बिरामीलाई २० लाख क्षतिपूर्ति दिन निजामती अस्पताललाई निर्देशन

काठमाडौँ, १३ मंसिर । लडेर घाइते भएका बिरामीको उपचारमा चिकित्सकले लापरबाही गर्दा मस्तिष्कघात भएको भन्दै बिरामीलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंले निजामती अस्पताललाई निर्देशन दिएको छ ।

जिल्ला क्षतिपूर्ति समिति र उच्च अदालत पाटनको फैसलाअनुसार क्षतिपूर्ति दिन सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले अस्पताललाई बुधबार पत्राचार गरेका हुन् ।

गलत औषधि प्रयोगका कारण बिरामी उद्धवसिंह ऐरको मस्तिष्कघात भएको भन्दै उनकी श्रीमती दीपादेवीले जिल्ला क्षतिपूर्ति समितिमा निवेदन दिएकी थिइन् ।३० लाख माग भएकोमा क्षतिपूर्ति समितिले अस्पताल र चिकित्सकलाई दोषी ठहर गरी २० लाख ३६ हजार नौ सय ५६ रुपैयाँ क्षतिपूर्तिको निर्णय गरेको थियो । त्यसउपर अस्पतालले पुनरावेदन गरेकोमा उच्च अदालतले गत ९ असोजमा सोही क्षतिपूर्तिलाई सदर गरेपछि प्रशासनले अस्पताललाई पत्राचार गरेको हो ।

गलत औषधि प्रयोग गरिएको दाबी
२९ पुस ०७३ मा ऐर भर्‍याङबाट लडेर टाउकोमा चोट लागेपछि निजामती अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । टाउकोमा चोट लागेकाले तत्काल सिटिस्क्यान गर्नुपर्ने चिकित्सकको भनाइ थियो । उपचारमा लापरबाहीका कारण नभई बिरामीलाई मधुमेह र उच्च रक्तचाप रहेकाले सोही कारण मस्तिष्कघात भएको दाबी उपचारमा संलग्न चिकित्सकले अदालतमा गरेका थिए ।

मदिरा सेवनको प्रभावले ऐर घरको भर्‍याङबाट लडी घाइते भएका थिए । अस्पतालमा पुर्‍याउँदा पनि मदिराको नशामा रहेका कारण उत्तेजक रहेपछि सिटिस्क्यान गर्न चिकित्सकले उनलाई लठ्याउने औषधि ‘मिडालोजाम’ प्रयोग गरेका थिए । त्यही औषधिका कारण ऐरको स्वास्थ्यमा नकारात्मक असर परेको थियो । शरीरमा मदिराको नशा रहेका वेला सो औषधि सेवन गराई सिटिस्क्यान गर्दा उनलाई मस्तिष्कघात भएको उनको परिवारको दाबी छ ।

उक्त औषधि कुनै उत्तेजना र आबेगमा आएका बिरामीलाई शान्त बनाउन तथा लट्ठ पार्न, शरीरमा कम्पन आएको खण्डमा नियन्त्रण गर्न प्रयोग गरिन्छ । तर, मदिरा नशामा रहेको र बिरामीको अवस्था असामान्य रहँदा सो औषधि प्रयोग गर्न नहुने कतिपय चिकित्सकको भनाइ छ । दोब्बर मात्रामा मिडाजोलम औषधि प्रयोग गरिएको दाबी पीडित पक्षको छ ।

सोही दाबीका आधारमा उपभोक्ता संरक्षण ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको क्षतिपूर्ति समिति र उच्च अदालतले क्षतिपूर्ति भराउने निर्णय गरेको हो । काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी अध्यक्षताको क्षतिपूर्ति समितिले सो निर्णय गरेको थियो ।

बिरामीकी श्रीमतीले अस्पताल, अस्पतालका कार्यकारी निर्देशक दीर्घराज आरसी र उपचारमा संलग्न चिकित्सकद्वय डा. दिनेश लम्साल र डा. राजीव थपलियालाई प्रतिवादी बनाई मुद्दा दायर गरेकी थिइन् । जिल्ला क्षतिपूर्ति समितिले १५ लाख ३६ हजार ९ सय ५६ रुपैयाँ उपचारमा खर्च भएको रकम र थप पाँच लाख राहत दिनुपर्ने निर्णय गरेको थियो ।

जसमध्ये अस्पतालले १० लाख ३६ हजार ९ सय ५६, अस्पतालका कार्यकारी निर्देशक डा. दीर्घराज आरसीलाई चार लाख तथा उपचारमा संलग्न दुई चिकित्सकले ३/३ लाख रुपैयाँ दिनुपर्ने फैसला गरेको थियो ।

उच्च अदालतले भने यसमा चिकित्सकलाई दोषी ठहर्‍याउन नमिल्ने भन्दै सबै क्षतिपूर्ति एकमुष्ठ रूपमा अस्पतालले दिनुपर्ने फैसला गरेको छ ।

असल नियतले नै सिटिस्क्यान गर्न सो औषधि प्रयोग गरेर बिरामीलाई लठ्याइएकाले उपचारमा संलग्न चिकित्सक दोषी हुन नसक्ने उच्च अदालतको फैसलामा उल्लेख छ । उच्च अदालतका न्यायधीशहरू रमेश पोखरेल र अग्निप्रसाद थपलियाको संयुक्त इजलासको फैसलामा भनिएको छ, ‘आकस्मिक कक्षमा नाजुक अवस्थामा आएको बिरामीलाई अत्यन्त तदारुकताका साथ व्यवस्था मिलाई उपचार गर्ने क्रममा चिकित्सकहरूको सामान्य मानवीय कमजोरी भएको देखिएकाले व्यक्तिगत रूपमा जिम्मेवार ठहर्‍याइएको जिल्ला क्षतिपूर्ति समितिको निर्णय मिलेको नदेखिँदा केहि परिवर्तन भई संस्थागत जवाफदेही वहन गर्नुपर्ने गरी परिवर्तन गरी दिएको छ ।’

‘मिडालोजाम’ कै कारण सिटिस्क्यानपछि बिरामी बेहोस भएको र अवस्था झन् जटिल भएपछि सिभिलले नर्भिक अस्पतालमा रिफर गरेको थियो । नर्भिकमा उपचारको क्रममा १५ लाखभन्दा धेरै खर्च भएको थियो ।

  • आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “बिरामीलाई २० लाख क्षतिपूर्ति दिन निजामती अस्पताललाई निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *