यसरी सफल भयो गुल्मी जिल्ला अस्पतालमा ८२ बर्षीय बृद्धको हर्नियाको शल्यक्रिया

- नेपाली हेल्थ
  • डा. उत्तम पच्या

रेसुङ्गा नगरपालिका – १४ गुल्मीका  ८२ बर्षे बृद्ध रुद्रप्रसाद पोखरेलले आखिर आफ्नो हर्नियाको शल्यक्रिया गरि छाडे गुल्मी जिल्ला अस्पतालमा ।

शल्यक्रिया टोली प्रमुख डा. उत्तम पच्या

बर्षौ अघि देखि हर्नियाबाट पिडीत पोखरेलसंग शल्यक्रिया गर्नु अघि जोखिमका बारेमा छलफल भए तर उनी हाम्रो टीमसंग ढुक्क देखिन्थे ।

छलफलका क्रममा उनले भनेका थिए, ‘मर्ने भए जहाँ गए नि मर्छु, बचाउन त तपाईँहरुको कोशिश रहन्छ नि ? तपाँईहरुले कोशिश गर्दागर्दै पनि म मरे भने मेरो भाग्यमा रहेनछ भन्ला मेरो आत्माले । तर मलाई विश्वास छ यो अप्रेशनमा म मर्दिन् , यति धेरै विरामीलाई बचाउँनु भएको छ म पनि तपाईँहरको उपचारबाट बाँच्छु नै ।’

ती बृद्ध बुबाको हामी प्रतिको बिश्वास देख्दा मन नै हर्षित भएर आयो । अनि जोस र जाँगर पनि संगै उर्लेर आयो ।

केन्द्रीय र शहर केन्द्रीत अस्पतालमा हर्नियाको शल्यक्रिया ठूलो केश होइन । र यो समाचारको विषय पनि होइन । तर जिल्ला अस्पताल, त्यो पनि साधन स्रोतले पूर्ण रुपमा सम्पन्न भइनसकेको अवस्थामा यस्ता केशहरु गर्न सक्नु ठूलो कुरा हो ।

त्यसो त यो आर्थिक बर्ष ३ वटा हर्नियाको शल्यक्रिया भैसके गुल्मी जिल्ला अस्पतालमा । पोखरेल बुबाको केश उमेर र उच्च रक्तचापका कारण अघिल्ला दुईवटा केश भन्दा निकै जोखिमपूर्ण थियो ।

तर उहाँले गुल्मी जिल्ला अस्पतालको टीमलाई यति विश्वास गर्नु भयो कि हामी नतमस्तक भयौँ र जसरीपनि उहाँलाई निको बनाएर छाड्ने प्रण गरयौँ र शल्यक्रियाका लागि अघि बढ्यौँ ।

८२ बर्षीय बुवा रुद्रप्रसाद पोखरेल

उच्च रक्तचापलई नियन्त्रण गरी शल्यक्रिया शुरु गरयौँ । साच्चै उहाँले सोँचे जस्तै भइदियो । शल्यक्रिया सहज रुपमा सफल भयो । शल्यक्रियामा सम्लग्न सबै साथीहरु खुशी भयौँ । उहाँ पनि शल्यक्रिया पछि निकै खुशी देखिनु भयो । सातौँ दिनमा उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभयो ।

घर जाने क्रममा उहाँको अनुहारमा छाएको खुशी सायदै बिर्सिन्छु होला । उहाँको खुशी देख्दा प्रतित हुन्थ्यो यस्तै सेवा गर्दै जाउ तिमीहरु, धर्म गर्न मन्दिर जानु पर्दैन, अस्पतालमा सेवा गर, त्यही सेवा नै धर्म हो ।

अस्पतालमा धेरै यस्ता विरामीको उपचार सेवा गरिन्छ । कुनै बिरामीको सेवा गर्दा र तिनमा आएको सन्तुष्टीले खास आनन्द दिलाउँछ । ती खास आनन्द दिलाउने सेवा मध्ये रुद्र बुबाको केश पनि एक हो ।

रुद्र बुबा यस्तो व्यक्ति हो कि आफ्नो यो समस्याको उपचारका लागि जिल्ला छाडेर कतै जानै चाहेनन् । पाल्पा बुटवलमा तुलनात्मक रुपमा ठूला अस्पताल थिए, दुरीको हिसावले पनि खासै टाढा होइन । काठमाडौँ पनि जाँउ नभनेका होइन तर मलाई जानै मन लागेन । रुद्र बुवाले शल्यक्रिया गर्नु अघि हामीसंग भन्नु भएको थियो । उहाँको चाहना जिल्लामै भए उपचार गर्ने भन्ने रहेछ ।

यसो भन्दैमा विरामीको चाहना अनुसार शल्यक्रिया गरेको भन्ने चाही होइन । विरामीले चाह्यो भन्दैमा शल्यक्रिया गरि हाल्ने होइन र गर्नु पनि हुँदैन । यो अस्पतालमा पछिल्लो समय हर्नियाको सफलतापूर्वक शल्यक्रिया भईसकेकोले हामीले आट गरेका हौँ । हामीले शल्यक्रिया गर्नु अघि सकेसम्म ठूलो अस्पतालमा जानुस नभनेको पनि होइन तर उहाँले आफ्नो विश्वास हामीमै रहेको बताउँनु भयो ।

शल्यक्रिया गर्ने नै भनेपछि हामीले उहाँको शरीर फिट छ कि छैन भनेर सबै शारीरिक अवस्था देखि फोक्सो, मुटु तथा मिर्गौलाको जाँच गरेका थियौँ ।

८२ बर्षे बृद्ध त्यसमा पनि उच्चा रक्तचापको समस्या भएको व्यक्तिलाई कसले आँट गर्न सक्छ र त्यसमा पनि फ्याट्ट केही भै हाल्यो भने भीड त लागि हाल्छ त्यसमा पनि मुलुकी ऐन अपराध संहिताले पनि सेवा प्रदायकलाई हात बाँधेको देखिन्छ । यो अवस्थामा धेरै बृद्धहरुले मात्र नभई युवा बिरामीले पनि सास्ती भोग्नु पर्ने हुन्छ । यसको दोषलाई कसलाई ?

यी बयोबृद्ध आफ्नै गाउँमा आफै कुटो कोदालो गरी खेती गर्ने किसान हुन् । आफ्नै माटोमा रमाउने व्यक्ति हुन् तर तिनै व्यक्ति रोग व्याधीको उपचार गर्न आफ्नै माटोमा उपचार हुने रोग पनि बिदेशी माटोमा जानु परे तिनको मन कति रुन्छ होला ? यसरी पनि बुझ्नु पर्छ होला कानून बनाउने निकायले ?

स्वस्थ्यका निदान तथा उपचार विधि धेरै बिरामीमा हेरेर बल्ल निष्कर्षमा पुगिन्छ अनि समय सापेक्ष अनुसार परिवर्तित भै रहन्छन् । कानून पनि धेरै घटनालाई संगालेर बन्नु पर्छ होला र समय सापेक्ष परिबर्तन हुनु पर्छ नत्र यी बयोवृद्ध जस्ता कयौं ज्येस्ठ नागरिकले दुख पाउने छन् ।

देशमा यस्तो कानून बनोस जुन सेवाग्राहीको मात्र नभई सेवा प्रदायकलाई पनि सहज होस् । आखिर त्यो कानून पनि जनताले सुख पाउन भनेर नै बनाउने हो तर सेवा प्रदायकको हात बाँधेर जनताले सुख पाउदैनन् ।

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *