काठमाडौँ जनस्वास्थ्य आजबाट प्रदेश स्वास्थ्य कार्यालय

काठमाडौँ, ३ मंसिर । टेकुस्थित जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ आजबाट प्रदेश स्वास्थ्य कार्यालयमा रुपान्तरित भएको छ । संघीय संरचना अनुसार काठमाडौँ, ललितपुर र भक्तपुर सहित तीनवटा जिल्ला हेर्ने गरी प्रदेश स्वास्थ्य कार्यालय स्थापना गरिएको हो ।

टेकुमा आज आयोजित समारोहमा तीन नम्बर प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश स्वास्थ्य कार्यालयको व्यानर अनावरण गरेका थिए । उनले काठमाडौँमा व्यानर अनावरण गरेसंगै अरु पाँचवटा स्थानमा छिट्टै यस्ता कार्यालय सञ्चालनमा आउने जानकारी दिए ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तरगर्त रहने यो स्वास्थ्य कार्यालयमा जम्मा १४ जनाको दरबन्दी छ । १० जना काठमाडौँमा रहेको कार्यालयमा र बाँकी दुई दुई जना (कोल्ड चेन अधिकृत र कार्यालय सहयोगी) ललितपुर र भक्तपुरका तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालयमा रहनेछन् ।

‘तीन तहको सरकार छ । स्थानीय तहमा औषधि, खोप सहित विभिन्न अभियान सञ्चालन गर्न यो संरचना तयार गरिएको हो । हामीले आफै काम गर्ने भन्दा पनि समन्वय गरी स्थानीय तहमा प्रभावकारी काम गर्न सहयोग गर्दछौँ,’ प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले बताए ।

यसैबीच प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले कर्मचारीलाई ढुक्कसंगले आफ्नो काम गर्न निर्देशन दिएका छन् । नयाँ संरचनामा एडजस्ट हुन गाह्रो मानेको र कतिपय आतंकित भएको आफूले सुनेको भन्दै सरकारले राष्ट्र सेवकको हितमै काम गर्न भन्दै ढुक्क भएर काम गर्न निर्दैशन दिएका हुन् ।

उनले तीन नम्बर प्रदेशका १३ जिल्ला हेर्ने गरी पाँचवटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना गरिएको भन्दै बाँकी कार्यालय अबको केही दिनमै सञ्चालनमा आउने बताए ।

स्वास्थ्य सेवा विभागका नि महानिर्देशक बनेका मोह्मद दाउदले आफू स्वास्थ्य मन्त्रालयमा रहँदा संघीय संरचनाको खाका तयार गरेको र त्यहि खाका अनुरुप अहिले संघीयता कार्यान्वयनको चरणमा अघि बढेको भन्दै खुशी व्यक्त गरे । उनले राज्यले नयाँ संरचना अंगालिसकेपछि सोही अनुसार सबै निकाय अघि बढ्नु पर्ने भन्दै कतिपयले नबुझेर विरोध गरेको उल्लेख गरे ।

कार्यालय प्रमुख चन्दले राज्यले दिएको निर्देशन अनुरुप नयाँ संरचनामा काम अघि बढाउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *