अमेरिकीको औसत आयू घट्यो, औषधिको ‘ओभरडोज’ प्रमुख कारण

टाम्पा, १४ मंसिर । औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयू यसवर्ष पुनः घटेको छ । अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ ।

सन् २०१६ को तुलनामा औषधिको बढी प्रयोगमा ९ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्यामा ३ दशमलब ७ प्रतिशत बढेको छ ।
अमेरिकास्थित केन्द्रीय  रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार अमेरिकामा औसत आयू सन् २०१६ को तुलनामा शून्य दशमलब १ ले कमी आएको छ अर्थात् औसत आयू ७८ दशमलब ६ वर्ष भएको छ ।

अमेरिकामा पछिल्ला वर्षहरुमा अफिमको प्रयोग बढेको, दुखाई कम गर्ने औषधिको प्रयोग बढेको तथा हेरोइन र फेन्टानाइलजस्ता लागूपदार्थको प्रयोग बढेको छ ।

एक दशकपछि सन् २०१५ मा अमेरिकी औसत आयूमा पहिलोपटक कमी आएको थियो, र यसको प्रमुख कारणमा औषधिको अतिरिक्त प्रयोग (ओभरडोज) मानिएको छ ।

समग्रमा, सन् २०१४ देखि नै औसत आयू घट्ने प्रवृत्ति रहेको तथ्याँकले पुष्टी गरेको छ । ‘सीडीसी’का विश्लेषक रोबर्ट एन्डरसनका अनुसार सन् २०१४ देखि हालसम्म औसत आयूमा शून्य दशमलब ३ प्रतिशतले कमी आइसकेको छ ।

“औसत आयू घट्टो क्रममा रहेकाले हामीलाई चिन्ता लागेको छ,” एन्डरसनले बताए । यस किसिमको प्रवृत्ति सन् १९१८ को विनाशकारी फ्लू र पहिलो विश्वयुद्धमा पनि देखिएको थिएन । “हामी विकसित मुलुक हौं, हामीसँग धेरै स्रोतसाधन पनि छ, र हाम्रो बढ्दो औसत आयू हुनुपर्ने हो, तर परिस्थिति भिन्न हुँदै गएको छ ।”

सीडीसीको सन् १९९९–२०१७ को अवधिको अत्यधिक औषधि सेवनबाट भएको मृत्युको विश्लेषणले सन् २०१७ मा मात्र ७० हजार २३७ जनाको औषधिको ओभरडोजकै कारण मृत्यु भएको छ । अधिकांश यो मृत्यु अप्राकृतिक देखिएको छ ।

सन् २०१६ मा सन् २०१५ को तुलनामा २१.६ प्रतिशत बढी मानिसको मृत्यु औषधिको ओभरडोजका कारण भएको छ । (रासस/एएफपी)

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *