त्रिवि शिक्षण अस्पतालको निर्देशकका लागि तीन जनाको नाम पठाउँदै सर्च कमिटि

काठमाडौँ, २४ कात्तिक । शिक्षण अस्पताल महाराजगञ्जमा रिक्त रहेको कार्यकारी निर्देशकको नाम सिफारिस गर्न त्रिविद्धारा गठित सर्च कमिटिले तीन जनाको नाम छनौट गरेको छ । यद्धपी त्रिवि समक्ष सो नाम पठाइसकेको छैन ।

स्रोतका अनुसार पहिलो नम्बरमा प्राडा प्रेम खड्का, दोस्रो नम्बरमा प्राडा योगेन्द्रप्रसाद सिंह र तेस्रो नम्बरमा प्राडा सुशील सिल्पकारको नाम पठाउने तयारीमा छ ।

अघिल्लो सर्च कमिटिले नाम सिफारिस गर्न असक्षम रहेपछि त्रिविले गत असोजको तेस्रो साता त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवालको संयोजकत्वमा नयाँ सर्च कमिटि गठन गरेको थियो । उक्त कमिटिमा प्राडा अभिमन्यू झा र सहप्राडा प्रदीप ज्ञवली सदस्य थिए ।

सो कमिटिले गत साता १० जना बरिष्ठ प्राध्यापकसंग छलफल गरी तीन जनाको नाम अन्तिम सूचीमा तयार गरेको हो ।

‘हामीले गत साता १० जना बरिष्ठ प्राध्यापकलाई चिठी काटेरै छलफलका लागि बोलायौँ र धारणा बुझ्यौँ । उहाँहरुमध्ये कार्यकारी निर्देशकका लागि पाँच जना इच्छुक देखिनु भयो । त्यसमध्ये बरिष्ठताको आधारमा तीन जनाको नाम सिफारिस गर्ने टुंगोमा पुग्यौँ,’ एक सदस्यले भने ।

को को परे बरिष्ठताको सूचीमा ?
सर्च कमिटिका ती सदस्यका अनुसार बरिष्ठताको पहिलो नम्बरमा प्राडा गीता सायमी, दोस्रो नम्बरमा प्राडा ज्योति शर्मा बराल, तेस्रो नम्बरमा प्रेम खड्का र चौथो नम्बरमा प्राडा योगेन्द्रप्रसाद सिंह परेका छन् । त्यस्तै प्राडा सुनील चन्द्र झा, प्राडा मिता सिंह, प्राडा सुशील सिल्पकार, प्राडा प्रदीपकृष्ण श्रेष्ठ, प्राडा प्रदीप बैद्य, प्राडा तुलसी कंडेल रहेका छन् ।

ती मध्ये प्राडा सायमी र प्राडा शर्मा कंडेलले निर्देशक बन्न अनिच्छुक भएपछि तेस्रो नम्बरका प्राडा खड्का, चौथो नम्बरका सिंहको नाम आएको हो । पाँचौँ र छैटौँमा रहेका प्राडा झा र प्राडा सिंह पनि अनिच्छुक देखिएपछि प्राडा सिल्पकार सूचीमा परेका हुन् ।

डा गोविन्द केसीको माग पनि बरिष्ठताको आधारमा होस भन्ने नै हो । हामीले त्यहि गरयौँ । यसमा पूर्व पदाधिकारीहरुलाई समावेश गरेनौँ । नयाँलाई अवसर दिन खोज्यौँ । प्राध्यापक हुँदा जो सिनियर छ त्यसैको आधारमा यो सूची तयार भएको हो ।

अघिल्लो पटक चर्चामा यसपटक गुमनाम
अघिल्लो सर्च कमिटिले नाम सिफारिस गर्ने बेलामा प्राडा वाईपी सिंह, प्राडा ईश्वर लोहनी, प्राडा दिनेश काफ्ले, प्राडा प्रदीप बैद्य लगायतका नाम चर्चामा थिए । यसपकट प्राडा लोहनी र प्राडा काफ्लेको नाम छलफलको सूचीमै परेन ।

‘हामीले अरु हेरिएन सिनियारिटी मात्रै खोजियो । त्यसमा उहाँहरुको रोलक्रम अलि तल रहेछ । त्यसैले उहाँहरु पर्नु भएन,’ ती सदस्यले भने ।

गत ४ साउन देखि लागू हुने गरी तत्कालिन निर्देशक प्राडा दीपक महराले राजिनामा दिएपछि अहिले निमित्त निर्देशकको जिम्मेवारी सहायक डीन मन्दिरा वन्तले पाएकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “त्रिवि शिक्षण अस्पतालको निर्देशकका लागि तीन जनाको नाम पठाउँदै सर्च कमिटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *