उपकुलपतिमा डीएन साहको सम्भावना बढी, गोदानद्धारा आन्दोलन चर्काउने तयारी

काठमाडौँ, ५ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा कार्यरत सरकारी चिकित्सकहरुले आफ्नो संस्था बाहिरको व्यक्तिलाई उपकुलपति नबनाउन कुलपति समेत रहेका प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले बाहिरबाट उपकुलपति ल्याइए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

न्याम्समा रिक्त रहेको उपकुलपति पदमा रिटायर्ड प्राडा डीएन साह नियुक्त हुने करीब करीब निश्चित जस्तो देखिएपछि चिकित्सकहरुले यस्तो चेतावनी दिएका हुन् । उनीहरुको माग न्याम्स अन्तर्गतका कुनै पनि संस्थामा कार्यरत बहालवाला व्यक्ति नै उपकुलपति हुनुपर्छ भन्ने छ ।

यसअघि न्याम्सका कुलपति रहेका प्रधानमन्त्रीले सहकुलपति रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको संयोजकत्वमा तीन सदस्यीय सर्च कमिटि बनाएका थिए । सो कमिटिले खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने भन्दै १५ दिनको म्याद राखी आवेदन माग गरेको थियो ।

त्यसबेला २२ जनाले आवेदन हालेका थिए । सो कमिटिले पछि २२ मध्येबाट छ जना सर्ट लिष्टमा राख्यो र त्यसलाई आफ्ना योजना र कार्यपत्र प्रस्तुत गर्न भनेको थियो । छ जनाको छनौट गर्न १० जनाको विज्ञ समूह तयार गरिएको थियो । सो समूहले दिएको नम्बरको आधारमा पहिलो दोस्रो र तेस्रो गरी तीन जनाको नाम छनौट गरिएको छ । पहिलोमा प्राडा साह, दोस्रो नम्बरमा प्राडा ढुण्डी पौडेल र तेस्रो नम्बरमा प्राडा अजित रायमाझी रहेका छन् ।

बीरका चिकित्सकहरुले उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले प्राडा साहलाई नै उपकुलपति बनाउन लागेको भन्दै आपत्ति जनाएका हुन् ।

‘मन्त्रीले साहलाई बनाउनकै लागि साहकै अनुकुल हुने गरी छनौटको मापदण्ड नै बीचमा आएर सच्याइयो, सर्ट लिष्टमा छ जनाको नाम प्रकाशित गरियो त के आधार भन्ने खुलाईएन । त्यसपछि तीन जना छनौट गरियो, त्यसको मापदण्ड के के भन्ने पनि स्पष्ट छैन । प्राविधिक समितिलाई साहकै अनुकुल हुने गरी नम्बर दिने व्यवस्था गर्न भनिएको भन्ने सुनेका छौँ,’ बीरका एक बरिष्ठ चिकित्सकले भने ।

उनले एमडीपछि फेलोसिप, राष्ट्रिय अन्तराष्ट्रिय तक्मा पाएको कुरा पनि मापदण्ड बनाइएको र त्यो पनि साहकै अनुकुल हुने गरी बनाइएको बताए ।

यता सरकारी चिकित्सक संघ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान इकाई बीर अस्पतालका संयोजक प्राडा श्रीकृष्ण गिरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको निर्देशन विपरित हुने गरी आवेदन माग गरिएको र त्यसमा आवेदन हालेका २२ मध्ये छ जनाको नाम छनौट गरिएको पनि अपारदर्शी तरिकाले गरिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनको पत्रमा संवैधानिक निकायहरुमा नियुक्तिका लागि तोकिएको उमेरको हद ६५ बर्षको प्रतिकुल हुने गरी नाम सिफारिस गरिएको उल्लेख छ । पत्रमा अहिलेको नियुक्ति प्रक्रिया रद्ध गरी नयाँ पुन नयाँ प्रक्रियाबाट नियुक्ति प्रक्रिया गर्न माग गरिएको छ ।

यता सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र पाण्डेले न्याम्स बाहिरबाट उपकुलपति ल्याइए आफूहरु आन्दोलनमा जानुको विकल्प नभएको बताए ।

अहिले सिफारिसमा परेका साह चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)बाट रिटायर्ड प्राध्यापक हुन् । उनी अहिले ग्राण्डी अस्पतालमा कार्यरत छन् । पौडेल बीर अस्पतालमा कार्यरत छन् भने रायमाझी कान्ति अस्पतालका डाक्टर हुन् ।

स्रोतका अनुसार उपप्रधानमन्त्री यादवले उपकुलपति नियुक्तिका लागि तीन जनाको लिष्ट कुलपति समक्ष बुझाई सकेका छन् । प्रधानमन्त्री ओली पनि शनिबार (भोलि) देखि ११ दिन लामो अमेरिका भ्रमणमा निस्कने भएकाले त्यस अघि नै उपकुलपतिको निर्णय हुनसक्ने अनुमान गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *