अब बिरामीलाई औषधि ‘प्रेस्काइब’ गर्दा ब्राण्ड नाममा गर्ने कि जेनेरिक नाममा ?

डा. उत्तम पच्या

चिकित्सकले विरामीलाई औषधि सिफारिस गर्नु पर्दा अब ब्राण्ड नाममा गर्ने कि जेनेरिक नाममा गर्ने ? चिकित्सा क्षेत्र र आम सर्वसाधारणबीच पनि यो विषयमा बहस शुरु भएको छ ।

सरकारले हालै मात्र संसदमा दर्ता गरी छलफलको क्रममा समेत पुगिसकेको जनस्वास्थ्य सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अब बिरामीलाई औषधि सिफारिस गर्दा चिसित्सकले जेनेरिक नाम प्रयोग गर्नुपर्छ । भन्ने बाक्याशं राखेपछि यो विषयले चर्चा पाएको हो ।

मिडिया तथा सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्दा ब्राण्ड र जेनेरिक दुबैपक्षले आफ्नो दलिल पेश गरिरहेका छन् ।

मैले भने कुन नामले औषधि प्रेस्काइव गर्ने भनेर सोच्नु अघि यी दुई शव्दका अर्थ के हुन् र जनतालाई बढी राहत केले दिन्छ भनेर बुझ्नुपर्छ भन्ने मान्यता राख्दछु ।

त्यसैले यहाँ मैले ब्राण्ड नाम र जेनेरिक नाम अनि जेनेरिक ड्रग भनेको के होइछ भनेर केलाउने प्रयास गरेको छु ।

ब्राण्ड नाम भनेको के हो ?

कुनै एक रिसर्च टिमले औषधी पत्ता लगाउँछ र त्यो टिमले कुनै फर्मास्युटिकल कम्पनीलाई पेटेन्ट (सर्बाधिकार) बेच्छ र सो कम्पनीले त्यो औषधीको अणुलाई आफ्नै फर्मुलेसन बनाएर सबै परीक्षणका खुड्किलाहरु पास भए पछि US FDA मा रजिस्टर गर्छ । त्यसपछि धेरै मात्रामा उत्पादन आफै गर्छ वा अरु कम्पनी लाई पनि दिन सक्छ ।

त्यति बेलै उसले सो कम्पनीको आफ्नै ब्राण्ड नाम पनि रजिस्टर गर्छ र ब्राण्ड नाममा बजारमा ल्याउँछ्र यस खालको औषधि चाहि ब्रान्डेड ड्रग हुन् । सो औषधिमा आफ्नै ब्राण्ड नाम र जेनेरिक नाम उल्लेख गरिएको हुन्छ । यी ब्राण्ड ड्रग सर्बाधिकार युक्त ब्राण्ड ड्रग हुन् । तर केही निश्चित समय पछि उसको सर्बाधिकार सकिन्छ अनि अरु कम्पनीले त्यसलाई जेनेरिक ड्रगको रुपमा उत्पादन गर्न थाल्दछन् ।

जेनेरिक नाम भनेको के हो ?

जेनेरिक नाम भनेको यो औषधिको अणुको नाम हो । जस्तै : Cefixime चै औषधिको जेनेरिक नाम हो ।

जेनेरिक ड्रग :

अर्को बुझ्नु पर्ने कुरा जेनेरिक ड्रग पनि हो । यसमा जेनेरिक नाम मात्र हुन्छ । फर्मास्युटिकल कम्पनीको नाम हुदैन । कुनै पनि औषधिमा ब्राण्ड नाम भए पनि त्यसमा त्यसको जेनेरिक नाम हुन्छ । यी जेनेरिक ड्रग जब कुनै कम्पनीको ब्राण्ड ड्रग उत्पादन गर्ने सर्बाधिकारको समय सकिन्छ त्यसपछि अरु कम्पनीले अनुमति पाउछन् । त्यो अनुमति ब्राण्ड ड्रग नभै जेनेरिक ड्रग उत्पादन गर्नका लागि हो ।

त्यसो भए नेपालमा उत्पादन हुने औषधिहरु के हुन् त ?

नेपालमा पाइने ब्राण्ड नाम भएका औषधिहरु कुनै अन्तर्राष्ट्रिय कम्पनीले ब्राण्ड नाममा औषधि उत्पादन गर्ने सर्बाधिकारको समय सकिए पछि उनीहरुले त्यसबाट अनुमुति प्राप्त गरेर उत्पादन गर्ने हुन् । उनीहरुले औषधिका अणुहरु विदेशबाट खरिद गर्नु पर्छ ।आफै उत्पादन गर्ने होइन ।

उही औषधिलाई विभिन्न फर्मास्युटिकल कम्पनीले उत्पादन गर्छन तर आफ्नो पहिचानको लागि त्यो औषधिको नाम आफ्नै कम्पनीको चिनारी दिन भिन्न नाम दिन्छन  । यी औषधीहरु जेनेरिक ड्रग भए पनि सबै कम्पनीले आ-आफ्नो पहिचानको लागि ब्राण्ड नाम दिने हुन् ।

जस्तैcefixime एउटा एन्टिबायोटिकको नाम हो तर यसलाई विभिन्न कम्पनीले आ-आफ्नो नाम दिएर बजारमा ल्याउँछ । उदाहरणको लागि देउराली जनताको Tricef एसियनको infixime| तर यी पेटेन्ट (सर्बाधिकार) युक्त ब्राण्ड ड्रग होइनन त्यसैले यी ब्रान्डेड जेनेरिक औषधि हुन् ।

अझ प्रष्ट पार्नु पर्दा चाउचाउ एउटा खाद्यान्न को नाम तर विभिन्न फ्याक्ट्रीले त्यसलाई आफ्नो ब्राण्ड नाम दिएर बजारमा लिएका हुन्छन । चाउचाउ उही खाद्यान्न हो तर रारा, वाइवाई, रुचि इत्यादी ब्राण्ड नाम हुन् ।

बजारमा अर्को कुरा बुझ्नु पर्ने चाहि  ISO-GMP certified drug   र WHO pre-qualified drug हो 

नेपालमा हरेक फर्मास्युटिकल कम्पनीले ISO-GMP certificate  लिएका हुन्छन तर Pre-qualification standard लिएको देखिदैन । नेपालका कुनै फर्मास्युटिकल कम्पनीले कुनै औषधिको Pre-qualification standar प्राप्त गरेको छ भने दावी गर्नु होला म गलत पनि हुन सक्छु ।

के हो ISO-GMP?

ISO को पुरा रुप International organizationfor standardization हो र  यो फर्मास्युटिकल कम्पनीले मात्र नभई   कुनै पनि कम्पनीले  लिने गर्छ । GMP को पुरा रुप good manufacturing practice हो । नामले नै बताउँछ औषधिको कच्चा पद्धार्थ फ्याक्ट्रीको मसिनमा छिरे पछि अन्तिम अवस्था सम्म अर्थात पुरा नआउन्जेल सम्म कति राम्ररी उत्पादन गर्न सक्छ भन्ने हो । यसले औषधि कुन  बिधिले बनेको छ भन्ने समेत जनाउँछ ।

केहो Pre-qualification ?

यसले औषधि निर्माण हुँदा  त्यो औषधिको गुणस्तर मापन गर्छ ।त्यो औषधिमा पर्याप्त मात्रामा  औषधिका अवयवहरु राखिएको छ कि छैन, त्यो औषधि बजारमा गैसके पछि बिरामीले लिंदा कति सकारात्मक असर, कति नकारात्मक असर र बिरामीको शरीरमा पुगे पछि त्यसको पर्याप्त मात्रा पुग्छ कि पुग्दैनभन्ने मापन Prequalificationले गर्छ ।

स्वास्थ्यकर्मीले अब औषधि प्रेस्काइब गर्दा ब्राण्ड नाममा गर्ने कि जेनेरिक नाममा ?

कुन कम्पनीको कुन औषधीले कतिको असरदायी छ भन्ने कुरा औषधि लेख्ने स्वास्थ्यकर्मीलाई थाहा हुन्छ तर यो सर्बोपरी मान्यता भने होइन ।सर्बोपरी मान्यता त DDA ले quality control test  गरे पछि हुने हो । जुन औपचारिक रुपमा आधिकारिक पनि हो । तर यो कति जनालाई मान्य भन्ने पनि आउन सक्छ किनकि  बिभिन्न अनौपचारिक वा औपचारिक रुपमा DDA  माथि नै प्रश्न नगरिएको पनि होइन ।

त्यसैले यो  ‘ब्लाइन्डेड’ हुनु पर्छ । ‘ब्लाइन्डेड’को मतलब  टेस्ट गर्ने निकायलाई कुन कम्पनीको औषधि  कुन नमुनामा छ भन्ने थाहा हुनु हुँदैन ।

जसरी एउटा ग्राहकलाई चाउचाउको  ब्राण्ड रोज्ने अधिकार छ त्यस्तै एउटा बिरामीलाई पनि औषधिको ब्राण्ड रोज्ने अधिकार हुनु पर्छ ।| ‘खाए खा नखाए घिच’ भन्ने प्रवृति पनि सेवा प्रदायकमा हुनु हुँदैन । यदि बिरामी ब्राण्ड ‘कन्सियस’ छैन भने सेवा प्रदायकले बिरामीको सर्बोपरी हित राखी आफुलाई विश्वास लाग्ने ब्राण्ड नामको औषधि प्रेस्क्राइब गर्न सक्छ ।

अहिलेको अवस्थामा कुनै कम्पनीका औषधि  WHO prequalification standard  मा नपर्ने हुनाले ISO-GMP लाई स्ट्यान्डर्ड मानिएको हुनु पर्छ तर यो सर्बोपरी होइन  तर WHO prequalification standard  नभएकाले यसो गर्नु सरकारको बाध्यता पनि होला -कुनै न कुनै आधार त लिनु पर्यो । अर्को सत्य कुरा पनि के हो भने औषधी गुणस्तर हुन दुवै स्ट्यान्डर्ड चाहिन्छ।

बजारको अर्को हल्ला :  डाक्टर (स्वास्थ्यकर्मी) ले जेनेरिक नाम लेखे सस्तो पर्छ 

यो कुरा नबुझी बढाई चढाई मात्र हो । यसको लागि त नेपालमा वा दक्षिण एसियामा जेनेरिक ड्रग उत्पादन हुनु पर्यो नि । अनि पो सस्तो पर्छ किन कि जेनेरिक ड्रग मा औषधीको जेनेरिक नाम मात्र हुन्छ ।

जुन जेनेरिक नाम मा मात्र आउनु पर्‍यो नकी ब्राण्ड नाम थपेर । यदि कम्पनीले जेनेरिक ड्रग उत्पादन गर्यो भने त्यो औषधीलाई प्रोमोसन खर्च, त्यसमा प्रयोग हुने लजेस्टिक तथा मानव संसाधनमामा हुने खर्च घटेर आँउछ जसले गर्दा सस्तो पर्छ तर ब्राण्ड नाम भएका औषधिलाई जेनेरिक नाम लेखेर चाहि सस्तो पनि पर्दैन र प्रेस्क्राइब गर्ने डाक्टर (स्वास्थ्यकर्मी) पनि ढुक्क हुन सक्दैन ।

निष्कर्ष :

यदि हरेक फर्मास्युटिकल कम्पनीले दुवै ISO-GMP  र Pre -qualification स्ट्यान्डर्ड प्राप्त गरेमा स्वास्थ्यकर्मीलाई जेनेरिक नाम लेख्न कुनै कठिनाइ पर्ने छैन। अझ औषधि कम्पनीहरुले नै जेनेरिक ड्रग उत्पादन गरेमा जेनेरिक नाम लेख्नु राम्रो हुन्छ र लेख्नु पनि पर्छ । तर अहिले नेपालको अवस्था त्यस्तो देखिएको छैन ।

 

#डा.  पच्या जिल्ला अस्पताल गुल्मीका मेडिकल सुपरीटेन्डेन हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *