पाल्पा : समाजमा खुल्दै एचआइभी सङ्क्रमित

 सुशीला रेग्मी


बेझाड, ११ मंसिर । पाल्पा माथागढी गाउँपालिका–४ झडेवाका हरि परियार आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि केही समय भित्रभित्रै छट्पटाएर बाँचे । मनलाई कुण्ठित बनाउँदै जीवनलाई धिक्कार्दै उनले पूरा दुई वर्ष बिताए । रोगलाई भित्रभित्रै दबाएर राख्दै जाँदा उहाँ निकै कमजोर पनि बने ।

नियमित औषधि सेवन र अरु सरह नै समाजमा खुलेर हिँड्न डाक्टरले सल्लाह दिएपछि उहाँ विस्तारै समाजमा खुल्न थाले। “जब समाजमा खुल्न थालें शरीर फूर्तिलो हुँदै गयो, मलाई अहिले एचआइभी सङ्क्रमित हूँ भन्ने कुनै अनुभूति नै हुँदैन” – उनले भने ।

उनमा २०५८ सालमा एचआइभी सङ्क्रमण देखा परेको हो । दुई वर्ष घरपरिवार, समाजको डरले भित्रभित्रै रोगसँग लडेर बाँचे । “समाजमा नखुल्दा झन् थरिथरिका लाञ्छना सुन्नुपथ्र्यो तर, अहिले खुलेर हिँड्न थालेपछि सबैको माया र सहयोग मिलेको छ” परियारले भने । परियारले टेलरिङ् व्यवसाय सञ्चालन गरेर आफ्नो परिवार धान्दै आएका छन् ।

बगनासकाली गाउँपालिका–४ खानीछाँप बस्ने ४९ वर्षीय हुमीसरा सारु एचआइभी सङ्क्रमित भएदेखि नै समाजमा मज्जाले खुलेर हिँड्डुल गरिरहेकी छन्् । श्रीमानको मृत्यु लगत्तै उहाँलाई एचआइभी सङ्क्रमित छु भन्ने थाहा भयो ।

“श्रीमानलाई एचआइभी सङ्क्रमण भएको रहेछ,” उनहाँले परिवारमा कोही कसैसँग भन्नुभएन, उहाँको मृत्युपछि मात्र एकैचोटि थाहा भयो,” उनले भनिन् ।

“समाजमा जति खुलेर हिँड्न सक्यो त्यति नै रोगबाट टाढा भइदो रहेछ, शरीर पनि फूर्तिलो हुन्छ,” सारु भन्छिन् । श्रीमानको ३० वर्षको अल्पायुमै निधन भएपछि सारु तीन छोरीसँगै बस्दै आएकी छन् ।

सारुलाई एचआइभी सङ्क्रमण भएको अहिले १२ वर्ष भयो । एचआइभी सङ्क्रमित हूँ भन्ने अनुभव आफूमा शुरुदेखि नै नभएको उनी बताउछिन् । सारुले छोरीको पढाइ खर्च, घर खर्चका लागि कृषि तथा पशुपालन गरेर जीविका चलाउँदै आएकी छन् ।
पीडा लुकाएर बाँच्दा झन् हीनताबोध हुँदै गएको अनुभव गरेका तानसेन नगरपालिका–१४ का कृष्ण पाण्डे पनि समाजमा खुल्न थालेका छन्। करीब बीस वर्ष जति भारतमा सवारी चालकको काम गरेका पाण्डेलाई एक्कासी पक्षाघातले सतायो ।
उपचारका लागि अस्पताल जाँदा डाक्टरले एचआइभीबाट सङ्क्रमण भएको जानकारी गराएपछि उनी गाउँ फर्किए । उनको अहिले देब्रे हात र आँखाले काम गर्दैन । मिसन अस्पतालबाट उनले नियमित एआरटी सेवा लिइरहेका छन् ।

आफ्नै अनुभव सुनाउँदै उनले भने – “एचआइभी सङ्क्रमित भएको दश वर्ष भयो । अहिलेसम्म बाँचेकै छु । समाजको डर मानेर बसेको भए अहिलेसम्म बाँच्न गा¥हो हुन्थ्यो होला । रोगलाई लुकाएर राख्ने होइन रहेछ ।”

उनका श्रीमती सरिता पाण्डे पनि एचआइभी सङ्क्रमित छनब । “दुबै जना एचआइभी सङ्क्रमित हूँ भन्ने थाहा भएर नै वैवाहिक जीवनमा बाँधियौँ, बिहे गरेको सात वर्ष भयो, सौहार्द वातावरणमा जीवन चलिरहेको छ,” उनले भने ।

पाण्डे दम्पतीले आर्थिक उन्नतिका लागि दश वटा बाख्रा र ३० वटा कुखुरा पालेका छन् । यस अतिरिक्त तरकारी खेती पनि गर्छन् । “श्रीमान् सामाजिक काममा दिनभर व्यस्त छन्, म घरमा बाख्रा, कुखुरा, तरकारीको रेखदेख गर्दै दिन बिताउँछु,” पाण्डेले भने ।
अहिले जिल्लामा एचआइभी सङ्क्रमित व्यक्तिहरु मिलेर प्रतिबद्ध सहयोग नामक समूह गठन गरेका छन् । यो समूहले गाउँ गाउँमा जनचेतनामूलक कार्यक्रम शुरु गरेपछि विस्तारै सङ्क्रमितहरु खुल्न थालेका छन् ।

यस समूहले जिल्लाको तानसेन, रामपुर, झडेवा, अर्गली, पालुङ्गमैनादी, देउराली, हुमिन, नायर, सिलुवामा गरी नौ ठाउँमा अहिले स्थानीय निकाय, अगुवा व्यक्ति, स्वास्थ्यकर्मी, सरोकारवालाको समन्वयमा आयआर्जनका कार्यक्रम, बिउ पँुजी कोष स्थापना जस्ता कार्यक्रम गरिरहेको समूहका अध्यक्ष लक्ष्मी कुँवरले बताए ।

प्रतिबद्ध सहयोग समूहले एचआइभी सङ्क्रमित ३१ जना बालबालिकालाई मासिक प्रतिव्यक्ति रु एक हजार रकम उपलब्ध गराउँदै आएको छ । अठार वर्षमुनिका सङ्क्रमित बालबालिकालाई औषधोपचार खर्च, पढाइ खर्च पनि जुटाउँदै आएको कुँवरले जानकारी दिए ।

कुँवर एचआइभी सङ्क्रमित भएको २३ वर्ष भयो । समाजमा लुकेर रहेका एचआइभी सङ्क्रमितलाई खुलेर हिँड्न उत्प्रेरणा जगाउने अभियानमा उनी छन् । नियमित औषधि सेवनले अरु सरह नै बाँच्दै आएको उनी बताउछन् । समाजको डरले कुँवर २०५१ देखि २०५४ सालसम्म खुलेनन् ।

कुँवरले भन्नुने – “समाज परिवर्तन आफैंबाट गर्ने हो । अरुले के भन्ला भनेर समाजसँग डराएर बस्यो भने बाँच्ने आयु झन् घट्दै जान्छ । त्यसैले म समाजमा आफैं खुलेर हिँड्न थालें ।” उनकै कारण अहिले अरु सङ्क्रमित पनि समाजमा खुल्न थालेका हुन् ।

अहिले ‘आफू पनि खुलौँ र अरुलाई पनि खुलाऔँ’ भन्ने अभियान सञ्चालन गरिएको छ ।

जिल्लामा अहिले ३१७ जना एचआइभी सङ्क्रमित रहेका छन् । आव २०७४÷७५ मा ११ पुरुष, ९ महिला, १४ वर्षमुनिका दुईजना बालबालिका गरी २२ जना सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवाली बताउछन् ।

सङ्क्रमितमध्ये नियमित एआरटी सेवा लिने २०४ जना रहेका छन् । जिल्लाको मिसन अस्पतालबाट निःशुल्क एआरटी सेवा प्राप्त हुन्छ । हाल जिल्लामा करीब ४१ जना सङ्क्रमित बिरामी खुलेर हिँडिरहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *