चिकित्सक लाइसेन्स परीक्षा : स्वदेश तथा विदेश अध्ययन् गर्नेलाई समान मापदण्ड

काठमाडौँ, ७ मंसिर । विदेशका मेडिकल कलेजबाट एमबीबीएस तथा बीडीएस अध्ययन पुरा गरी ६ महिना इन्टर्नशीप सकेका विद्यार्थी नेपाल मेडिकल काउन्सिलले दुई साता पछि लिन लागेको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

काउन्सिलको गत १५ कात्तिकमा बसेको पूर्ण बैठकले गरेको निर्णयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएपछि आउदो २२ मंसिरकै परीक्षामा विदेश पढेका विद्यार्थीले अवसर पाउने भएका हुन् ।

यसअघि काउन्सिलले गत ७ कात्तिकमा बोर्डका निर्णय भन्दै जारी गरेको सूचनामा स्वदेशका मेडिकल कलेजमा अध्ययन गरेका एमबीबीएस र बीडीएस विद्यार्थीलाई छ महिने इन्टर्नसीप र विदेशमा अध्ययन गरेका विद्यार्थीलाई एक बर्षे इन्टर्नशीप पुरा गर्नुपर्ने मापदण्ड उल्लेख थियो । सो व्यवस्थाको युवा चिकित्सक समाज, डाक्टर सोसाइटी अफ नेपाल लगायतका संगठनहरुले विरोध गरेका थिए । त्यसपछि १५ कात्तिकमा बैठक बसी स्वदेश र विदेशका लागि समान व्यवस्था गर्ने निर्णय गरेको थियो ।

‘हामीले १५ कात्तिकमै यस सम्वन्धी निर्णय गरी सहमतिका लागि स्वास्थ्य मन्त्रालयमा पठाएका थियौँ । मन्त्रालयबाट यहि साता सहमति पत्र आयो । अब आउदो परीक्षामा पनि विदेशमा अध्ययन पुरा गरी ६ महिना इन्टर्नशीप सकेका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ,’ काउन्सिल प्रवक्ता डा. दिलीप शर्माले भने ।

आउदो परीक्षाका लागि काउन्सिलले ८ मंसिरसम्म नियमित र ९ र १० मंसिरमा विलम्ब शुल्क तिरेर फारम भर्न सक्ने उल्लेख छ । काउन्सिलको लाइसेन्स परीक्षामा फारम अनलाइन मार्फत भर्ने व्यवस्था छ ।

यो पनि पढ्नुहोस्……………………

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *