बर्षे अधिवेशन आजै सकिने, चिकित्सा शिक्षा विधेयक भने पास हुन सकेन

काठमाडौँ, ११ असोज । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को यसै अधिवेशनबाट पास हुने अपेक्षा गरिएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अर्को अधिवेशनसम्मका लागि रोकिएको छ । संसदको शिक्षा र स्वास्थ्य समितिमा रहेको यो विधेयक सरकार र डा. गोविन्द केसीसंगको सम्झौँतासंग समेत जोडिएको थियो ।

डा. केसीले यसै अधिवेशनमा विधेयक पास नगरे १६ औँ अनसन बस्ने चेतावनी दिएका थिए । तर आज संसदको बर्षे अधिवेशनको अन्तिम दिन आइपुग्दा सम्म विधेयक पास हुन सकेन । बर्षे अधिवेशन आज राती १२ बजेबाट सकिदैछ ।

संसदको शिक्षा र स्वास्थ्य समितिमा छलफलकै क्रममा रहेको यो विधेयकलाई आजै पास गराउन नेकपाका सांसद खगराज अधिकारी, कांग्रेस सांसद गगन थापा सहितका सदस्यहरु कस्सिएका थिए । तर बैठकले त्यसको निर्णय गर्न सकेन ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री समेत सहभागी भई विधेयकलाई ढुंगोमा पुरयाउने विषयमा छलफल गरेका थिए ।
‘खासमा आजै टुंग्याउने भन्ने विषयमै सबैजना लाग्नु भएको थियो । तर केही विषयहरु अझै थप छलफल गर्नुपर्ने देखियो । त्यसैले यसपटकको अधिवेशनमा पास हुन सकेन,’  शिक्षामन्त्रीका प्रेस सहयोगी सुनिल खड्काले भने ।

उनका अनुसार आउदो अधिवेशनमा यसलाई प्राथमिकताका साथ अघि बढाउने तयारी सरकारको छ । अधिवेशन नै नभएपनि यो विधेयकको बारेमा छलफल गरी अधिवेशन सुरु नहुँदै सबै विषय तयारी अवस्थामा राख्ने योजना छ ।

गत वैशाख २३ बाट शुरु भएको वर्षे अधिवेशनमा प्रतिनिधिसभाको बैठक आजसहित ७९ औंपटक र राष्ट्रियसभाको ६१ औंपटक बसेर अन्त्य हुन लागेको संसद् सचिवालयले जनाएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *