स्वास्थ्य सेवा विभागद्धारा करीब ४ हजार स्वास्थ्यकर्मीको सरुवा

काठमाडौँ, २ मंसिर । स्वास्थ्य सेवा विभागले करीब ४ हजार स्वास्थ्यकर्मीको एकै पटक सरुवा गर्ने निर्णय गरेको छ । सरुवाको सूची भने भोलि (सोमबार)बाट क्रमश प्रकाशित गर्दै जाने योजनामा रहेको छ ।

यसअघि विभागले नियमित सरुवा गर्ने महिना कात्तिकमा सरुवाको सूची प्रकाशित नभएपछि स्वास्थ्यकर्मीहरु अन्योलमा थिए । तर अनलाइन निवेदन दिनेको संख्या ठूलो भएको ठूलो संख्यालाई मिलाएर सरुवा गर्नुपर्ने अवस्था भएकोले केही ढिलाई भएको सरुवाको कार्यमा खटिएका एक अधिकारीले बताए ।

‘हामीले सुरुमा करीब २ हजार जति सरुवा होला कि भन्ने अनुमान गरेका थियौँ । तर संख्या ठूलो भयो । सरुवा गर्दै जाँदा करीब करीब ४ हजार नै पुग्छ कि जस्तो छ,’ ती अधिकारीले भने ।

स्रोतका अनुसार विभागले पहिलो चरणमा स्टाफ नर्स र विविध समूह (ल्याव, फार्मेसी, मेरेअ, रेडियोग्राफर) का विभिन्न पदहरुको चिठी तयार गरेको छ । भोलि ( सोमबार) सो चिठी सम्वन्धीत जिल्लास्थित कार्यालयमा पठाएपछि सरुवाको सूची अनलाइनमा प्रकाशित गर्ने योजनामा विभागका अधिकारीहरु रहेका छन् ।

‘त्यस लगत्तै अरु एचए, अहेव, अनमी लगायतका पदहरुको सरुवा चिठी तयार गर्ने र सरुवा सूची प्रकाशित गर्ने योजना छ ।
भोलि फस्ट आवरमा पहिलो चरणको सूची प्रकाशित हुन्छ । त्यसअघि कर्मचारीको चिठी हुलाकबाट पोष्ट गरिसकेका हुन्छौँ । यसले पछि सच्याउन आउने दवाव कम हुन्छ भन्ने सोच हो,’ उनले भने ।

यसअघि सरकार निकट स्वास्थ्यकर्मीका संगठनहरुले समायोजन ऐन आउन लागेको सन्दर्भमा ठूलो संख्यामा स्वास्थ्यकर्मी सरुवा नगर्न विभागका अधिकारीलाई सुझाव दिएका थिए ।

अधिकारीहरुले भने सुझाव सकारात्मक रहेपनि अनलाइन फारम भरेका करीब साढे ५ हजार बढीबाट करीब ४ हजार कर्मचारीलाई सरुवा गर्नै पर्ने अवस्था देखिएको बताए ।

विभागलाई चौथो देखि सातौँ तह (पाँचौँ तहको आधार पद भएका) स्वास्थ्यकर्मीको सरुवा गर्ने अधिकार छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *