कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुलाई तीन दिन भित्र हाजिर हुन कर्मचारीको ‘अल्टिमेटम’

काठमाडौँ, १२ असोज ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीहरुले प्रतिष्ठानका उपकुलपति रेक्टर रजिष्ट्रार अस्पतालका निर्देशक लगायतका पदाधिकारीहरुलाई तीन दिन भित्र जुम्लामा आएर हाजिर हुन अल्टिमेटम दिएका छन् । कर्मचारीहरुले समय सिमा भित्र सबै पदाधिकारीहरु जुम्लामा हाजिर नभए उनीहरु विरुद्ध कडा संघर्षका कार्यक्रम अघि सार्ने चेतावनी दिएका छन् ।

प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको संस्था कर्मचारी कल्याणकारी समाजले आज जारी गरेको विज्ञप्तीमा पिछडिएको क्षेत्रका जिल्लामा आम नागरिकको स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा पदाधिकारीहरु यो वा त्यो वहाना गरी केन्द्रीय कार्यालय जुम्लामा नबसी काठमाडौँ केन्द्रित हुने गरेको आरोप लगाएको छ ।

समाजका अध्यक्ष रामकान्त उपाध्यायले पदाधिकारीहरुले ललितपुरस्थित सम्पर्क कार्यालयलाई अबैध रुपमा कर्मचारी भर्ति गर्ने थलोको रुपमा विकास गरेको दावी गरे ।

उपाध्याय भन्छन्, ‘प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्ले जुम्ला नभएको करीव २ -साढे २ महिना भयो, रजिष्टार बनेका इन्जिनियर विश्वराज काफ्ले एक महिना जति भयो, अस्पतालका निर्देशक धर्मराज गोसाई जुम्लामा नभएको १५ दिन जति भयो, शिक्षाध्यक्ष धर्मराज श्रेष्ठ भने हिजो अस्ती देखि आउन थाल्नु भएको छ ।’

उनले अति दुर्गम जुम्लाको नामबाट तलव सुविधा लिने तर काठमाडौँ काज मिलाएर बस्ने परिपाटी उपल्लो तहका पदाधिकारीबाट हुँदा प्रतिष्ठानको बृत्तिविकासमा आँच पुगेको दावी गरे । उनले भने,  ‘प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला हो । सबैकाम यहिबाट गर्नुपर्छ । बाहना बाजी गरेर जुम्लामा नबस्ने परिपाटीको अन्त्य हुनुपर्छ ।’

यता उपकुलपति प्राडा वाग्लेले भने आफू नियोजित रुपमा नभई काम विषेशले नै काठमाडौँ बस्नु परेको दावी गरे । उनले भने,’शिक्षा मन्त्रालयको, स्वास्थ्य मन्त्रालयको मिटिङ छलफल कति हो कति , म अझै केही दिन बस्नुपर्ने छ । तर रजिष्टारलाई भने भोलि नै पठाउँदै छु ।’

उनले आफूले राम्रो काम गर्न खोज्दा अघि बढ्न बाधा सिर्जना गरेको समेत आरोप लगाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *