२० लाख बढीको आँखा जाँच, दुई लाख बढीको शल्यक्रिया

नेपालगञ्ज, ११ कात्तिक । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ।

अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ। यसका अलावा अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच र ३८४ जनाको शल्यक्रिया गरेको जनाइएको छ।

सो आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी आठ आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ। “यी आँखा उपचार केन्द्रमा अत्याधुनिक उपचार पद्धतिको विस्तारको तयारी हामीले थालेका छौँ”, सङ्घका बाँके जिल्ला अध्यक्ष रतन टण्डनले बताए।

अस्पतालले पूर्णकालीन ओपीडी, पेइङ क्लिनिक, फास्टट्र्याक शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ।

सङ्घको शनिबार यहाँ आयोजित २५औँ जिल्लासभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव शान्ति श्रेष्ठले भारतीय राजदूतावासको रु पाँच करोड र जिल्ला समन्वय समितिको परिपूरक सहयोग रु एक करोड ४५ गरी रु ६ करोड ४५ लाखको लागतमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, बिरामीका लागि निजी कक्ष, चिकित्सक आवासलगायतका संरचना निर्माण भइरहेको जानकारी गराए।

त्यस अवसरमा वरिष्ठ समाजसेवी स्वर्गीय मोहनलाल वैश्य (मरणोपरान्त), नर्वदा शर्मा, प्रवेजअलि सिद्धिकी, पत्रकार हेमन्त कर्माचार्य र झलक गैरेलाई सङ्घका तर्फबाट सम्मान गरिएको थियो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *