बिपीका पूर्वउपकुलपति दासद्वारा विद्यार्थीसँग अवैद्य असुली ?

धरान, २७ कात्तिक । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा बिपी दासले प्रतिष्ठानमा भर्ना हुन आउने विद्यार्थीसँग अतिरिक्त रकम माग्ने गरेको सार्वजनिक भएको छ । प्रतिष्ठानका प्राध्यापक रहेका दासले अध्ययनका लागि नाम निकाल्न सहयोग गर्ने भन्दै भारतीय विद्यार्थीसँग अतिरिक्त रकम मागेको अडियो सार्वजनिक भएको हो ।

दासले प्रतिष्ठानमा पिजी (पोस्ट ग्राजुएट) कोटामा भर्ना हुन चाहने विद्यार्थीसँग प्रतिष्ठानमा बुझाउनुपर्ने ५० हजार अमेरिकी डलर (५५ लाख रुपैयाँ)बाहेक अतिरिक्त रकमका लागि बार्गेनिङ गरेको अडियो रेकर्ड सार्वजनिक भएको छ ।

दासले भारतीय विद्यार्थीसँग अतिरिक्त रकम मागेको अडियोमा प्रस्ट बुझिन्छ । ‘बिपी प्रतिष्ठानमा अध्ययनका लागि दुई–चार लाख रुपैयाँको मतलब गर्नुहुन्न । म नाम निकाल्न सहयोग गर्छु’ दासले विद्यार्थीसँग रुपैयाँको बार्गेनिङ गर्दै भनेका छन् ।

अडियो रेकर्डमा उनले चार विद्यार्थीका लागि २० जना विद्यार्थीको व्यवस्था गर्ने भनेका छन् । ‘बिचौलियालाई पनि दिनुपर्छ । आफ्नो हितका लागि खर्च गर्न डराउनु हुँदैन’ भन्दै उनले विद्यार्थीलाई अतिरिक्त रकम तिर्न आग्रह गरेका छन् । सो अडियोमा प्राडा दास बोलेको प्रस्ट सुनिन्छ । तर, अर्को पक्षको आवाज भने प्रस्ट छैन । भारतीय विद्यार्थीले हिन्दीमा अंग्रेजी मिसाएर बोलेका छन् ।

मलाई उपकुलपतिले फसाउन खोजे : दास
पूर्वउपकुलपति प्राडा दासले भने आफूलाई फसाउने षड्यन्त्र गरिएको दाबी गरेका छन् । ‘एउटा प्राध्यापकको नाताले विद्यार्थीहरूलाई प्रतिष्ठानको रकमको विषयमा मैले जानकारी दिएको मात्रै हो,’ उनले भने, ‘मैले कसैसँग अतिरिक्त रकमका लागि बार्गेनिङ गरेको छैन ।’ हालका उपकुलपति प्राडा राजकुमार रौनियारले आफूलाई फसाउन विद्यार्थीलाई फोन गर्न लगाएको दाबी उनको छ ।

पिजी कोर्सका लागि २३ कोटा
प्रतिष्ठानमा पिजी कोर्स गर्न विदेशी विद्यार्थीका लागि २३ वटा कोटा छुट्याइएको छ । त्यसका लागि प्रतिव्यक्ति ५० हजार अमेरिकी डलर रकम लाग्छ । तर, प्रतिष्ठानमा कोटाभन्दा बढी विद्यार्थीले भर्नाका लागि आवेदन दिएका छन् । त्यस्ता विद्यार्थीको नाम निकालिदिने भन्दै बिचौलियाहरूले अतिरिक्त रकम लिने गरेको प्रतिष्ठान स्रोतले जनाएको छ । प्रतिष्ठानमा विद्यार्थी तथा कर्मचारी भर्नामा करोडौँको चलखेल हुने गरेको एक कर्मचारीले बताए ।

अडियोको विषयमा छलफल गर्छौं :  निर्देशक
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा।डा। गौरीशंकर साहले अडियोको विषयमा आफूलाई पनि जानकारी आएको बताए । ‘यस विषयमा प्रतिष्ठानमा छलफल हुनेछ,’ उनले भने, ‘हामीले उपकुलपतिलाई पनि यसबारे जानकारी गराइसकेका छौँ ।’

  • आजको नयाँ पत्रिका दैनिकमा देवेन्द्र कार्कीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *