दान गरेको रगतमा समेत मूल्यबृद्धि, प्रति युनिट बढ्यो एक सय रुपैयाँ

काठमाडौँ, १७ कात्तिक । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र व्लड बैंकले दानबाट रक्तदाताद्धारा संकलित रगतको मूल्य आफू खुशी बढाएको छ । ब्लड बैंकले नेपाल सरकार राष्ट्रिय रक्तसञ्चार व्युरोको निर्णय अनुसार भन्दै प्रतियुनिट रगतमा १०० रुपैयाँ मूल्यबृद्धि गरेको छ । तर व्युरोले भने रेडक्रसको दावी झुटो भन्दै पुष्टी गर्न चुनौती दिएको छ । व्युरो प्रमुख डा. हरिषचन्द्र उप्रेतीले मूल्य बढाउने विषयमा कुनै निर्णय नभएको र व्युरोको नाम जोडेर केन्द्रका पदाधिकारीहरुले बदमासी गरेको बताए ।

ब्लड बैंकले गत १५ कात्तिकमा जारी गरेको सूचनामा रक्तसंकलनमा रिफ्रेसमेन्ट र अन्य खर्च व्यवस्थापन गर्न प्रति युनिट १०० रुपैयाँ थप लिने निर्णय भएको उल्लेख छ । सो सूचनामा व्लड बैंकको नियामक निकाय व्युरोको निर्णय अनुसार भनिएको छ । रिफ्रेसमेन्ट भनेको रक्तदान गरेपछि दातालाई दिइने फ्रुटी तथा फलफुल खर्च हो ।

मूल्य बृद्धिपछि दानबाट संकलित रगतका लागि विरामीका आफन्तले प्रति युनिट सरकारी अस्पतालका लागि भए ६२५ रुपैयाँ र निजी अस्पतालका लागि भए ७७५ रुपैयाँ तिर्नुपर्छ ।

यसअघि व्लड बैंकले विभिन्न शीर्षकमा गरी प्रति युनिट सरकारी अस्पतालका बिरामीलाई ५२५ रुपैयाँ र निजी अस्पतालका बिरामीलाई ६७५ रुपैयाँ लिने गर्दथ्यो ।

यस सम्वन्धमा प्रतिक्रिया लिन व्लड बैंकका पदाधिकारीसंग गरेको प्रयास सफल हुन् सकेन । व्लड बैंकका निर्देशक डा मनिता राजकर्णिकार सम्पर्कका आउन चाहिनन् ।

निशुल्क गर्नुपर्ने रगतमा मूल्य बढाउनु रेडक्रसको निर्लज्जता : प्रेमसागर कर्माचार्य  – अध्यक्ष, नेपाल स्वयंसेवी रक्तदाता समाज
रक्तदातासंग निशुल्क रुपमा उठाएको रगतको यो वा त्यो बहानामा शुल्क लिने र अझ त्यसमा पनि रिफ्रेसमेन्ट खर्च भन्दै बढाउने कार्य रेडक्रस जस्तो संस्थाका लागि लज्जाको विषय हुनुपर्ने हो ।

तर पदाधिकारीहरुले लाजै नमानी रिफ्रेसमेन्ट र अन्य व्यवस्थापनका लागि भन्दै एकै पटक एक सय रुपैयाँ बढाएका छन् । हामीले धेरै पहिले देखि नै व्लड बैंकको व्यवस्थापन हामीलाई दिइयोस निशुल्क गरिदिन्छौँ भन्दै आएका छौँ । र फेरी पनि भन्छौँ । पदाधिकारीको चरबदमासी, अक्षम व्यवस्थापनको नमूना हो दान गरेको रगतमा मूल्यबृद्धि गर्ने ।

किनभने कुनै पनि रक्तदाताले दान गरेवापत पैसा लिदैन खान खोज्दैन् । रेडक्रसले आफ्नो बदमासी ढाक छोप गर्न यस्तो निर्णय गरेको हुनसक्छ । यसले केन्द्रीय रक्तसञ्चार व्युरोले हस्तक्षेप गरी तत्कालै रोक्नुपर्छ ।

रेडक्रसले कुनै हालतमा मूल्य बढाउन पाउँदैन : विष्णुराज श्रेष्ठ सचिव व्लड डोनर्स एसोसिएसन नेपाल
हामी पनि सरोकारवाला निकाय हौँ । किन मूल्य बढाउनु परयो ? के समस्या परयो ? हामीसंग कुनै छलफल र सल्लाह छैन । हामी दान गरेको रगत निशुल्क हुनुपर्छ भन्ने पक्षमा भएका व्यक्ति हौँ ।

अहिले एक्कासी १०० रुपैयाँ बढाएको कुरा सुनेका छौँ । यसलाई तत्काल नसच्याए हामी कडा विरोधमा उत्रिन्छौँ । रेडक्रस तथा व्लड बैंकका पदाधिकारीहरुले बेलैमा सोचुन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “दान गरेको रगतमा समेत मूल्यबृद्धि, प्रति युनिट बढ्यो एक सय रुपैयाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *