पर्वत : जिल्ला प्रशासनमै स्वास्थ्य परीक्षण सेवा

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, २९ कात्तिक । जिल्ला प्रशासन कार्यालय, पर्वतमा सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा शुरु गरिएको छ ।

नागरिकता, राहदानी, भारतीय पेन्सन सुविधा, नाता प्रमाणित र विभिन्न सार्वजनिक अपराधका मुद्दालगायतका कामले कार्यालयमा आउने सेवाग्राहीलाई आकस्मिकरूपमा आइपर्ने स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न यो सेवा शुरु गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पहिलो चरणमा हरेक बुधबार स्वास्थ्य परीक्षण गरिने र विस्तारै प्रभावकारी हुँदै गएमा शनिबारबाहेक सबै दिन सुविधा दिइने बताए ।

स्वास्थ्य परीक्षणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला कारागारमा कार्यरत स्वास्थ्यकर्मीलाई परिचालन गरिने भएको छ । स्वास्थ्यकर्मीले सेवाग्राहीको उच्चरक्तचाप, सामान्य रुघाखोकी, ज्वरो, चोटपटकलगायतका समस्याको तत्काल उपचार गर्नेछन् भने जटिल रोगका लागि उचित परामर्श प्रदान गरिने जिल्ला कारागारका स्वास्थ्य सहायक धनकुमारी पुनले बताइन् ।

स्तनपानकक्षको तयारी

प्रमुख ढकालले प्रशासन कार्यालयमा आउने सुत्केरी तथा साना बालबच्चा भएका महिलालाई लक्षित गरी छुट्टै स्तनपानकक्षसमेत निर्माण गर्ने तयारी गरेको पनि जानकारी दिए । निकट भविष्यमै सरिने नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएपछि व्यवस्थित स्तनपानकक्ष पनि सञ्चालन गरिने ढकालले जानकारी दिए ।   रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *