चिकित्सकविहीन औषधालय, सेवाग्राही प्रभावित

जुम्ला, २६ कात्तिक । तत्कालीन कर्णाली अञ्चल आयुर्वेद औषधालय अढाइ वर्षदेखि चिकित्सकविहीन हुँदा सेवाग्राही प्रभावित भएका छन् ।

डा रमेश केसी ०७२ मङ्सिर महीनामा सरुवा भएर गएपछि केही समयपछि अस्थायीरूपमा आएका चिकित्सक विवेक गुप्ता एक महीना पनि काम नगरेर गएपछि अहिलेसम्म औषधालय चिकित्सकविहीन हुनपुगेको हो । आयुर्वेद चिकित्सक आठौँ तहको पद रिक्त छ ।

हाल वरिष्ठ वैद्य नन्दप्रसाद न्यौपानेको भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आएमा सजिलै उपचार गराउनेदेखि औषधि दिनेसम्मको काम गर्न सकिएको भए पनि जटिल प्रकृतिका बिरामी आएमा निकै समस्या आउने आयुर्वेद वरिष्ठ वैद्य न्यौपानेले बताए ।

औषधालयमा चिकित्सक नभएपछि शल्यक्रियाका काम हुन नसकेको उनको भनाइ छ । “न्यूनतम शुल्कमा पायल्स, घाउ, खटिराको शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले डा नभएपछि त्यो काम हुन सकेको छैन” उनले भने । आयुर्वेद विभागमा पटकपटक पत्राचार गरेर चिकित्सक पठाइदिन माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उनले भने ।

वैद्य न्यौपानेका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । “त्यसैले चिकित्सक पठाइदिन बेलाबेलामा ताकेता गरेका छौँ । चिकित्सक आउनु भए सहज हुन्थ्यो”, उनले भने ।

हाल कर्णाली अञ्चल आयुर्वेद औषधालयमा पाँच जना कर्मचारी कार्यरत् छन् । एक जना वैद्य, एक जना आयुर्वेद सहायक, एक जना सहलेखापाल र दुई जना कार्यालय सहयोगी छन् । एक जना चिकित्सकको पद मात्रै रिक्त छ ।

औषधालयमा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचार गर्न आउँछन् । समयमा औषधि आउँदैन, औषधिका लागि न्यून बजेट विनियोजन गरिएकाले समस्या हुने गरेको छ ।

धेरैजसो कमलपित्त, श्वासप्रश्वास, स्त्रीरोग, पायल्स, बाथ, मूत्रविकार, छालासम्बन्धी बिरामी उपचारका लागि आउने गर्दछन् । कमलपित्त र श्वासप्रश्वासका बिरामी सबैभन्दा बढी आउने गरेको औषधालयले जनाएको छ । जिल्लाका सातवटै गाउँपालिका र डोल्पा मुगु, कालिकोटसम्मका बिरामी यहाँ आउने गर्छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *