नेपाल जनस्वास्थ्य संघको आगामी चुनाव : सहि नेतृत्व छान्ने ऐतिहासिक अवसर

- नेपाली हेल्थ
  • नविन लामिछाने
– नविन लामिछाने

नेपाल जनस्वास्थ्य संघको नयाँ नेतृत्व छान्न आगामी १३ असोज अर्थात पर्सी चुनाव हुँदैछ । उक्त दिन देशभरका ८ वटा मतदान केन्द्रबाट १५९० जना (नेपाल जनस्वास्थ्य संघको वेबसाईटका अनुसार) जनास्वास्थ्यकर्मी मतदाताहरुले आफ्ना प्रतिनिधि चुन्न गईरहेका छन् ।

मतदान गर्ने दिन नजिक हुँदै जाँदा उम्मेद्धारहरुले आफ्नो पक्षमा भोट माग्ने क्रमलाई समेत तिब्रता दिएका छन् । तर यतिवेला जनस्वास्थ्यकर्मीहरुले सतही रुपमा उम्मेद्धार छान्नु भन्दा देश, जनता र जनस्वास्थ्यकर्मीहरुको पक्षमा बृहत्तर योजना कसले बोकेको छ त्यस तर्फ अध्ययन गर्नु जरुरी छ ।

नेतृत्व चयनको यो घडीमा सबै जिम्मेवार जनस्वास्थ्यकर्मीहरुले गहन रुपमा आवश्यक छ । किनभने सहि नेतृत्व चुन्न नसके देशको समग्र संचरनामा परिवर्तन भइ रहेको यो अवस्थामा जनस्वास्थ्य क्षेत्रले आफ्ना महत्वपूर्ण अवसर गुमाउँन सक्छ ।

प्रगतिशील र पेशागत भनेर दुईवटा प्यानल र केहि स्वतन्त्र उम्मेदवारहरु रहेको रहेको यसपालीको चुनावमा कतिपयले राजनीतिक रङ गन्ध आएको भनेर टिप्पणी गरेतापनि प्रजातान्त्रिक प्रणालीअनुसार हुने निर्वाचिनमा स्पष्ट एजेण्डा र कार्ययोजनालाई अनुमोदन गर्नु नै समयको माग हो ।

को हुन् जनस्वास्थ्यकर्मी ?
सर्वसाधरणले समेत बुझ्ने भाषामा भन्नुपर्दा नेपाल तथा विदेशका विभिन्न विश्वविद्यालयहरुबाट ‘मास्टर इन पब्लिक हेल्थ ‘वा ब्याचलर इन पब्लिक हेल्थ उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भएका जनशक्तिहरु नै जनस्वास्थ्य कर्मीहरु हुन् । जसमध्ये उक्त परिषद्ले मास्टर इन पब्लिक हेल्थ उत्तीर्ण भई दर्ता भएका जनशक्तिहरुलाई जनस्वास्थ्य विशेषज्ञ भन्ने नाम दिईएको छ ।

नेपालमा जनस्वास्थ्य बिषयमा स्नातक, स्नातकोत्तर, एम.फिल, पीएचडी सम्मको पढाई हुने गर्दछ । नेपालमा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र संकायबाट सन् १९८६ स्नातक तहको जनस्वास्थ्य विषयको अध्यापन सुरु भएको हो । संम्भवत सार्क क्षेत्रमै जनस्वास्थ्य बिषयमा स्नातक तहको पढाई सुरु गर्ने नेपाल पहिलो देश हो ।

जनस्वास्थ्य शिक्षा अध्ययन सुरु भएको लगभग तीन दसकमै संख्यात्मक रुपमा भएको यो विकासलाई उल्लेख्य नै मान्नु पर्ने हुन्छ ।

हाल त्रि. वि.का अलावा पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थान, पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा समेत जनस्वास्थ्य बिषयको अध्ययन अध्यापन हुने गर्दछ । निकट भविष्यमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठनले समेत जनस्वास्थ्य कार्यक्रम संचालन गर्ने कुरा जानकारीमा आएको छ ।

रमेश भट्टले सन् २०१५ मा गरेको एक अध्ययन अनुसार सालाखाला बार्षिक रुपमा १ हजार विभिन्न तहका जनस्वास्थ्यका जनशक्तिहरु नेपालमा उत्पादन हुने गर्दछन ।

नेपालमा जनस्वास्थ्य कर्मीहरुलाई संगठित गर्न, पेशागत दक्षताको बिस्तार गर्न, जनस्वास्थ्यकर्मीहरुको हक हितलाई सम्बर्धन गरि देशको स्वास्थ्य क्षेत्रमा योगदान पुगोस भन्ने हेतुले नेपाल जनस्वास्थ्य संघ भनेर १९९० मा स्थापना भएको हो ।

जनस्वास्थ्यका अवस्थाहरु ?
नेपालको जनस्वास्थ्य क्षेत्रमा कार्य गर्ने जनशक्तिहरु एकातर्फ संख्यातमक रुपमा बढ्दो छ भने अर्का तर्फ यी जनशक्तिहरु को क्षमता र गुणस्तर कस्तो छ भन्ने प्रश्न महत्वपुर्ण भएको छ ।

जनस्वास्थ्य कर्मीहरु उत्पादन गर्ने शैक्षिक संस्थाहरुको शिक्षकहरुको दक्षता, गुणस्तर, पुर्वाधार क्षमताले निश्चित रुपमा उत्पादित जनशक्ति हरुको गुणस्तरमा असर गर्दछ । अहिले देश र विदेशबाट उत्पादन भएका जनस्वास्थ्यकर्मी हरुको क्षमता दक्षता र गुणस्तर एकैनासको छैन। त्यसैले जनस्वास्थ्यकर्मी हरुको लागि तालिम, अनुसन्धान, सभा सम्मेलन, सूचना अपडेट, छोटो अवधिका तालिम लगायतका गतितिबिधि हरुलाई निरन्तर र दिगो रुपमा संचालन गर्नुपर्दछ , र जनस्वास्थ्य शिक्षालाई नसिगं र मेडिसनकै तहमा पहिचान दिलाउनु पर्दछ ।

जनस्वास्थ्यकर्मी हरुको काम गर्ने अवसर र स्थानहरु क्रमश बन्द हुदै गएका छन् । उदाहरणको लागि २०१४ मा बनेको राष्ट्रिय स्वास्थ्य नीतिले व्यबस्था गरे अनुसार हरेक निर्वाचन क्षेत्रमा १-१ जना जनस्वास्थ्य निरीक्षक खटाउने नीति अनुरुप उक्त जनशक्तिहरु खटाईयो । तर बजेटको अभाव देखाउदै सुरु भएको २ महिनामै उक्त कार्यक्रम बन्द भयो ।

सरकारी स्तरमा स्वास्थकर्मीहरुको तहगत मिलान र बढुवा गर्दा लोक सेवा आयोगबाट जनस्वास्थ्य अधिकृतहरुको न्युन संख्यामा मात्र आवेदन माग भएका छन् ।

भर्खरै प्रकाशित स्वास्थ्य मन्त्रलायको संरचनामा फार्मेसी बिभाग, आयुर्वेद बिभाग, स्वास्थ्य सेवा बिभाग अन्तर्गत चिकित्सा महाशाखा र नर्सिङ महाशाखाहरु खडा भएका छन्, भने अर्का तर्फ भएका जिल्ला जनस्वास्थ्य कार्यालयहरु खारेजीमा पर्ने अबस्थामा छन । यस्तो परिस्थिति जनस्वास्थ्यकर्मीहरुको भविष्य के हुने हो ? यी जनशक्तिहरुको खपत कहां हुने हो? यत्रो संख्यामा उत्पादन हुदै गरेका जनस्वास्थ्य जनशक्तिहरुको व्यबस्थापन चुनौतिपूर्ण बन्न सक्छ ।

अहिलेसम्म देशका सबै जनस्वास्थ्यकर्मीहरुलाई नेपाल जनस्वास्थ्य संघमा आबद्ध गर्न सकिएको छैन् । त्यसकारण सम्पूर्ण जनस्वास्थ्यकर्मी हरुलाई नेपाल जनस्वास्थ्य संघको सदस्यता वितरण गरि राष्ट्र, प्रदेश, जिल्ला, गाँउ तहसम्म बिस्तार गर्ने, संगठित गर्ने अभियान नै चलाउनु पर्ने देखिछ ।

विश्व स्वास्थ्य संगठनले हालसालै प्रकाशित गरेको एक अध्ययन अनुसार नेपालको स्वास्थ्य ब्यबस्थापन प्रणाली १५० औ नम्बर परेको छ । हाम्रो देशमा उपाचारात्मक सेवालाई मुख्य रुपमा बढी प्राथमिकता दिने गरिन्छ । रोकथाम, प्रबर्धन, स्वास्थ्य उपचार, अनुसन्धान र स्वास्थ्य शिक्षालाई नीतिगत र आर्थिक रुपले प्राथमिकता दिन सकिएन भने यसले समग्र देशको स्वास्थ्य प्राणाली लाई नै प्रभावित गर्दछ ।

सबैले यसको कारण पहिल्याउनु जरुरी छ । राज्यले स्वास्थ्यका नीती बनाउदा अनुसन्धानमा आधारित, समुदायको आबश्यकता अनुसार बनाउन सकिएन भने देशका स्वास्थ्य समस्याहरुको योजना, कार्यन्वयन राम्रो हुन सक्दैन र समग्र स्वास्थ्य क्षेत्र नै धरापमा पर्दछ, जुन काम जनस्वास्थ्यकर्मीहरुको नै हो ।

अबको बाटो
जनस्वास्थ्य संघको आगामी नेतृत्वका लागि थुप्रै चुनौती र समस्याहरु छन् र देश, जनता र उच्चा नेतृत्व सम्म जनस्वास्थ्यको महत्व वकालत गर्नु, जनस्वास्थ्य जनशक्ति हरुको व्यबस्थापन गर्नु , जनस्वास्थ्यशिक्षालाई अझ गुणस्तरीय र व्यबसायी बनाउन एउटा छुट्टै सरकारी परिषदको निर्माण गर्नु , देशको स्वास्थ्य नीतिको निर्माण र सरकारसंग मिलेर जनस्वास्थ्यको कार्यमा मध्यस्थता गर्नु, पेशागत मर्यादा र हकहितमा बढोत्तरी गर्नु आदि ।

यी चुनौतीहरुकोे सामना र समाधान गर्न सक्ने नेतृत्व चुन्नु हामी सबै जनस्वास्थ्य कर्मिहरुको दयित्व हो ।

# लामिछाने पूर्वाञ्चल विश्वविद्यालयको जनस्वास्थ्य विभागमा उपप्राध्यापकको रुपमा कार्यरत छन् । 

थप समाचार

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *