बार्षिक ५ हजार बढी नेपालीको मृत्यु आत्महत्याबाट

काठमाडौँ, २३ असोज । बार्षिक ५ हजार बढी नेपालीको मृत्यु आत्महत्याबाट हुने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।  त्यसमध्ये ९० प्रतिशत मृत्यु आत्महत्याका कारण र आत्महत्या गर्नेमध्ये ८० प्रतिशतको मृत्यु उदासिनताका कारण हुने गरेको बताइएको छ ।

विश्व मानसिक स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालद्धारा संयुक्त रुपमा आयोजित कार्यक्रममा डा बासुदेव कार्कीले पछिल्लो तथ्यांक प्रस्तुत गर्दै हरेक बर्ष ५ हजार बढीको मृत्यु आत्महत्याबाट हुने गरेको बताए । उनले मानसिक स्वास्थ्य समस्या दिनानुदिन बढदै गएको भन्दै साना व्यक्तिमा हरेक ५ मा एक र ठुलो व्यक्ति हरेक ४ मा एक जना सो समस्याबाट गुज्रिरहेको बताए ।

कार्यक्रममा बोल्दै बाल मानसिक रोग विशेषज्ञ डा अरुणराज कुँवरले मानसिक स्वास्थ्यका लागि राज्यको तर्फबाट हुनुपर्ने सहयोग नभएको बताए । उनले मानसिक स्वास्थ्यमा राज्यले मुस्किलले एक प्रतिशत बजेट छुट्याउने गरेको तर बालबालिकाको मानसिक रोग नियन्त्रणका लागि बजेटको व्यवस्था नगरेको बताए ।

मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियानका संयोजक गोपाल ढकालले मानसिक स्वास्थ्यमा समस्या बढ्दै गएको भन्दै न्युनिकरणका लागि सरकारले ध्यान बढाउन पर्ने बताए ।

पच्चिस शैय्याका अस्पतालमा मानसिक रोग विशेषज्ञ राख्ने योजना 

स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले सरकारले २५ सैय्यासम्मका अस्पतालमा मानसिक रोग विशेषज्ञ पठाउने तयारी गरेको बताए । उनले अहिलेपनि सहि निदान र उपचारको अभावमा जटिल मानसिक अवस्था बढ्दोक्रममा रहेको भन्दै त्यसको न्युनिकरणका लागि २५ शैय्यासम्मका अस्पतालमा मानसिक रोग विशेषज्ञ पठाउने तयारी भएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले मानसिक स्वास्थ्यको समस्या क्रस कटिङ इस्यू रहेको भन्दै यसमा सामाजिक, आर्थिक, बाताबरणीय आदि पक्षको समेत असर पर्ने बताए ।

कार्यक्रममा बोल्दै उपप्रधान एवं स्वास्थ्य मन्त्रीका सल्लाहकार डा केके राईले मानसिक स्वास्थ्य समस्या न्युनिकरणका लागि अव हरेक प्रदेशमा मानसिक अस्पताल खोल्नुपर्ने बताए । उनले अहिलेसम्म केन्द्रमा एउटा ५० बेडको केन्द्रीय मानसिक अस्पताल रहेको भन्दै त्यसलाई तत्काल अपग्रेड गर्नुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *