सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु

काठमाडौँ, ३ मंसिर । प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएको जुम्ल्याहा शिशुको जन्म भएको छ । पेट देखि छातीसम्म जोडिएको दुई शिशुको कलेजो र मुटु भने एउटै छ ।

कालिकोट रास्कोट नगरपालिकाकी २८ बर्षीया ललिता बुढाको गर्भबाट चिकित्सकहरुले शल्यक्रियामा करीब डेढ घण्टा खर्चिएर शरीर जोडिएको अवस्थामा दुई शिशु (छोरी) निकालेका हुन् । चिकित्सकीय भाषामा कन्जोइन टुइन्स भनिने यस्तो केश अत्यन्त कम (करीब २ लाख जन्ममा) हुने बताइएको छ ।

प्रदेश अस्पताल सुर्खेतका डा. रविन खड्काका अनुसार शरीर जोडिएका दुई शिशुको तौल करीब ५ केजी छ । ‘हेर्दा दुबै स्वस्थ देखिन्छन् । दुबै रुने कराउने गर्छन, दुबैलाई स्तनपान शुरु भइसकेको छ । ती शिशुको आज पुन भिडियो एक्सरे गरी स्वास्थ्य अवस्था बुझ्ने तयारी भइरहेको छ । त्यसपछि आवश्यक निर्णय गरिन्छ,’ डा. खड्काले भने ।

सुत्केरी हुने दिन नजिक हुँदै जाँदा केही दिन बुढा दम्पत्ती गर्भजाँचका लागि जिल्ला अस्पताल कालिकोट पुगेका थिए । त्यहाँ एमडीजीपी डा. विज्ञान प्रजापतिले भिडियो एक्सरे गर्दा अश्वभाविक केश देखेपछि सुर्खेत अस्पतालका लागि रिफर गरेका थिए ।

‘गर्भवती महिलाका बारेमा कालिकोटका डा. विज्ञानले चार दिन अघि नै हामीलाई जानकारी गराएका थिए । तर उहाँहरु ( सुत्केरीका लागि आएकी महिला ) हिजो मात्रै आउनु भयो । विहान ९ बजे तिरै मैले भिडियो एक्सरे गरे । पेट देखि छातीसम्म जोडिएको भेटियो । कलेजो र मुटु पनि एउटै देखियो,’ डा. खडकाले भने ।

केश अश्वभाविक भएपनि सुत्केरी बेथाले आत्तिइसकेकी ललितालाई बाहिर पठाउन भन्दा त्यहि शल्यक्रिया गर्न उपयुक्त हुने ठानेर आफूहरुले त्यो केश ह्याण्डल गरेको डा. खड्काले बताए ।

कतिपयले यस्तो थाह पाएपछि काठमाडौँ रिफर गर्नुपथ्र्यो समेत भनेका छन् । तर उनलाई व्यथा शुरु भइसकेको थियो । ‘हामीसंग यहाँ शल्यक्रियाका लागि दक्ष जनशक्ति र स्रोत साधन समेत थियो । त्यसैले यहि नै शल्यक्रिया गर्ने निर्णृयमा पुग्यौँ ।’

शल्यक्रियाको नेतृत्व गाइनो सर्जन डा. राजिब साहको नेतृत्वमा भएको थियो । उनलाई डा. महेश पौडेल (जीपी रेजिडेन्ट)ले सघाएका थिए । एनेस्थेसियामा डा. रोविन खापुङ लागेका थिए । त्यस्तै नर्सहरु ज्ञानु, रञ्जना समेतको सक्रिय खटाइथियो । त्यस्तै प्याडियाटिक डा. नवनीत रौनियार, डा. नामो शाक्य, नर्सहरु विनिता बस्याल, कल्पना थापा, सुस्मिता विसि, हेना गुरुङ लगायतका नर्सहरु शल्यक्रिया पछिको उपचार तथा स्याहारमा खटिएका छन् ।

नेपालमा यसअघि टाउको जोडिएका शिशुहरुको जन्म भएको थियो । तर मुटु कलेजो एउटै हुने गरी शरीर जोडिएको शिशुको जन्म भएको भने सुनिएको थिएन । ‘सम्भवत यो पहिलो शिशु हो कि ?’  डा. खड्काले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सुर्खेत अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा शिशु

Leave a Reply

Your email address will not be published. Required fields are marked *