डा. सुशील प्याकुरेल भए अधिकार सहितको निमित्त स्वास्थ्य सचिव

- नेपाली हेल्थ

काठमाडौँ, २५ कात्तिक । प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेलले अधिकार सहितको निमित्त स्वास्थ्य सचिवको जिम्मेवारी पाएका छन् ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आज मन्त्रिस्तरीय निर्णय गर्दै डा. प्याकुरेललाई सो जिम्मेवारी दिएका हुन् ।

यसअघिकी सचिव डा . पुष्पा चौधरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएपछि डा. प्याकुरेल निमित्त सचिव भएका थिए । तर उनलाई प्रशासनिक अधिकार दिइएको थिएन । आजको मन्त्रीस्तरीय निर्णयमा अर्को व्यवस्था नभएसम्म प्रशासनिक अधिकार सहित निमित्त सचिवको रुपमा काम काज गर्न भनिएको छ ।

गत २८ असोजको मन्त्रिपरिषद् बैठकले सचिव डा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा तानेर जगेडामा राख्ने निर्णय गरेको थियो । त्यस विरुद्ध सचिव डा चौधरी सर्बोच्च अदालत गएकी थिइन । उनले सर्बोच्चबाट सरुवा गर्ने निर्णय विरुद्ध अन्तरिम आदेश त पाइन तर मन्त्रिपरिषदले उनलाई स्वास्थ्यमा हाजिर हुने चिठी दिएको थिएन ।

उनी आफै आएर हाजिर गरेपछि थप विवादमा फसेकी थिइन । हाजिर गरी फोटो समेत परिवर्तन गरेपछि मुख्य सचिव लोकदर्शन रेग्मीले स्वास्थ्यका अधिकारीहरुलाई झपारेका थिए । त्यस लगत्तै स्वास्थ्यका अधिकारीहरुले वेवसाइटबाट सचिवको फोटो हटाई डा. प्याकुरेल निमित्त सचिवको रुपमा राखेका थिए ।

त्यसपछि पनि सचिव मन्त्रालयमा आएकी थिइन ।

‘सचिव डा चौधरी आज पनि आउनु भएको थियो । साढे नौँ बजे निस्कनु भएको हो । त्यसपछि कता जानु भयो थाह छैन,’ मन्त्रालय स्रोतले भन्यो ।

मन्त्री यादव भने सचिवको निर्णय गरेर आजै अपरान्ह कतार प्रस्थान गरिसकेका छन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *