ट्रिय मान्यता अनुसारको डाक्टर र विरामीको अनुपात, नर्स र विरामीको अनुपात मिलेको छ त ?

अन्तर्राष्ट्रिय स्तरको सेवाको आस गर्दैगर्दा के अस्पताल प्रशासनले, सरकारी अस्पतालमा सरकारी विभागहरुले ती अस्पतालमा कति स्वास्थ्यकर्मी चाहिने हो र कतिले कसरी काम गरिरहेका छन् हेरेको छ ? २४ घण्टे, ३० घण्टे ड्युटी गर्ने डाक्टरले के राम्रो सेवा दिन सक्छ ? न्युन तलबमा काम गरिरहेका डाक्टर, नर्स लगायतका स्वास्थ्यकर्मीहरुबाट स्तरिय सेवाको आस गर्न सकिन्छ ? स्तरहिन मेडिकल कलेजबाट निस्केका डाक्टर, च्याउसरी खुलेका नर्सिङ कलेज, पारामेडिकल कलेजहरुबाट हावैहावामा पास भएका स्वास्थ्यकर्मीबाट के स्तरिय सेवा आस गर्न सकिन्छ ? यो त खुर्सानीको बोट रोपेर केरा फल्छ कि भनेर आस गरे झैं भयो नि होइन र ? यसरी खोतल्दै जाने हो भने समस्या हरेक लेभलमा छ। दोष डाक्टर र स्वास्थ्यकर्मीलाई मात्र लगाएर कसैको रिस त मर्ला तर अवस्था सुधार हुनेवाला छैन। 

तर त्यो भनेर अवस्था अनुसार देखाउनुपर्ने र देखाउन सकिने संवेदनशीलता पनि देखाउन नखोज्ने र हरेक नराम्रो परिणामलाई ‘मेडिकल कम्लिकेसन’को नामको पर्दा हाल्दै बस्न पनि मिल्दैन। यस्तो बहानामा लापरवाही भएका घटना पनि धेरै भेटिन्छन्। त्यसैले कुनै पनि घटनामा कसैको लापरवाही भन्नुभन्दा अघि सो अवस्थाको सम्पूर्ण जानकारी लिएर त्यसै सम्बन्धी विज्ञ र अनुभवीहरुको टोलीले विश्लेषण गर्नुपर्छ।त्यसमा कुनै एक जना स्वास्थ्यकर्मीको मात्रै लापरवाही थियो कि सम्पूर्ण अस्पतालको प्रणालीको नै खराबी थियो भनेर नि खोतलिनुपर्छ। हाम्रा लगभग सबै अस्पतालहरुमा उपचार गर्ने पद्दतीको प्रोटोकल बनाउने, सबैले त्यो अनुसार काम गर्ने चलन नै छैन। आफ्ना स्टाफहरु आइपर्ने इमर्जेन्सी अवस्थाको व्यवस्थापनको लागि तालिम प्राप्त छन् छैनन्, स्टाफ नै पर्याप्त छन् कि छैनन्, अस्पतालमा सबै खाले इमर्जेन्सी व्यवस्थापनको लागि सामाग्री, औषधी उपलब्ध छ छैन, यी कुराहरु अनुगमन गर्ने, व्यवस्थापन गर्ने चलनै छैन। धेरै अस्पताल आआफ्नै तरिकाले चलेका छन्। 

मूख्य विषय भनेको हामी सुधारको बाटोमा लागेका छौं कि छैनौं भन्ने हो। के यो घटना भएपछी निजामती अस्पतालले ‘अब त्यस्तो घटना नदोहोरियोस्’ भनेर सुधारका लागि आवश्यक कार्य गर्‍यो  त ? यो प्रश्नको उत्तर महत्वपूर्ण हो। के अहिलेसम्म लापरवाही भयो भनेर मुद्दा हालिएका, तोडफोड गरिएका अस्पतालहरुमा के कारणले त्यस्तो भएको भनेर त्यसको सुधारको लागि प्रोटोकल बनाउने, त्यसलाई लागू गर्ने काम भयोरु सरकारी अस्पतालहरुमा यो समस्या अझ विकराल छ।

धेरै सरकारी कार्यालयहरु झैं सरकारी अस्पतालहरुमा पनि जवाफदेयिता, जिम्मेवारीपन नै देखिदैन। झन गरिव, निमुखा, आवाजविहिन विरामीहरु आउने भएपछी त कसैले प्रश्न गर्ने कुरा नै भएन। यदी यसरी नै यस्ता लापरवाहीहरुमा मुद्दा हालेर अस्पतालबाट क्षतीपूर्ती तिराउने हो भने त नेपालका सम्पूर्ण सरकारीहरु एक महिनामै बन्द हुन्छन्, जुन सहि पनि हो। धेरै सरकारी अस्पतालहरु स्तरिय सेवा दिनका लागि लायक नै छैनन्।

धेरै केसमा यस्ता घटनाहरु क्षतिपूर्ती, कुनै एक दुई स्वास्थ्यकर्मीलाई दोषारोपण, उनीहरुलाई जागिर निकाला मात्रमा सेलाएर जान्छ, अस्पतालमा काम गर्ने तौरतरिका, पद्दती उही रहन्छ र हामी त्यस्तै अर्को दूर्घटनालाई प्रतिक्षा गरिरहेका हुन्छौं।

यस्ता घटनाहरुले क्षतिपूर्ती तिराउने काम मात्र भन्दा पनि स्वास्थ्य क्षेत्रको सुधार गर्नका लागि सहयोगी भूमिका खेलोस्, हामी सबैमा आफ्नो गल्ती हेर्ने र सुध्रनुपर्छ भन्ने बानीको बिकास होस्।

यो पनि हेर्नुहोस्………….

चिकित्सकीय लापरवाहीको आरोप : भ्रम, यथार्थ र हाम्रो नियति

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *